यस अवधिमा निर्यात व्यापारमा ५७ प्रतिशतभन्दा बढीको उत्साहजनक वृद्धि देखिए पनि उच्च आयातका कारण मुलुकको कुल व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।
वैदेशिक व्यापारको पछिल्लो तथ्याङ्कअनुसार चालु आवको पहिलो त्रैमासमा कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले विस्तार भई ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। गत आवको पहिलो तीन महिनामा कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको भएको थियो।
समीक्षा अवधिमा नेपालबाट हुने निर्याततर्फ भने सकारात्मक सुधार देखिएको छ। पहिलो तीन महिनामा निर्यात ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको मात्र वस्तु तथा सेवा निर्यात गरेको थियो।
यसैगरी, आयाततर्फ पनि उच्च वृद्धि कायम रहेको छ। चालु आवको असोज मसान्तसम्ममा आयात ३८.१८ प्रतिशतले वृद्धि भई ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आयात ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबर रहेको थियो।
निर्यातमा आएको तीव्र सुधारले गर्दा आयात-निर्यात अनुपातमा भने केही सकारात्मक परिवर्तन देखिएको छ। अघिल्लो वर्ष १ रुपैयाँको निर्यात गर्दा ६.४३ रुपैयाँको आयात हुने गरेकोमा चालु आवको पहिलो त्रैमासमा यो अनुपात १२ प्रतिशतले घटेर ५.६६ मा झरेको छ।
त्यस्तै, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशतबाट बढेर १५.०२ प्रतिशत पुगेको छ, जुन ११.५९ प्रतिशतको सुधार हो। अर्कोतर्फ, कुल व्यापारमा आयातको हिस्सा १.८० प्रतिशतले घटेर ८४.९८ प्रतिशतमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यस्तो हिस्सा ८६.५४ प्रतिशत थियो।