विद्यार्थी आन्दोलनले सर्बियाका भुचिचलाई कसरी सत्ताच्युत गर्‍यो?

Oct 26, 2026 11:02 AM merolagani



पल किर्बी (बीबीसी)
सर्बियाको संसदीय निर्वाचनमा विद्यार्थी आन्दोलनले ऐतिहासिक जित हासिल गरेको छ। तर, चाखलाग्दो कुरा के छ भने, संसदमा निर्वाचित हुनेहरूमध्ये एक जना पनि विद्यार्थी छैनन्।

यो आन्दोलन एउटा ठूलो त्रासदीबाट सुरु भएको थियो। सडक अवरुद्ध गरेर विद्यार्थीहरूले थालेको विरोध प्रदर्शन बिस्तारै भ्रष्टाचार र सरकारी लापरबाहीविरुद्धको राष्ट्रव्यापी आन्दोलनमा परिणत भएको थियो।

दुई वर्षभन्दा कम समयमै विद्यार्थीहरूले राष्ट्रपति अलेक्जान्डर भुचिचको १४ वर्षे राजनीतिक एकाधिकार तोडिदिएका छन्। आफ्नो दल ‘सर्बियन प्रोग्रेसिभ पार्टी’ (एसएनएस) प्रति घट्दो जनसमर्थनका कारण भुचिचले सर्बियाको भविष्य निर्धारण गर्ने यस जनमतसंग्रह सरहको निर्वाचनमा अन्ततः पराजय भोग्नुपर्‍यो।

बेलग्रेड, नोभी साददेखि निससम्मका प्रमुख सहरहरूमा यतिबेला विजयोत्सवको माहोल छ। विद्यार्थी गठबन्धनको मुख्यालय अगाडि हजारौँ समर्थकहरू भेला भएका छन्। सामाजिक सञ्जालमा विद्यार्थीहरूले घोषणा गरेका छन्— "सर्बिया अब स्वतन्त्र भयो।"

यस जितको सबैभन्दा प्रतीकात्मक क्षण १८ महिनाअघि संसद भवन अगाडि बनाइएको भुचिच समर्थकहरूको पाल शिविर (तथाकथित 'कासिल्याण्ड') भत्काइनु थियो। "भुचिच सत्ताबाट बाहिरिँदै छन्" भन्ने चर्का नाराका बीच त्यहाँ लगाइएका फलामे बारहरू आन्दोलनकारीले उखेलिदिएका थिए।

विद्यार्थीहरूले सर्बियाको राजनीति कसरी बदले?

कुनै स्थापित नेता र दलगत पृष्ठभूमि नभए पनि ‘विद्यार्थी सूची–विद्यार्थी जित’ अभियानले देशभरका सरकार विरोधी मतदातालाई एकै ठाउँमा ल्याउन सफल भयो।

उनीहरूले संसदका सबै २५० सिटका लागि उम्मेदवार उठाएका थिए, तर तीमध्ये कुनै पनि उम्मेदवार विद्यार्थी थिएनन्।

गत साता राजधानी बेलग्रेडतर्फको र्‍यालीमा सहभागी हुँदै यस सूचीका शीर्ष उम्मेदवार तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. इलिजा स्रादानोभिचले नयाँ इतिहास रचिन लागेको बताएका थिए। उनले भनेका थिए, "यो ऊर्जालाई अब कसैले रोक्न सक्दैन। हामी नागरिकलाई एउटा सभ्य समाजका आधारभूत मूल्य मान्यता दिलाउने छौँ, जुन विगतको शासनले उनीहरूबाट खोसेको थियो।"

यस आन्दोलनको बीजारोपण १ नोभेम्बर २०२४ मा भएको थियो, जब नोभी साद सहरको रेलवे स्टेसनको कङ्क्रिटको छाना खस्दा १६ जनाको मृत्यु भएको थियो।

यस घटनालाई संस्थागत भ्रष्टाचारको नमुनाका रूपमा हेरियो। स्टेसन मर्मतको विवादास्पद आयोजनासँग राष्ट्रपति भुचिच आफैँ प्रत्यक्ष रूपमा जोडिएका थिए।

थिंक ट्याङ्क ‘हेनरी ज्याक्सन सोसाइटी’की विश्लेषक हेलेना इभानोभका अनुसार, "त्यो दुर्घटना जनताको धैर्यको बाँध फुटाउने अन्तिम कारण बन्यो।" यो घटनाले जनतामा तीव्र आक्रोश पैदा गर्‍यो र त्यहीँबाट विरोध प्रदर्शनहरूको राष्ट्रव्यापी आँधी सुरु भयो। कुनै पनि विपक्षी दलले गर्न नसकेको काम विद्यार्थीहरूले नागरिकको मन जितेर गरिदिए।

सडक आन्दोलनदेखि सत्तालाई सीधा चुनौतीसम्म

सुरुमा क्याम्पस र सडकमा न्यायको माग गर्दै साप्ताहिक रूपमा थालिएको प्रदर्शन चाँडै किसान, कलाकार र न्यायाधीशहरूसमेत जोडिएको राष्ट्रिय जनआन्दोलनमा बदलियो।

यसबाट भुचिच नेतृत्वको एसएनएस पार्टी निकै दबाबमा पर्‍यो। तनाव कम गर्न भन्दै जनवरी २०२५ मा तत्कालीन प्रधानमन्त्रीले राजीनामा नै दिए। मार्च २०२५ सम्म आइपुग्दा बेलग्रेडमा देशकै इतिहासको सबैभन्दा विशाल सरकारविरोधी प्रदर्शन भयो। कुनै स्पष्ट नेतृत्व नभए पनि विद्यार्थीहरूले ‘प्लेनम’ (आमसभा) मार्फत आन्दोलनलाई अनुशासित र व्यवस्थित बनाए।

