एसवाई प्यानलकाे खुद नाफा ५ गुणाभन्दा बढी बढ्याे

Nov 16, 2026 01:34 PM Merolagani



एसवाई प्यानल नेपाल लिमिटेड (SYPNL) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य वृद्धि भएकाे देखाएको छ।

प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले २ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीको खुद नाफा ३९ लाख ६४ हजार रुपैयाँ मात्र रहेको थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा ४३२.६१ प्रतिशत (५ गुणाभन्दा बढी) को उच्च वृद्धि देखिएको छ।

बिक्री आम्दानीमा भएको सुदृढ विस्तारसँगै प्रशासनिक तथा बिक्री वितरण खर्चमा गरिएको प्रभावकारी नियन्त्रणले कम्पनीको नाफालाई यो उचाइमा पुर्‍याउन मुख्य भूमिका खेलेको छ।

समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक बिक्री आम्दानी २३.६२ प्रतिशतले बढेर १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १५ करोड ७० लाख रुपैयाँ थियो। बिक्री वृद्धिसँगै कुल मुनाफा ६ करोड २५ लाख रुपैयाँ कायम भएको छ। 

कम्पनीले आफ्नो प्रशासनिक खर्चलाई गत वर्षको २ करोड ३० लाख रुपैयाँबाट घटाएर ८१ लाख ५३ हजार रुपैयाँमा र बिक्री वितरण खर्चलाई १ करोड २२ लाख रुपैयाँबाट ८६ लाख ४४ हजार रुपैयाँमा सीमित गरेको छ। जसका कारण कम्पनीको सञ्चालन मुनाफा ३१ लाख ४२ हजार रुपैयाँबाट झन्डै साढे ८ गुणा बढेर २ करोड ६४ लाख ८८ हजार रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन तथा अल्पकालीन ऋण शून्यप्रायः रहेकाले कम्पनीको वित्तीय खर्च जम्मा १४ हजार ४२६ रुपैयाँ मात्र रहेको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३० करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा १७ करोड ३७ लाख रुपैयाँ सञ्चित रहेको छ, जसले कुल इक्विटीलाई १ अर्ब ४८ करोड १८ लाख रुपैयाँभन्दा माथि पुर्‍याएको छ।

वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी गत वर्षको २ रुपैयाँ २ पैसाबाट उक्लिएर ६ रुपैयाँ ४६ पैसा कायम भएको छ। यसैगरी, कम्पनीको तरलता अनुपात ६.६ गुणा को अत्यन्त सबल विन्दुमा रहेको छ इक्विटीमा प्रतिफल ५.७८ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल ४.७४ प्रतिशत रहेको छ।

कम्पनीले प्रिफ्याब्रिकेटेड निर्माण सामग्रीको आपूर्ति शृङ्खला सुदृढ पार्न र आयातित uPVC उत्पादनहरूसँग प्रतिस्पर्धा गर्न सहायक कम्पनी एसवाई युपीभीसी प्रोफाइल प्रा.लि. मा आईपीओबाट संकलित रकममध्ये ३९ करोड रुपैयाँ इक्विटी लगानी गरेको छ। उक्त नयाँ उद्योग व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम चरणमा पुगेको र यसले दीर्घकालीन रूपमा कम्पनीको बिक्री मात्रा तथा प्रतिशेयर आम्दानीमा अझ ठूलो योगदान पुर्‍याउने व्यवस्थापनको विश्वास छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।