माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा फसेकाको उद्धारका लागि सेना परिचालन, सुरुङ प्रवेशद्वार खोल्ने काम अन्तिम चरणमा

Aug 30, 2026 02:19 PM Merolagani



बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहितको टोलीले उद्धार प्रयास तीव्र पारेको छ।

उद्धारका लागि आवश्यक स्काभेटर र डोजर नेपाली सेनाले नुवाकोटको बट्टारसम्म पुर्‍याएको छ। ती उपकरणलाई खण्ड–खण्ड (डिसमेन्टल) गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाने काम भइरहेको छ।

गएराति आयोजनास्थल आसपास भीषण बाढी आए पनि उद्धार कार्य भने निरन्तर जारी रहेको नेपाली सेनाले जनाएको छ। बाढीका कारण आयोजनास्थलमा सम्पर्क तथा पहुँचमा समस्या भएपछि उद्धारका लागि स्थलमार्गसँगै हवाई माध्यमबाट पनि उपकरण तथा जनशक्ति परिचालन गरिएको हो।

नेपाली सेनाका अनुसार अहिले आयोजनाको सुरुङ प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने अर्थात् ‘ब्रेक थ्रु’ गर्ने काम भइरहेको छ। उक्त काम अबको करिब एक घण्टामा सम्पन्न हुने अपेक्षा गरिएको छ।

सुरुङ प्रवेशद्वार खुलेपछि मात्रै त्यहाँ फसेका मानिसहरूको वास्तविक अवस्था पहिचान गरी खोजी तथा उद्धार कार्य अघि बढाउन सहज हुनेछ। त्यसपछि उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी फसेका व्यक्तिहरूको खोजी गर्नेछ।

बाढी प्रभावित तथा आयोजनास्थलमा फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको छ। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच पनि उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको सेनाले जनाएको छ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।