नाइमाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना तथा सरकारी र सुरक्षा निकायका संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन्। घटनाको पूर्ण विवरण आउन बाँकी रहेकाले मानवीय, भौतिक तथा आर्थिक क्षति अझै बढ्न सक्ने भन्दै नाइमाले चिन्ता व्यक्त गरेको छ।
नाइमाले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति सहानुभूति व्यक्त गर्दै खोज, उद्धार तथा राहतमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन र अन्य उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेको छ।
भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा जोखिम कायम रहन सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन नाइमाले आग्रह गरेको छ। साथै, सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना तथा निर्देशन पालना गर्न पनि अनुरोध गरेको छ।
नाइमाले प्रभावित समुदायसँग साथमा रहँदै उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासमा सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफू तयार रहेको जनाएको छ।