यसको प्रभाव विशेषगरी दुई क्षेत्रमा देखिएको छ।
- साना व्यवसायका ऋण स्वीकृतिमा लाग्ने समय हप्तौँबाट केही मिनेटमा झरेको छ।
- बहुराष्ट्रिय कम्पनीहरूको ऋणसम्बन्धी निर्णयमा लाग्ने समय महिनौँबाट हप्तामा झरेको छ।
बैंकले यसका लागि 'ADA' नामको आन्तरिक एआई प्लेटफर्म विकास गरेको छ। यसको नाम कम्प्युटर विज्ञानकी अग्रणी वैज्ञानिक एडा लभलेसको नामबाट राखिएको हो। यो प्लेटफर्मको काम एआई एजेन्टहरू विकास गर्ने, तिनको काम अनुगमन गर्ने, जोखिम नियन्त्रण गर्ने र आवश्यकताअनुसार फरक एआई मोडल प्रयोग गर्न सहयोग गर्ने हो।
बैंककी प्रविधि प्रमुख मारी–जिन डिभरड्युनका अनुसार बैंकले एआईको प्रयोगलाई सामान्य कार्यक्षमता वृद्धिमा मात्र सीमित नराखी सम्पूर्ण बैंकिङ प्रक्रियामा विस्तार गर्न खोजिरहेको छ। बैंकले सन् २०२६ देखि २०२८ सम्म प्रविधिमा थप २.५ अर्ब युरो अर्थात् करिब २.८ अर्ब अमेरिकी डलर खर्च गर्ने योजना पनि बनाएको छ।
अझ रोचक पक्ष के छ भने डोयचे बैंकले भविष्यमा एउटा बैंकको एआई एजेन्टले अर्को कम्पनी वा ग्राहकको एआई एजेन्टसँग प्रत्यक्ष संवाद गर्ने 'एजेन्टिक अर्थतन्त्र' को तयारी गरिरहेको छ।
यसको अर्थ भविष्यमा कुनै कम्पनीले ऋण लिन चाहेमा त्यसको एआई एजेन्टले बैंकको एआई एजेन्टसँग आवश्यक विवरण आदानप्रदान गर्ने, प्रस्ताव तयार गर्ने र प्रक्रियालाई अघि बढाउने अवस्था आउन सक्छ।
अमेरिकाका ठूला बैंकमा डिजिटल कर्मचारीको भर्ती
अमेरिकाका ठूला बैंकहरूले एआईलाई आफ्नो दैनिक कामको हिस्सा बनाउन थालेका छन्। रोयटर्सले प्रकाशित गरेको विस्तृत समाचारअनुसार केपीएमजीले जुन महिनामा गरेको सर्वेक्षणमा ५१ प्रतिशत बैंकले एआई एजेन्टको परीक्षण गरिरहेको बताएका थिए।
यो प्रविधि अहिले ग्राहक सेवा, सम्पत्ति व्यवस्थापन, कारोबार परीक्षण, ग्राहक पहिचान, जोखिम मूल्यांकन र कोष व्यवस्थापनसम्म विस्तार भइरहेको छ।
केही महत्त्वपूर्ण उदाहरण हेरौँ।
क) BNY : डिजिटल कर्मचारीलाई छुट्टै परिचय र जिम्मेवारी
बीएनवाईले एआई एजेन्टलाई केवल सफ्टवेयरका रूपमा होइन, डिजिटल सहकर्मीका रूपमा व्यवस्थापन गरिरहेको छ।
बैंकका प्रमुख कार्यकारी रोबिन भिन्सले आफ्नो कम्पनीका डिजिटल कर्मचारीलाई छुट्टै लगइन परिचय, जिम्मेवारी र मानवीय व्यवस्थापक दिइएको बताएका छन्।
उदाहरणका लागि 'Payment Pete' नाम दिइएको डिजिटल कर्मचारीले भुक्तानीसम्बन्धी काममा सहयोग गर्छ। यसको पनि दैनिक काम हुन्छ, कामको गुणस्तर परीक्षण हुन्छ र मानव व्यवस्थापकले यसको कार्यसम्पादनको निगरानी गर्छन्।
ख) Morgan Stanley : ग्राहकका लागि चौबीसै घण्टा डिजिटल सहयोगी
मोर्गन स्ट्यान्लीले आफ्ना वित्तीय सल्लाहकारलाई सहयोग गर्न एआई एजेन्ट प्रयोग गरिरहेको छ।यसले ग्राहकको लगानी, वित्तीय अवस्था र बजारको गतिविधि विश्लेषण गरेर सल्लाहकारलाई आवश्यक सुझाव दिन सक्छ।
बैंकले ग्राहकसँग प्रत्यक्ष संवाद गर्ने डिजिटल सहायकको परीक्षण गर्ने योजना पनि अघि सारेको थियो।
ग) UBS : लगानी सल्लाहकारको काम सजिलो बनाउने एआई
