असार मसान्तसम्म १३ अर्ब १२ करोड ९४ लाख रुपैयाँमा सीमित रहेको फन्डहरूको कुल बैंक ब्यालेन्स साउन मसान्तमा बढेर १४ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ पुगेको छ। मुख्य रूपमा बजारको जोखिम टार्न, असुरक्षित लगानी कटौती गरेर नगद सञ्चिति बलियो बनाउन र आगामी दिनमा सेयर खरिद गर्नका लागि सुवर्ण अवसरको दाउ हेर्ने रणनीतिका कारण फन्डहरूको बैंक मौज्दात यति धेरै बढेको हो। बजारमा सेयर मूल्यको ठेगान नभएको बेला फन्ड म्यानेजरहरूले अन्धाधुन्ध लगानी गर्नुको सट्टा पुँजीलाई सुरक्षित र नगदै रूपमा राख्न रुचाएको यो तथ्याङ्कले प्रष्ट्याउँछ।
यसरी म्युचुअल फन्डहरूको बैंक ब्यालेन्स एकैपटक १ अर्ब भन्दा बढीले बढ्नुको पछाडि खासगरी चारवटा मुख्य कारण जोडिएका छन्। पहिलो कुरा, अहिले बजारमा 'पर्ख र हेर' को अवस्था छ। बजार परिसूचक र सेयरको मूल्य तलमाथि भइरहने हुनाले हतारमा जोखिम मोल्नुभन्दा अधिकांश पैसा बैंकमै सुरक्षित राख्नु बुद्धिमानी ठानिएको छ। भोलिका दिनमा बजार घटेर सेयर सस्तो भाउमा पाइयो भने तुरुन्तै बजारमा पैसा हाल्नका लागि पनि बैंकमा पर्याप्त क्यास हुनु जरुरी हुन्छ।
दोस्रो कुरा, फन्डहरूले जोखिमपूर्ण वा निष्क्रिय क्षेत्रबाट पैसा झिकेर बैंकतिर थुपारेका छन्। साउन मसान्तसम्म आइपुग्दा गैरसूचीकृत सेयरमा गरिएको लगानी ३३.०६ प्रतिशतले घटेर ९० करोड ३१ लाख रुपैयाँमा झरेको छ। त्यही गैरसूचीकृत क्षेत्रबाट बाहिरिएको करोडौँ रकमलाई फन्डहरूले सुरक्षित मुद्दती निक्षेप र बैंक खातातिर सारेका छन्, जसले गर्दा बैंक ब्यालेन्स अचानक बढेको देखिन्छ।
तेस्रो कारण भनेको निश्चित ब्याज आम्दानीप्रतिको मोह हो। बैंक तथा वित्तीय संस्थाहरूबाट बिनाजोखिम निश्चित ब्याज पाइने भएपछि फन्डहरूले केही रकम निक्षेपमा थन्क्याएका छन्। फलस्वरुप, मुद्दती निक्षेपमा राखिएको रकम पनि २२.७३ प्रतिशतले बढेर ८६ करोड ४० लाख रुपैयाँ पुगेको छ। बजारको अस्थिरता छल्न र लगानीकर्तालाई नियमित लाभांश दिनका लागि पनि बैंकमा पैसा जोगाइ राख्नुपर्ने बाध्यता फन्डहरूलाई हुन्छ।
चौथो तथा अन्तिम पक्ष भनेको नियम पालना र लाभांश वितरणको तयारी हो। इकाईधनीहरूलाई समयमै प्रतिफल दिन र अन्य दायित्व चुक्ता गर्न पनि फन्डहरूले नगद बलियो बनाउनै पर्छ। यी विभिन्न आन्तरिक तथा बाह्य कारणले गर्दा नै सामूहिक लगानी कोषहरूको बैंक खातामा पैसा थुप्रिएको हो।
मुद्दती निक्षेपमा आकर्षण र सेयर लगानीमा सामान्य वृद्धि
बैंकमा पैसा बढ्नुका साथै मुद्दती निक्षेपमा राखिने रकममा पनि राम्रै वृद्धि देखिएको छ। असारमा ७० करोड ४० लाख रुपैयाँ रहेको मुद्दती निक्षेप बढेर साउनमा ८६ करोड ४० लाख रुपैयाँ पुगेको छ। यसबाट फन्डहरूले सुरक्षित प्रतिफल लिने बाटो समातेको देखिन्छ। अर्कोतर्फ, सूचीकृत कम्पनीहरूको सेयरमा गरिएको लगानी ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ पुग्दा जम्मा १।७९ प्रतिशतको सामान्य वृद्धि मात्रै देखिएको छ। यसले गर्दा सेयर बजारमा ठूलो चलखेल नभई धेरैजसो रकम बैंकमै थन्किएको प्रष्ट हुन्छ।
न्याभमा कुन म्युचुअल फन्ड अगाडि
प्रतिइकाई खुद मूल्य अर्थात् न्याभको आधारमा विश्लेषण गर्दा साउन मसान्तसम्म आइपुग्दा केही निश्चित सामूहिक लगानी कोषहरूले उत्कृष्ट वित्तीय सबलता देखाएका छन्। उपलब्ध तथ्याङ्क अनुसार १४.०३ रुपैयाँको न्याभ रहेको प्रभु स्मार्ट फन्ड यस सूचकमा सबैभन्दा अब्बल तथा अग्रस्थानमा देखिएको छ। त्यसलगत्तै १३।०९ रुपैयाँ न्याभ कायम गर्दै प्रभु सेलेक्ट फन्ड र १२.०२ रुपैयाँ न्याभसहित कुमारी धनवृद्धि योजना पनि बजारमा अगाडि देखिएका छन्। यसैगरी, हिमालयन ८०-२० को न्याभ १२.५४ रहेको छ भने अन्य केही योजनाहरू पनि उच्च न्याभ कायम गर्न सफल भएका छन्।