बाढीपहिरो प्रभावितलाई चीनको सहयोग, उद्धार विशेषज्ञसहित दुईवटा ‘वाई–२०’ विमान काठमाडौंमा

Aug 30, 2026 11:50 AM Merolagani



विनाशकारी बाढी र पहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरिरहेको नेपाललाई सहयोग गर्न चीनले आपतकालीन राहत सामग्री र विशेषज्ञ टोली पठाएको छ।

चिनियाँ वायुसेनाका दुईवटा ‘वाई–२०’ सैनिक विमान आज बिहान करिब ७ बजे काठमाडौं अवतरण गरेका छन्। ती विमानमार्फत बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यक पर्ने राहत सामग्रीसँगै उद्धारका लागि प्राविधिक टोली र उपकरण नेपाल ल्याइएको हो।

काठमाडौं विमानस्थलमा आयोजित विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेका छन्। नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र संघीय संसद सदस्य धर्म केसीले सामग्री ग्रहण गरेका थिए।

बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा ठूलो संख्यामा मानिस फसेको तथा बेपत्ता भएको विवरण सार्वजनिक भइरहेका बेला चीनले विशेष रूपमा चार जना सुरुङ उद्धार विशेषज्ञ नेपाल पठाएको छ। उनीहरूसँग सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणसमेत ल्याइएको छ।

चिनियाँ राजदूत माओमिङले विपद्को यो कठिन घडीमा चीन नेपालसँगै रहेको बताएका छन्। उनले चिनियाँ सहयोगले बाढी प्रभावितको उद्धार, राहत तथा जीवनरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

यता, मन्त्री महावीर पुनले संकटका बेला चीनले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै विशेषगरी प्राविधिक विज्ञ र अत्याधुनिक उपकरणसहितको सहयोग उद्धार अभियानका लागि महत्त्वपूर्ण हुने बताएका छन्।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।