इजिप्टको सेयर बजारमा हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासन

Nov 03, 2026 11:49 AM Merolagani



इजिप्टले बैंक अफ कायरोको ४५ प्रतिशत शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत विक्री गरी ६५० मिलियन अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ । यो इजिप्टको सेयर बजारमा हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासन भएको सरकारले जनाएको छ ।

सरकारकाअनुसार उक्त आईपीओबाट ३६ अर्ब ३० करोड इजिप्टियन पाउण्ड (करिव ६५०.७ मिलियन अमेरिकी डलर) रकम संकलन भएको हो । निष्कासनअन्तर्गत ६ अर्ब ८६ करोडभन्दा बढी कित्ता शेयर विक्री गरिएको थियो । उक्त कारोबारपछि बैंकको कुल मूल्यांकन करिब ८० अर्ब ८० करोड इजिप्टियन पाउण्ड पुगेको छ ।

बैंकको सेयर कारोबार शुरु भएको अवसरमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुली सहभागी भएका थिए । कार्यक्रममा बैंकिङ तथा पुँजी बजार क्षेत्रका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो । प्रधानमन्त्री मदबुलीले बैंक अफ कायरोको शेयर बजारमा सूचीकृत हुनुलाई इजिप्टको आर्थिक सुधार कार्यक्रमको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।

उनले यसले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने तथा व्यक्तिगत र संस्थागत लगानीकर्तामाझ सेयर स्वामित्व विस्तार गर्ने सरकारको नीतिलाई प्रतिबिम्बित गरेको बताए । इजिप्टियन एक्सचेन्जका अध्यक्ष ओमर रदवानले उक्त आईपीओले देशको पुँजी बजारमा नयाँ अध्याय शुरु गरेको बताए । इजिप्ट सरकारले अर्थतन्त्रमा निजी क्षेत्रको भुमिका बढाउने र सार्वजनिक स्वामित्वमा रहेका संस्थाहरूमा निजी लगानी आकर्षित गर्ने उद्देश्यसहित आर्थिक सुधार कार्यक्रम अघि बढाउँदै आएको छ । बैंक अफ कायरोको आईपीओलाई सोही नीतिको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।