दशैंको पिङ र शेयर बजारको गतिको अन्तरसम्वन्ध

Oct 19, 2026 05:20 AM Merolagani



दशैंका धेरै विशेषता छन् । त्यसमध्ये एउटा मुख्य विशेषता पिङ हो । सामाजिक संजालको लोकप्रियताको कारण क्रमिकरुपमा ओझेलमा पर्दै गए पनि पिङ खेल्ने परम्परा हराइसकेको छैन । 

गाउँ घरमा मात्र होइन, शहर बजारका चौर, खेल मैदानहरुमा पनि दशैंको बेला पिङ खेल्ने चलन अझै पनि चलिरहेको छ । वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने मान्यता रहेको छ ।

पिङ दुई प्रकारको हुन्छ, लिङ्गे पिङ र रोटे पिङ । लिङ्गे पिङ बाँसको खाँबोका साथमा बाबियाको लठारो बेरेर बनाइन्छ भने रोटे पिङ काठबाट बनाइन्छ । पहिलेदेखि नै रोटे पिङको तुलनामा लिङगे पिङ धेरै लोकप्रिय रहेको देखिन्छ । लिङ्गे पिङलाई चार दिशामा बाँस गाढेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्छ । त्यसमाथि सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगार्ने चलन पनि छ ।

दशैँमा पिङ खेल्नैपर्ने परम्परा कहिले, कहाँ र कसरी सुरु भयो ठ्याक्कै भन्न नसकिए पनि जबदेखि दशैँ मनाउन शुरु गरेदेखि नै पिङ खेल्ने परम्पराको विकास गरिएको विश्वास गर्ने गरिन्छ । लिङगे पिङ एक पटकमा एकजनाले मात्रै खेल्न मिल्छ भने रोटे एक पटकमा धेरै जना खेल्न मिल्छ ।

पिङ केवल एउटा खेल वा मनोरन्जनको साधन मात्रै होइन, सामाजिक एकता र सद्भावको पर्यायबाची पनि हो । जहाँ बालबालिकादेखि युवा र वृद्ध, वृद्धासम्म, समाजका सबै जातजाती र धर्म तथा सम्प्रदायका मानिसहरु रमाउँछन् ।

आर्थिक पक्षबाट कुरा गर्दा पिङ खासगरि शेयर बजारमा लाग्न चाहानेहरु, पहिलेदेखि शेयर बजारमा कृयाशिलहरुको लागिसमेत एउटा गज्जबको मार्गदर्शक हो भन्दा अन्यथा हुदैन । अर्थात् पिङको समग्र गति र शेयर बजारको गति ठ्वाक्कै उस्तै प्रकारको हुन्छ । जसरी पिङ अस्थिर हुन्छ, एउटै विन्दुमा अडिन सक्दैन, क्षणभरमै तल गएर माथि आकासिन्छ, शेयर बजार पनि ठ्वाक्कै त्यस्तै हो ।

क्षणभरमै लगानीकर्तालाई अत्याउने गरि तल जान्छ भने क्षण भरमै आकासिन्छ । त्यो उस्को नियमित ‘जीवन चक्र’ नै हो । जसरी पिङमा बसेपछि वा खेल्न थालेपछि जमिनसँग नजिक रहेको तल्लो विन्दुमा होइन, आकासिदैं माथिल्लो विन्दुमा पुग्दा खेल्नेलाई मज्जा हुन्छ, हेर्नेलाई पनि ओ हो, त्यसले त आकास नै छोयो जस्तो लाग्छ । शेयर बजारको गति पनि दुरुस्तै त्यस्तै हुन्छ । शेयर सूचकाँक र शेयर मूल्य तल्लो विन्दुमा हुँदा न लगानीकर्तालाई उत्साह हुन्छ न त त्यसबारेमा चासो राख्ने अरु कसैलाई नै । त्यसमा रोमान्चकता त त्यतिबेला आउँछ, जब मूल्य आकासिन्छ ।

त्यसैले तपाई पनि शेयर बजारको लगानीकर्ता वा त्यसबारेमा चासो राख्ने गर्नुहुन्छ भने पिङको गतिलाई बुझ्ने प्रयास गर्नुस् । त्यसले तपाईलाई शेयर बजारको गतिलाई बुझाउन सहयोग पुर्याउनेछ ।