भुचिचले मध्यावधि चुनावको घोषणा गर्दासम्म विद्यार्थीहरू चुनावी मोर्चाका लागि पूर्ण रूपमा तयार भइसकेका थिए। हेलेना इभानोभ भन्छिन्, "उनीहरूले सडकको जनआक्रोशलाई चुस्त सङ्गठनमा बदले र मतदान केन्द्रहरूमा धाँधली हुन नदिने रणनीति सफलतापूर्वक कार्यान्वयन गरे।"

जर्मन मार्शल फन्डकी गोर्डाना डेलिकका अनुसार, यो चुनाव भुचिचको सत्ताविरुद्ध जनमतसंग्रह नै थियो। उनले भनिन्, "नागरिकको सन्देश स्पष्ट थियो— विधिको शासन चाहिन्छ, शासकको सनक होइन।"

सुरुमा प्रदर्शनकारीहरूको 'सद्भाव' भन्दै प्रशंसा गरेका भुचिचले चुनाव नजिकिँदै गर्दा उनीहरूमाथि देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाए। अन्ततः आइतबार राति हार स्वीकार्दै उनले विद्यार्थीहरूलाई पश्चिमा मुलुक र अमेरिकी ‘डिप स्टेट’को आड रहेको निराधार आरोपसमेत लगाए।

अब सर्बियाको सत्ता कसले सम्हाल्नेछ?

विद्यार्थीहरू आफैँ चुनावी मैदानमा प्रत्यक्ष उम्मेदवार बनेनन्। यो उनीहरूको सुझबुझपूर्ण रणनीति थियो, किनकि मतदाताले कम उमेर र राजनीतिक अनुभव नभएका युवाहरूलाई सरकार चलाउने जिम्मेवारी सुम्पन हिचकिचाउन सक्थे।

विद्यार्थी सूचीको पहिलो नम्बरमा मुटुरोग विशेषज्ञ इलिजा स्रादानोभिच रहे पनि उनी प्रधानमन्त्री बन्ने सम्भावना न्यून देखिएको छ।

विद्यार्थी गठबन्धनबाट कम्तीमा १३५ जना सांसद निर्वाचित हुने देखिएको छ। तीमध्ये पूर्वबास्केटबल खेलाडी देजान बोडिरोगा, अभिनेता तिहोमिर स्टानिक, ओपेरा गायक निकोला मिकिक र सर्बिया केन्द्रीय बैंकका पूर्वगभर्नर देजान सोस्किकसहित धेरै प्राध्यापकहरू छन्।

प्रधानमन्त्रीका रूपमा देजान सोस्किकको नाम प्रमुख रूपमा चर्चामा छ। उनले आर्थिक सुधारको खाका अघि सारेका छन्, जसका कारण विगतमा सरकार समर्थक मिडियाले उनको तीव्र आलोचना गरेका थिए।

उनीहरूको मुख्य एजेन्डा के हो?

निर्वाचित सांसदहरूको मुख्य जिम्मेवारी विद्यार्थीहरूले तयार पारेको चुनावी घोषणापत्र अक्षरशः कार्यान्वयन गर्नु हुनेछ। विद्यार्थीहरूले राज्यका निकायहरूमा "इमानदारीपूर्वक काम गर्ने र आफ्नो जिम्मेवारी नभुल्ने" योग्य व्यक्तिहरूलाई अघि सारेका थिए।

उनीहरूको ११ बुँदे कार्यक्रमका प्रमुख एजेन्डाहरू यस्ता छन्:

  • भ्रष्टाचार नियन्त्रण:उच्चस्तरीय भ्रष्टाचार छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन विशेष प्रहरी इकाइ गठन गर्ने।
  • दमनकारी अधिकारीमाथि कारबाही:शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन गर्ने वा सङ्गठित अपराधमा मुछिएका गृह मन्त्रालयका अधिकारीहरूलाई तत्काल बर्खास्त गर्ने।
  • मिडिया सुधार:राजनीतिक प्रभावमा परेका सञ्चारमाध्यममा सुधार ल्याई सार्वजनिक प्रसारकलाई सरकारी नियन्त्रणमुक्त बनाउने।
  • दलीय भागबण्डाको अन्त्य:सार्वजनिक संस्थानहरूमा पार्टीका कार्यकर्ता भर्ती गर्ने परिपाटी पूर्ण रूपमा बन्द गर्ने।

(यद्यपि भुचिच र उनको दलले भ्रष्टाचार तथा मिडिया नियन्त्रणसम्बन्धी यी आरोपहरू अस्वीकार गर्दै आएका छन्।)

संसद्‍बाहिर रहेका विद्यार्थीहरूको भूमिका के हुन्छ?

विद्यार्थीहरू आफैँ संसद्‍मा नपुगे पनि जनतासँग गरिएका वाचाहरू पूरा गराउन उनीहरूले नयाँ सांसदहरूमाथि निरन्तर खबरदारी र दबाब कायम राख्नेछन्।

विद्यार्थीहरूका अनुसार उनीहरूले अघि सारेका प्रतिनिधिहरूको मुख्य काम "सडकको आन्दोलनलाई संसद् र नीति निर्माण तहसम्म पुर्‍याउनु" हो।

यता पराजयपछि भुचिचले भने आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै विद्यार्थीहरूले देशको दुई वर्ष खेर फालेको आरोप लगाएका छन्। उनले नयाँ बन्ने सरकार "सोचेभन्दा छिटो ढल्ने" चेतावनीसमेत दिएका छन्।

 




६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।