यूबीएसका वित्तीय सल्लाहकारले एआई एजेन्टबाट दैनिक हजारौँ सूचना तथा चेतावनी प्राप्त गर्छन्।उदाहरणका लागि कुनै ग्राहकको वार्षिकी लगानी परिपक्व हुँदै छ भने त्यसलाई पुनः लगानी गर्ने समय आएको सूचना एजेन्टले दिन सक्छ।
ग्राहकसँगको बैठक, इमेल र खातासम्बन्धी जानकारी संकलन गरेर एजेन्टले आवश्यक विवरण तयार गर्छ। तर कारोबारको निर्णय सल्लाहकारले गरेपछि मात्र कारोबार वा रकम स्थानान्तरणको प्रक्रिया अघि बढ्छ।
घ) Goldman Sachs : कारोबार लेखांकनदेखि ग्राहक परीक्षणसम्म
गोल्डम्यान स्याक्सले एन्थ्रोपिकसँग सहकार्य गरेर कारोबार लेखांकन, ग्राहक पहिचान तथा परीक्षण, ग्राहक प्रवेश प्रक्रिया र अन्य बैंकिङ कार्यमा एआई एजेन्ट विकास गरिरहेको छ।
ङ) JPMorgan Chase : कर्पोरेट कोष व्यवस्थापनमा एआई
जेपी मोर्गनले कर्पोरेट ट्रेजरी अर्थात् कम्पनीको नगद, भुक्तानी, तरलता र वित्तीय स्रोत व्यवस्थापनमा एजेन्टिक एआई प्रयोगका अवसर खोजिरहेको छ। यी उदाहरणले एआई अब बैंकको ग्राहक सेवा कक्षमा मात्र सीमित नरहेर बैंकको भित्री सञ्चालन प्रणालीसम्म प्रवेश गरिरहेको देखाउँछन्।
एजेन्टिक एआईको सबैभन्दा संवेदनशील काम : ठगी र सम्पत्ति शुद्धीकरण नियन्त्रण
बैंकिङ क्षेत्रमा एजेन्टिक एआईको सबैभन्दा महत्त्वपूर्ण प्रयोगमध्ये एक वित्तीय अपराध नियन्त्रण हो।विश्वभर बैंकहरूले नक्कली खाता, शंकास्पद कारोबार, सम्पत्ति शुद्धीकरण, अवैध रकम स्थानान्तरण र पहिचान चोरीजस्ता समस्यासँग जुध्न ठूलो रकम खर्च गरिरहेका छन्।
परम्परागत प्रणालीमा कुनै कारोबार शंकास्पद देखिएपछि त्यसलाई सम्बन्धित कर्मचारीले अध्ययन गर्नुपर्छ। हजारौँ कारोबारमध्ये कुन वास्तविक जोखिम हो र कुन सामान्य कारोबार हो भन्ने छुट्याउन धेरै समय लाग्छ।
एजेन्टिक एआईले भने विभिन्न खाताको कारोबार इतिहास, ग्राहकको आर्थिक गतिविधि, कारोबारको समय, रकम र सम्बन्धित व्यक्तिको विवरण एकैसाथ विश्लेषण गर्न सक्छ।
अमेरिकी वित्तीय प्रविधि कम्पनी FIS ले मे ४, २०२६ मा Anthropic सँग सहकार्य गरेर वित्तीय अपराध अनुसन्धानका लागि विशेष एआई एजेन्ट विकास गर्ने घोषणा गरेको थियो।
यस परियोजनामा बैंकका विभिन्न प्रणालीबाट प्रमाण संकलन गर्ने, शंकास्पद कारोबारको ढाँचा पहिचान गर्ने र अनुसन्धानकर्तालाई प्राथमिकताका आधारमा जोखिमपूर्ण घटनाको जानकारी दिने व्यवस्था बनाइएको छ।
कम्पनीका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा लाग्ने समय घण्टा वा दिनबाट मिनेटमा झार्ने लक्ष्य राखिएको छ। बीएमओ र एमलगामेटेड बैंक प्रारम्भिक विकास तथा प्रयोगका साझेदारका रूपमा सहभागी थिए।
यसको आर्थिक महत्व निकै ठूलो छ। बैंकहरूले ठगी नियन्त्रणमा लाग्ने कर्मचारी समय घटाउन, गलत चेतावनी कम गर्न र वास्तविक अपराधको पहिचान छिटो गर्न सकेमा सञ्चालन खर्च घट्नुका साथै ग्राहकको रकमको सुरक्षा पनि बढ्न सक्छ।
तर एआईले कुनै कारोबारलाई शंकास्पद ठहर्यायो भन्दैमा त्यसलाई स्वतः अपराध प्रमाणित भएको मान्न मिल्दैन। अन्तिम अनुसन्धान र कानुनी निर्णयका लागि मानवीय निगरानी आवश्यक रहन्छ।
बैंकमा एआई प्रवेशसँगै नियामकहरूको चिन्ता : नियन्त्रण कसले गर्ने ?
