आइतबार क्यापिटल परिसरमा साधारण शेयर बाँडफाँड गरिएको हो । गत भदौ ५ गते आइतबारबाट सर्वसाधारणका लागि शेयर निष्कासन गरेको कम्पनीले ५९ औं दिनमा शेयर बाँडफाँड गरेको हो ।
अधिकतम ४ लाख रुपैंयासम्मको आवेदन संकलन गरेको कम्पनीको शेयरमा २ लाख ५५ हजार रुपैंयासम्मका आवेदकलाई गोलाप्रथाबाट १० कित्ता शेयर बितरण गरिएको छ । त्यसभन्दा माथिका आवेदकहरुले माग गरेको शुन्य दशमलव ३५ प्रतिशत शेयर मात्र पाएका छन् । यस आधारमा ४ लाख रुपैंयाका आवेदकले मुस्किलले १४ कित्ता शेयर मात्र पाएका छन् ।
लघुवित्तले एक सय रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । निष्काशन भएको पहिलो दिन नै २० गुणा बढीको आवेदन परेको लघुवित्तमा निष्काशन बन्द हुँदा ८ अर्ब २८ करोड ४५ लाख रुपैंयाको आवेदन परेको हो । लघुवित्तको साधारण शेयरमा परेको यो आवेदन २ सय ७ गुणाभन्दा बढी थियो । यसै अनुपातमा बाँडफाँडका दौरान लगानीकर्ताले न्युन मात्रामा शेयर पाएका हुन् ।
सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । निष्काशित ४ लाख कित्ता साधारण शेयरमध्ये ८ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँड भैसकेको छ । बाँकी रहेको तीन लाख ७२ हजार कित्ता शेयर मात्र सर्वसाधारणलाई बाँडफाँड गरिएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटलले दुई लाख कित्ता शेयरको प्रत्याभूति गरी सकेको छ ।
शेयर बाँडफाँड गरिएको ५ कार्यदिनदेखि शेयर नपरेको पैसा फिर्ता गर्न थालिने क्यापिटलले जनाएको छ । आवेदकहरुले आफुले शेयर आवेदन गरेका स्थानहरु एनआइबिएल क्यापिटल लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु, आरएसडिसी लघुवित्तको कार्यालय लगायतका स्थानमा सम्पर्क राख्नु पर्नेछ । सिधै बैंक खातामा शेयर नपरेको पैसा जम्मा गर्ने बैंकहरुको सूची तयार हुन बाँकी छ ।
आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रिय स्तरको ‘थोक लघुकर्जा’ प्रदायक वित्तीय संस्था हो ।
रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले २०७० भदौं २६ गते बुधवार देखी आफ्नो कारोबारको शुभारम्भ गरेको हो । संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १० करोड रुपैया रहेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।
राष्ट्र बैङ्कले थोक कर्जा प्रदान गर्ने लघुवित्त संस्थाहरुले २०७५ असार मसान्तसम्ममा न्यूनतम चुक्तापूँजी ६० करोड रुपैयाँ पुर्याउँनु पर्ने निर्देशन दिएको सन्दर्भमा १० करोडको पूँजीलाई कम्पनीले ६० करोड बनाउनु पर्ने हुन्छ ।
आरएसडिसी लघुवित्तमा ग्रामीण स्वावलम्बन विकास केन्द्र र लुम्विनी बैंकको मुख्य लगानी रहेको छ भने विभिन्न ४० भन्दा बढी जिल्लाका १ सय ७२ जना व्यक्ति समेत यसका प्रवद्र्धक रहेका छन् । बुटवलमा केन्द्रिय कार्यालय रहेको यो संस्थाले आयआर्जन र रोजगारी र्सिजना गरि आर्थिक विपन्नता र पछौटेपन कम गर्नमा आफ्नो लगानी केन्द्रित गर्दै आएको छ ।