कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्मको अवधिमा ५ करोड ८४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको हो।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले ५ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको नाफा गत वर्षको तुलनामा करिब १२.७१ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ९ करोड ५९ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ९ करोड ३३ लाख १९ हजार रुपैयाँ थियो। यसरी कम्पनीको आम्दानीमा पनि वृद्धि देखिएको छ।
कम्पनीको कुल सञ्चालन नाफा ७ करोड १७ लाख ८९ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा ७ करोड ९ लाख ५३ हजार रुपैयाँ थियो। यस्तै, कम्पनीको करअघिको नाफा ६ करोड २ लाख २९ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १ करोड २७ लाख २८ हजार रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा वित्तीय खर्च १ करोड ७५ लाख ६२ हजार रुपैयाँ थियो। वित्तीय खर्च घट्नुले पनि नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) वार्षिकीकरणका आधारमा ४० रुपैयाँ ६४ पैसा रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ४१ रुपैयाँ ४६ पैसा थियो। त्यस्तै, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २३ पैसा रहेको छ।
कम्पनीको चुक्ता पूँजी ५७ करोड ५० लाख रुपैयाँ रहेको छ। असोज मसान्तसम्म कम्पनीको जगेडा तथा सञ्चित नाफा १७ करोड ३८ लाख ३१ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो रकम ११ करोड १५ लाख ६३ हजार रुपैयाँ थियो।
कम्पनीको कुल सम्पत्ति १ अर्ब ६२ करोड ८० लाख रुपैयाँ रहेको छ। त्यस्तै, दीर्घकालीन वित्तीय दायित्व ८४ करोड ९१ लाख ७९ हजार रुपैयाँ र चालु दायित्व २ करोड ८२ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीका अनुसार अपर हेवाखोला साना जलविद्युत् आयोजना सन्तोषजनक रूपमा सञ्चालन भइरहेको छ। आयोजनाले गत आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् उत्पादन तथा खरिद बिक्री सम्झौताअनुसार शतप्रतिशत विद्युत् बिक्री गरेको जनाएको छ।
कम्पनीले गत वर्ष बोनस सेयर वितरणबाट प्राप्त रकम चौधौँ वार्षिक साधारणसभाको निर्णयअनुसार २७.९ मेगावाट क्षमताको मध्य इङ्खु खोला जलविद्युत् आयोजनामा लगानी गरेको छ। साथै, आफ्नो नगद मौज्दातबाट अन्य दुई जलविद्युत् आयोजनाको सेयरमा समेत लगानी गरेको जनाएको छ।
कम्पनीले आयोजना पुनर्निर्माणपछिका दुई वर्षमा कुनै पनि प्रकारको बीमा दाबी गर्नुपर्ने अवस्था नआएको र सबै प्रकारका जोखिमको बीमा गरिएको जनाएको छ। आयोजना उपकरण तथा भौतिक संरचनाको नियमित मर्मतसम्भारले विद्युत् उत्पादनलाई नियमित र भरपर्दो बनाउन सहयोग पुगेको कम्पनीको भनाइ छ।
यद्यपि, कम्पनीले मौसम परिवर्तनलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ। कम्पनीका अनुसार समीक्षा अवधिमा कम्पनीविरुद्ध कुनै कानुनी प्रक्रिया चलेको छैन भने संस्थागत सुशासनसम्बन्धी निर्देशन तथा परिपत्रहरूको पूर्ण पालना गरिएको छ।