एजेन्टिक एआईले बैंकिङ प्रणालीलाई छिटो र प्रभावकारी बनाउन सक्ने सम्भावना देखाए पनि यसले नयाँ प्रकारका जोखिम सिर्जना गरेको छ। विशेषगरी एआईलाई बैंकको आन्तरिक प्रणालीमा प्रवेश दिँदा त्यसले कुन सूचना हेर्न पाउँछ, कस्तो निर्णय गर्न सक्छ र कति रकमसम्मको कारोबार गर्न सक्छ भन्ने विषय संवेदनशील बनेको छ।
अक्टोबर १३ मा रोयटर्सले सार्वजनिक गरेको समाचारअनुसार अमेरिका र युरोपका वित्तीय नियामकहरूले बैंकहरूको एआई प्रयोगमाथि निगरानी बढाएका छन्।
अमेरिकाको फेडरल रिजर्भ, अफिस अफ द कम्प्ट्रोलर अफ द करेन्सी (OCC) र फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (FDIC) ले बैंकहरूलाई एआईको प्रयोग र साइबर सुरक्षासम्बन्धी प्रश्न गरिरहेका छन्।
नियामकहरूको मुख्य चासो यस्ता विषयमा छ:
- एआई एजेन्टलाई कुन प्रणालीसम्म पहुँच दिइएको छ?
- एजेन्टले आफ्नो अधिकारभन्दा बाहिर गएर काम गर्न सक्छ कि सक्दैन?
- एआईले गरेको निर्णयको अभिलेख राखिएको छ कि छैन?
- गलत निर्णय भए तत्काल रोक्न सकिन्छ कि सकिँदैन?
- ग्राहकको गोप्य विवरण बाहिरिने जोखिम कसरी नियन्त्रण गरिएको छ?
- विदेशी प्रविधि तथा एआई मोडलमाथिको निर्भरताले बैंकको सुरक्षा कमजोर बनाउँछ कि बनाउँदैन?
रोयटर्सका अनुसार नियामकहरूको एउटा मुख्य चिन्ता एआईको विकासको गति र त्यसलाई नियन्त्रण गर्ने क्षमता बीचको अन्तर हो। अर्थात् बैंकहरू एआईलाई छिटो काम गर्न लगाउन चाहन्छन्, तर गलत निर्णय गर्ने अवस्थामा त्यसलाई कसले र कसरी रोक्ने भन्ने प्रश्नको उत्तर अझै महत्त्वपूर्ण छ।
एजेन्टिक एआईको विकाससँगै नयाँ समस्या
एजेन्टिक एआईको विकाससँगै एउटा नयाँ समस्या देखिएको छ। अब बैंक आफैँले बनाएका एआई एजेन्ट मात्र होइन, ग्राहकले प्रयोग गर्ने बाह्य एआई एजेन्टले समेत बैंक खातामा पहुँच खोज्न सक्छन्।
उदाहरणका लागि कुनै व्यक्तिले आफ्नो एआई सहायकलाई यस्तो निर्देशन दिन सक्छ:
'मेरो बैंक खातामा भएको रकम हेरेर सबैभन्दा बढी ब्याज दिने खातामा सारिदेऊ।' सामान्य एआईले कुन बैंकमा बढी ब्याज पाइन्छ भनेर जानकारी दिन सक्छ। तर एजेन्टिक एआईलाई बैंक खातामा पहुँच र कारोबार गर्ने अधिकार दिइयो भने उसले आफैँ रकम सार्न पनि सक्छ।
यसले ग्राहकलाई सुविधा दिन्छ। तर गलत निर्देशन, ह्याकिङ वा एआईको त्रुटिका कारण रकम गलत ठाउँमा पुग्न सक्ने जोखिम पनि हुन्छ। वैंक स्वीजरल्याण्डका प्रमुख कार्यकारी अधिकृत सर्जियो एर्मोट्टीले बाह्य एआई मोडललाई ग्राहकको तर्फबाट बैंक खातामा कारोबार गर्न अनुमति नदिने बताएका छन्।
