जनैपूर्णिमाको अवसरमा लाग्ने ठूलो मेलाको पूर्वसन्ध्यामा सुरु भएको यो सेवाले यस वर्ष बडीमालिका पुग्ने हजारौँ तीर्थयात्री, पर्यटक र स्थानीयवासीलाई ठूलो राहत दिएको छ।
मन्त्रिस्तरको सक्रियता र प्रविधिको भर्चुअल उद्घाटन
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार दिउँसो १ बजे भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्नुभयो। उद्घाटनपछि मन्त्री तिमिल्सिनाले बडीमालिकाको ४,२३० मिटर उचाइमा रहेको लौरी विनायक टावर स्थलमा खटिएका प्राविधिकहरूसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद बताए।
संवादका क्रममा मन्त्री तिमिल्सिनाले भने, ‘भौगोलिक विकटताका कारण अब कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने छैन। सरकारले यस वर्षलाई दूरसञ्चार सुधार र डिजिटल रूपान्तरणको वर्षका रूपमा मनाउँदै छ।’ उनले कठिन भूगोलमा काम गर्ने टेलिकमका प्राविधिक र सामान ढुवानीमा सहयोग गर्ने नेपाली सेनालाई धन्यवाद समेत दिए।
चुनौतीपूर्ण एक महिना र हेलिकप्टरबाट उपकरण ढुवानी
बडीमालिकामा सञ्चार सेवा पुर्याउने यात्रा सहज थिएन। गत साउन ८ गते मन्त्री तिमिल्सिनाले दिएको निर्देशनपछि टेलिकमले युद्धस्तरमा काम सुरु गरेको थियो। सडक सञ्जाल नभएका कारण टावरका गह्रौँ उपकरणहरू नेपाली सेनाको हेलिकप्टरमार्फत लौरी विनायक पुर्याइएको थियो। प्रतिकूल मौसम र अक्सिजनको कमी हुने उच्च हिमाली क्षेत्रमा करिब एक महिनाको अथक प्रयासपछि प्राविधिक टोलीले टावर जडान सम्पन्न गरेको हो।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीका अनुसार कम्पनीले व्यावसायिक नाफाभन्दा पनि दुर्गमका नागरिकलाई सेवा पुर्याउने जिम्मेवारीलाई प्राथमिकता दिएको छ। उनले भने, ‘देशका विकट भूभागलाई सञ्चारको मूलप्रवाहमा ल्याउन हामी नयाँ पूर्वाधार निर्माणमा केन्द्रित छौँ।
तीर्थयात्री र पर्यटकलाई सुरक्षाको महसुस
बडीमालिका क्षेत्रमा मोबाइल र इन्टरनेट चल्न थालेपछि अब आकस्मिक उद्धार, सुरक्षा समन्वय र पर्यटकीय प्रवद्र्धनमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। यसअघि सञ्चार सम्पर्कविहीन हुँदा तीर्थयात्रीहरूले सास्ती भोग्दै आएका थिए। टेलिकमका सहायक प्राविधिक अधिकृत माधव बुढाथोकीका अनुसार बडीमालिका मन्दिर, त्रिवेणी क्षेत्र र आसपासका पदमार्गमा अब सञ्चार सम्पर्क सहज हुनेछ। टावर स्थापनामा इन्जिनियर सुदर्शन आचार्य, दीपकराज भट्ट लगायतको टोली खटिएको थियो।
हिमाली क्षेत्रमा डिजिटल क्रान्तिको लहर
बडीमालिका मात्र होइन, सरकारले पछिल्लो समय अन्य दुर्गम क्षेत्रमा पनि ४–जी सेवा तीव्र रूपमा विस्तार गरिरहेको छ। यही भदौ ५ गतेदेखि जुम्लाको ऐतिहासिक सिँजा क्षेत्रमा पनि ४–जी सेवा सुरु भएको छ। यसअघि नै डोल्पाको दुनै, त्रिपुरासुन्दरी र ताप्लेजुङको ओलाङचुङगोला जस्ता उच्च हिमाली क्षेत्रमा सेवा पुगिसकेको छ।
नेपाल टेलिकमका अनुसार देशभरका सञ्चारविहीन क्षेत्रहरू पहिचान गरी थप १,६०० वटा नयाँ टावर निर्माणको प्रक्रिया अघि बढाइएको छ। यसले नेपालको दुर्गम भूगोल र सुगम सहरबीचको ’डिजिटल खाडल’ पुर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।