टिमुरे क्षेत्रका प्रहरी युनिटमा कार्यरत १६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन

Aug 26, 2026 12:46 PM Merolagani



चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसी नदीमा मिसिँदा रसुवाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। बाढीले टिमुरे बजारका घर तथा संरचना बगाउनुका साथै नुवाकोटको त्रिशूली बजार आसपासमा समेत असर पुर्‍याएको छ।

बाढीको चपेटामा परेका रसुवागढी हुँदै टिमुरे क्षेत्रका तीनवटा प्रहरी युनिटमा कार्यरत १६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार उनीहरूसँग सञ्चार सम्पर्क हुन सकेको छैन।

रसुवागढी प्रहरी चौकीमा असईको कमान्डमा नौ जना प्रहरी कार्यरत थिए। त्यस्तै, स्याफ्रुवेशी प्रहरी चौकीमा नौ जना र इलाका प्रहरी कार्यालय टिमुरेमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली कार्यरत थियो।

सम्पर्कविहीन प्रहरी कर्मचारी सुरक्षित स्थानतर्फ गएको हुन सक्ने प्रहरीको अनुमान छ। डीआईजी रेग्मीका अनुसार बाढी आउनुअघि स्याफ्रुवेशी र टिमुरेमा रहेका प्रहरीलाई सुरक्षित स्थानमा जान केही समय मिलेको थियो। उनीहरूले मोबाइल छाडेर अन्यत्र गएको हुन सक्ने उनको भनाइ छ।

बाढीका कारण तीनवटै प्रहरी कार्यालयमा क्षति पुगेको छ। रसुवागढी प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारी भन्सार क्षेत्रको सुरक्षामा समेत खटिँदै आएका थिए।

यता, बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा फसेका नागरिकको उद्धार जारी छ। नेपाली सेनाका हेलिकप्टरमार्फत जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।