उनको चिन्ता एआईले ग्राहकको हितमा काम गरिरहेको छ कि छैन भन्ने हो। ग्राहकको पैसा कुन आधारमा, कसको निर्देशनमा र किन सारियो भन्ने कुरा स्पष्ट हुनुपर्ने उनको भनाइ छ। यसले बैंकिङ क्षेत्रमा नयाँ नियमको आवश्यकता देखाएको छ। अब ग्राहकको पहिचान जाँच्ने 'Know Your Customer' (KYC) सँगै एआई एजेन्टको पहिचान, अधिकार र जिम्मेवारी जाँच्ने व्यवस्था पनि आवश्यक हुन सक्छ।
हङकङ मौद्रिक प्राधिकरणले ल्यायो जिम्मेवार एआई प्रयोगको नयाँ ढाँचा
एजेन्टिक एआईलाई बैंकिङ क्षेत्रमा सुरक्षित रूपमा विस्तार गर्न हङकङले पनि नयाँ पहल गरेको छ। हङकङ मौद्रिक प्राधिकरण (HKMA) ले अक्टोबर १५, २०२६ मा बैंकिङ क्षेत्रमा जिम्मेवार एआई प्रयोगका लागि 'ART Framework' घोषणा गरेको छ।
ART का तीनवटा आधार छन्:
Accountability: एआईले गरेको कामको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट हुनुपर्ने।
Resiliency: एआई प्रणालीमा समस्या आए पनि बैंकिङ सेवा सञ्चालन भइरहन सक्ने क्षमता हुनुपर्ने।
Trust: ग्राहकको विश्वास, गोपनीयता र सुरक्षा कायम हुनुपर्ने।
हङकङको एआई परीक्षण कार्यक्रमअन्तर्गत अनुसन्धान गरिएका प्रयोगमध्ये ६० प्रतिशतभन्दा बढी एजेन्टिक एआईसँग सम्बन्धित थिए। प्राधिकरणले एआई एजेन्टको काम, अधिकार, जिम्मेवारी र निगरानीसम्बन्धी छुट्टै नियामकीय व्यवस्था विकास गर्ने तयारीसमेत गरेको छ।
यसले एआईलाई बैंकिङ क्षेत्रमा भित्र्याउनु मात्र पर्याप्त छैन, त्यसलाई नियन्त्रण गर्ने संस्थागत क्षमता पनि निर्माण गर्नुपर्छ भन्ने सन्देश दिन्छ।
बैंकका कर्मचारीको रोजगारी के हुन्छ ?
एजेन्टिक एआईको विस्तारसँगै बैंकिङ क्षेत्रको रोजगारीबारे पनि बहस सुरु भएको छ। बैंकमा अहिले कर्मचारीले गर्ने धेरै काम दोहोरिने प्रकृतिका छन्। ग्राहकको कागजात जाँच्ने, विवरण कम्प्युटरमा प्रविष्ट गर्ने, ऋणको प्रारम्भिक मूल्यांकन गर्ने, कारोबार मिलान गर्ने, ग्राहकलाई सामान्य जानकारी दिने र प्रतिवेदन तयार गर्ने काममा ठूलो जनशक्ति आवश्यक पर्छ।
यीमध्ये धेरै काम एआई एजेन्टले गर्न सक्ने सम्भावना छ। तर यसको अर्थ बैंकका सबै कर्मचारी विस्थापित हुने भन्ने होइन। बरु कर्मचारीको कामको प्रकृति परिवर्तन हुन सक्छ।
भविष्यमा एआईले गर्न सक्ने काम
कागजात संकलन र प्रारम्भिक परीक्षण
जोखिम पहिचान र चेतावनी
पोर्टफोलियो विश्लेषण
चौबीसै घण्टा डिजिटल सहयोग
तथ्यांक विश्लेषण र प्रतिवेदन तयारी
कारोबारको निरन्तर अनुगमन
यसले बैंकका कर्मचारीलाई ग्राहकसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने, जटिल वित्तीय निर्णय गर्ने, जोखिम मूल्यांकन गर्ने र एआईले तयार गरेको विश्लेषणको गुणस्तर जाँच्ने काममा केन्द्रित हुन सहयोग गर्न सक्छ।
अर्थात् बैंकको भविष्यमा मानिस र मेसिनबीच प्रतिस्पर्धाभन्दा सहकार्य महत्वपूर्ण हुन सक्छ। तर सामान्य प्रशासनिक तथा दोहोरिने काममा जनशक्तिको माग घट्ने जोखिमलाई पनि बेवास्ता गर्न मिल्दैन।