सडक अवरुद्ध भएपछि ग्यास अभावको जोखिम: वैकल्पिक 'रिफिलिङ'का लागि व्यवसायीको माग

Aug 30, 2026 05:23 PM Merolagani



बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र पुलमा क्षति पुगेपछि काठमाडौ उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति प्रभावित हुने देखिएको छ । आपूर्ति प्रणालीलाई सहज बनाइराख्न ग्यास व्यवसायीहरूले वैकल्पिक रिफिलिङ (ग्यास भर्ने) व्यवस्थाका लागि सरकारसँग माग गरेका छन् ।

विशेषगरी रसुवा, नुवाकोट, धादिङ र चितवनका सडक खण्डमा पुगेको क्षतिका कारण ग्यास बुलेटहरू उद्योगसम्म पुग्न नसक्ने अवस्था सिर्जना भएको छ । यस्तो विषम परिस्थितिमा उपभोक्तालाई अभाव हुन नदिन साहारा ग्यास इन्डस्ट्रिज प्रालिले वैकल्पिक योजना अघि सारेको हो ।

साहारा ग्यासले एक निवेदनमार्फत आफ्ना भगिनी कम्पनीहरू एभरेस्ट ग्यास लिमिटेड (चाल्नाखेल, काठमाडौँ) र सुगम ग्यास उद्योग प्रालि (नौबिसे, धादिङ) का बुलेटहरूबाट आफ्नो उद्योगमा ग्यास रिफिलिङ गर्ने अनुमति मागेको छ । सडक अवरोधका कारण सम्बन्धित उद्योगसम्म बुलेट पुग्न नसकेपछि नजिकैको उपलब्ध ग्यास उद्योगमा रिफिलिङ गरी बजारमा पठाउने अनुमति दिन आग्रह गरिएको हो ।

पछिल्लो समय मुग्लिन–काठमाडौँ सडकखण्ड अन्तर्गत कृष्णभीर नजिक त्रिशूली नदीको कटानले सडक भासिएको छ । सडक पूर्ण रूपमा अवरुद्ध हुँदा साना तथा ठुला मालवाहक सवारी साधनहरू बीचैमा रोकिएका छन् । ग्यास बुलेटहरू गन्तव्यमा पुग्न नसक्दा काठमाडौँ र धादिङलगायतका क्षेत्रमा नियमित आपूर्ति चक्र प्रभावित हुने देखिएको छ ।

यदि सरकारले एभरेस्ट र सुगम ग्यासका बुलेटहरू साहारा ग्यासको प्लान्टमा रिफिलिङ गर्न अनुमति दिएमा मौज्दात रहेको ग्यासलाई तत्काल सिलिन्डरमा भरेर बजारमा पठाउन सकिने व्यवसायीहरूको भनाइ छ । यसबाट चाडबाडको मुखमा हुन सक्ने ग्यासको सम्भावित हाहाकारलाई टार्न मद्दत पुग्ने विश्वास गरिएको छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।