भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीनको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहेका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्। मन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपत्तिको प्रकृति र उद्धारमा देखिएका चुनौती असाधारण रहेको उल्लेख गरे।
यस किसिमको विपत्ति विश्वमा विरलै भएको र सम्भवतः यस्तो घटना पहिलो नै हुनसक्ने डिक्सको भनाइ छ। बाढीले करिब ७२ किलोमिटर क्षेत्रलाई प्रभावित बनाएको र कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नै नरहेको अवस्था रहेको उनले जानकारी दिए। अत्यन्तै साँघुरा गल्छी, बिग्रिएका सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उनले बताए।
विपत्तिको यो समयमा कसैलाई दोष दिन नहुने भन्दै उनले नेपाली पक्षले उद्धारमा गरेको समन्वयको प्रशंसा गरे। नेपाल सरकार र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उद्धार कार्यमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको र यस विपत्तिमा नेपालको कुनै दोष नरहेको उनले स्पष्ट पारे।
सतहमा ठूलो विनाश देखिए पनि भूमिगत संरचनाभित्र मानिस जीवितै रहने सम्भावना समाप्त नभएको उनको ठहर छ। जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचना अझै बाँकी रहेकाले सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।
नेपालका जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन तथा सुरुङ संरचनाको अध्ययन गरिरहेका डिक्सले विपत्तिपछि सुरुवाती चरणमै उपलब्ध डिजाइन, नक्सा तथा अन्य प्राविधिक विवरणको अध्ययन गरेर उद्धारको सम्भावित बाटो पहिचान गर्न थालेका हुन्। सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना कामदारको सफल उद्धार गरेर अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका उनले लामो समयदेखि भूमिगत संरचना तथा टनेल सुरक्षाका क्षेत्रमा काम गर्दै आएका छन्।
नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको उल्लेख गर्दै डिक्सले पीडित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिएका छन्। उनको संस्था 'इन्टरनेसनल टनेलिङ एसोसिएसन' ले पनि सहयोग र सम्मान प्रकट गरेको तथा यो पूर्ण रूपमा प्राकृतिक विपत्ति भएकाले विश्व समुदाय नेपालको साथमा रहेको उनले बताए।
जलविद्युत् नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा र सार्वभौमिकतासँग जोडिएको महत्वपूर्ण आधार भएकाले यस क्षतिलाई व्यापक दृष्टिले हेर्नुपर्ने उनको भनाइ छ। भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजनाको डिजाइनकै चरणदेखि समेट्नुपर्ने आवश्यकता उनले औँल्याए।
विगतमा उपलब्ध ज्ञान र जोखिम मूल्यांकनका आधारमा तयार गरिएका डिजाइनलाई हालको असाधारण घटनाका आधारमा गलत भन्न नमिल्ने डिक्सले स्पष्ट पारे। दुई हप्ता अघिसम्म उपलब्ध तथ्यांकका आधारमा डिजाइन उपयुक्त नै रहेको र अहिले परिस्थिति बदलेकाले कसैलाई दोष दिनु उचित नहुने उनको तर्क छ।
अहिलेको उद्धार अभियान सामान्य सुरुङ उद्धारभन्दा भिन्न रहेको र भारी उपकरण तथा दक्ष जनशक्ति घटनास्थलसम्म पुर्याउनै ठूलो चुनौती रहेको उनले बताए। बाढीले सडक र पुलमा क्षति पुर्याएकाले ठूला मेसिन हेलिकप्टरबाट लैजान नसकिने अवस्था छ। पाँच टनसम्म तौल भएका उपकरण लैजानका लागि सडक निर्माणको काम भइरहेको र अर्को किनारासम्म पहुँच पुर्याउन केबल पुल वा रोपवेको विकल्पसमेत खोजिएको उनले जानकारी दिए।
सडक, पुल, सञ्चार र पहुँचका पूर्वाधार ध्वस्त भएको अवस्थामा जनशक्ति र उपकरण पुर्याउन कठिन भए पनि नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले निरन्तर प्रयास गरिरहेका छन्। कठिन भूगोल र सीमित पहुँचका बाबजुद सम्भावित जीवित व्यक्तिको खोजी अन्तिम सम्भावनासम्म जारी राख्नुपर्ने डिक्सले बताए।