नयाँ स्टक एक्सचेञ्जको हाउगुजी चलाउनु पहिले नेप्सेलाई सम्पन्न बनाउनु पर्दैन ?

Nov 26, 2017 Merolagani

केही समय अघि सुरु भएको नयाँ स्टक एक्सचेञ्ज खोल्ने विषय अहिले चर्चामा छ । अन्तर्राष्ट्रिय बजारमा स्टक एक्सचेञ्ज मर्जरको अभ्यास भर्इरहँदा हामीकहाँ नयाँ स्टक एक्सचेञ्ज जन्माउने विषयको चर्चा चुलिएको हो । तर नयाँ स्टकको चर्चा गर्दा अहिलेको एक्सचेञ्जलाई कुन अवस्थामा राख्ने भन्नेमा बहस भएको देखिँदैन ।

सरकारी स्वामित्वमा अहिले सञ्चालनमा रहेका अधिकांस संस्थान तथा सोही प्रकृतिका नीजि प्रतिष्ठानलाई तुलनात्मक रुपमा हेर्दा सबैकाे वास्तविकता थाहा पाउन सकिन्छ । अहिले कै अवस्थामा नयाँ स्टक एक्सचेञ्ज ल्याउने हो भने भने सरकारको पूर्ण स्वामित्व रहेको नेपाल स्टक एक्सचेञ्जको हालत पनि माथि उल्लेखित सरकारी स्वामित्वका कम्पनी तथा प्रतिष्ठानको भन्दा आशलाग्दो हुने छैन ।

राष्ट्र बैंक र अर्थमन्त्रालयको स्वामित्वलाई बिनिवेश गर्ने चर्चा पनि यस अघि नभएको हैन । तर एकाएक त्यो विषयलाई थाती राखेर नेप्सेमा रहेको सरकारी स्वामित्वमा कुनै परिवर्तन नगर्ने देखिएको हो । नेप्सेलाई अहिलेकै अवस्थामा छाडेर नयाँ स्टक एक्सचेञ्ज ल्याउने प्रकृयामा सबै निकाय अघि बढेका छन् । राष्ट्र बैंक भने याे बिषयमा उति सकरात्मक बन्न सकेको छैन । आफ्नो लगानी रहेको नेप्सेको अवस्था कमजोर हुने भएकाले राष्ट्र बैंक नयाँ स्टक एक्सचेञ्जको पक्षमा नहुनु स्वभाविक हो ।

नेपाल धितोपत्र बोर्डले दोस्रो स्टक एक्सचेञ्ज स्थापना गर्ने बाटो खुल्ला गरिदिन अर्थ मन्त्रालयलाई पत्र पठाए पछि यो विषय झनै चर्चामा पुगेको हो । अर्थ मन्त्रालयले पनि बोर्डको पत्रको आधारमा सम्बन्धित पक्षहरुसँग छलफल चलाएको छ । मन्त्रालयको छलफल तथा अन्य पक्षहरुले नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्ने सम्बन्धमा मिश्रित धारणा बाहिर ल्याउन थालेका छन् ।

नेप्सेलाई प्रतिष्पर्धी बनाउनु पर्दैन ?

कुरा नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्नु हुँदैन भन्ने हैन । केही व्यक्तिको व्यवशायिक योजनाका नाममा आम लगानीकर्ताको सम्पत्ति के हुन्छ भन्नेमा ध्यान दिनै पर्छ । भएको एक्सचेञ्जलाई समयसापेक्ष सञ्चालन हुन सक्ने अवस्थामा नपुर्याइ नयाँ स्टक एक्सचेञ्ज ल्याइने हाउगुजीले शंका गर्ने ठाउँ उत्पन्न गरिदएको छ ।

नेप्सेमा सरकारको पूर्ण नियन्त्रण हुनु, कुनै सामान्य विषयमा निर्णय गर्न महिनौं समय लाग्नु, कमजोर पूर्वाधार हुनु लगायतका कारणले नेप्सेलाई सम्पन्न हुन दिएको छैन । नेप्सेलाई नीजिकरण नगरी नयाँ स्टक एक्सचेञ्जसँग प्रतिष्पर्धा पनि गर्न सक्दैन । यस अर्थमा नयाँ स्टक एक्सचेञ्जको जन्म गराइए एउटाको मुख बन्द गरेर खाने प्रतियोगितामा २ प्रतिष्पर्धीलाई सहभागी गराउनु सरह हुनेछ । यस्तो खेल हेर्ने जो कोहीले पनि सहजै बुझ्न सक्छ कि नियोजित रुपमा एउटालाई जिताउने अनि अर्कोलाई बसाल्ने नियत हाबी भएको हुनेछ ।

नेप्सेलाई सरकारी नियन्त्रणमा राखिरहनुले अहिले पनि पूँजी बजारको अपेक्षित विकास हुन सकिरहेको छैन ।  नेप्सेमा सरकारी हिस्सा धेरै रहनुले अहिलेकाे बजारलार्इ आधुनिक बनाउन लामो समय लागेको विदितै छ । यस्तो अवस्थामा नयाँ स्टक एक्सचेञ् जन्मिएको खण्डमा  सरकार र राष्ट्र बैंककाे लगानी जाेखिममा पर्नसक्छ । कारण नीजि लगानीमा आउने स्टक एक्सचेञ्जसँग नेप्सेले कुनै पनि आधारमा प्रतिष्पर्धा गर्न सक्ने छैन ।

भारतमा सञ्चालनमा रहेका २ वटा स्टक एस्चेञ्जमा संस्थागत तथा व्यक्तिगत लगानी छ । सबै पक्षको लगानीमा एक्सचेञ्ज सञ्चालन भएका कारण नै समयानुकूल रुपमा भारतको पूँजी बजारको विकास हुँदै आएको छ । अन्य विकसित मुलुकले अनुशरण गर्ने प्रविधि तथा पुर्वाधार तत्काल आत्मसाथ गर्न सक्नुले नै बम्बई स्टक एक्सचेञ्ज र नेशनलस्टक एक्सचेञ्ज लोकप्रिय छन् । यस्तो हुनुको आधार नीजि क्षेत्रलाई सहभागी गराउनु नै हो । दुई स्टक एक्सचेञ्जका बिचमा हुने प्रतिष्पर्धाले नै त्यहाँको बजार तिब्र गतिमा अघि बढिरहेको छ ।

बंगलादेशको सन्दर्भमा पनि भारतको जस्तो २ वटा स्टक एक्सचेञ्जका बिचमा प्रतिष्पर्धा छ । ढाका स्टक एक्सचेञ्ज र चिटगाउँ स्टक एक्सचेञ्जका बिचमा चल्ने तिब्र प्रतिष्पर्धाले त्यहाँको पूँजीबजार विकासको क्रममा छ ।

हामीकहाँ भने भएको नेप्सेलाई क्षमतावान बनाउनेमा नभई अर्को स्टक एक्सचेञ्ज ल्याउने चर्चा चुलिएको छ । यसले बजारको विकास नभई अझै दशकसम्म अलमलमा पार्ने कुरामा दुई मत हुन सक्दैन । नेप्सेलाई स्वतन्त्र अनि सम्पन्न बनाएर अर्को प्रतिष्पर्धी भित्र्याउने हो भने अहिलेको बजार तिब्र रुपमा विकास हुनेछ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।