उत्पादन क्षेत्रको उपस्थितिको न्यूनताले शेयर बजारले स्वभाविक गति लिन सकेको छैन । अत: नीजीक्षेत्रको ठूला ठूला कम्पनीलाई प्रवेशको लागि बाटो सहज गर्नु जरुरी छ जसको अभ्यास भैसकेको छ ।
त्यसैको फलस्वरुप शिवम् सिमेन्टले ५२ कराेड ८० लाख रूपैयाँ बराबरकाे ५२ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिई सकेको छ जुन शेयर बजारको लागि एउटा सुखद कुरा हो । शिवम् सिमेन्टले यसरी निष्काशन गर्ने ५२ लाख ८० हजार कित्ता सेयरमध्ये सर्वसाधारणका लागि ४४ लाख कित्ता तथा स्थानीय बासिन्दाका लागि अाठ लाख ८० हजार कित्ता रहेकाे छ ।
अर्थमन्त्रीले प्रष्ट रुपमा भन्नु भएको छ कि समग्रमा पूँजी बजार मार्फत् ठूलो परिमाणको स्व:लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यक्ता देखिएको छ । सरकारले आवश्यक्ता देख्नु भनेकै भविष्यमा त्यसमा गरिनु पर्ने सुधारहरु गर्दै जानेछ भन्ने हो ।
स्वेतपत्र बर्तमानको अवस्थाको र त्यसको लागि अवलम्बन गर्नु पर्ने सम्भावित नीतिको चित्रण गरिएको दस्तावेज हो । यसमा म यो गर्छु उ गर्छु भनेर लामो फेहरिस्तका कुरा उल्लेख गर्ने होईन त्यो त सरकारको अागामी बजेट तथा राष्ट्र बैंकको अागामी आर्थिक वर्षको मौद्रीक नीति तथा अन्य नियामक निकायले प्रस्तुत गर्ने नीतिमा समावेश हुने नै छ ।
त्यसैगरी स्वेतपत्रमा संस्थागत लगानीकर्ताको न्यूनता, तरलताको अभावले बढेको ब्याजदर, शेयरको आपूर्तिमा भएको बृद्धि, यथार्थ सूचनाको सम्प्रेषणको कमी, पारदर्शीताको कमी तथा साना लगानीकर्ताहरुमा शेयर लगानी सम्बन्धी ज्ञानको कमीले पूँजीबजार कारोबारको मूल्य दर्शाउने नेप्से सूचकाङ्क अस्थिर देखिएको छ भन्ने कुरा पनि प्रष्ट रुपमा आएको छ ।
अर्थात् लगानीकर्ताले अहिले उठाएका समस्याहरु स्वेतपत्रमा समावेश भएको कारणले सरकार यस प्रति सम्बेदनशील छ भन्ने कुरा पुष्टि हुन्छ र सरकार संवेदनशील हुनु भनेको भविष्यमा यस सन्दर्भमा उपयुक्त कदम सरकारबाट चालिनेछ भन्ने बुझ्नु आवश्यक छ ।
तर शेयर माफिया तथा शेयर मूल्य अझै घटाएर सोझा लगानीकर्तालाई बिक्री गर्न दुष्रेरित गर्ने ठूला लगानीकर्ताले काठमाण्डौं केन्द्रीत ५० वटा ब्रोकर अफिसमा आफ्ना लगानीकर्ता मार्फत लौ ! अर्थमन्त्रीले त शेयर बजारलाई फेरि सतही भने, शेयर आपूर्ती बढी भएकोले मूल्य प्रभावित भएको हो भने भन्ने जस्ता नकारात्मक प्रचार गरेर मूल्य तल झार्ने प्रयास गरेमा अचम्म मान्नुपर्ने अवस्था रहँदैन ।
यहाँ बुझ्नुपर्ने एउटा तथ्य के हो भने लगानीकर्ताको लगानी निर्णयमा विभिन्न मनोबैज्ञानिक तत्वले असर गरेको हुन्छ । ती मध्ये Herding behavior महत्वपूर्ण हो । नेतालाई पछ्याउँ भन्ने मानसिकतालाई Herding behavior भनिन्छ ।
जस्तो की भेंडाको बथानमा नेता भेडा जता जान्छ अन्य सबै भेडा त्यतै जान्छन् चाहे त्यो भीरबाट हाम फालेर ज्यान गुमाउनुपर्ने अवस्था नै किन नहोस् । यो भनेको भीडलाई पछ्याउने कुनै ब्यक्तिको प्रवृति हो किनकी भीड अथवा समूहले गर्ने निर्णय सधै ठीक हुन्छ भन्ने मान्यताले उसमा बलियो सँग जरो गाडेको हुन्छ । यस्ता ब्यक्तीको लगानी निर्णय भीडले खरिद/बिक्रि गर्ने निर्णयमा आधारित हुन्छ जसको फलस्वरुप Speculative bubble को वातावरण सृजना भई स्टक मार्केट स्वभाविक गतिमा अगाडी बढ्न सकिरहेको हुँदैन ।
यहाँ जान्नुपर्ने कुरा के हो भने भीड जहिले पनि गलत हुन्छ र यसले बजारलाई अत्यधिक चलायमा गराउन मद्दत गर्छ । प्राय: जसो अध्ययनले Herding behavior को लगानी निर्णयमा महत्वपूर्ण प्रभाव ( Significant Impact ) परेको देखाएको छ तथापी मलेशिया जस्तो कतिपय विकसित मूलुकमा हल्लाको प्रभाव नपरेको तथ्य देखाएको हुनाले हमीले पनि हल्लाको सत्यता माथि विचारै नगरी प्रतिक्रिया ब्यक्त गर्ने बानीमा सुधार गर्नुपर्छ अनि मात्र बजार स्वभाविक गतिमा विकसित हुँदै जान्छ ।
सरकारले शेयर बजार सुधारको लागि धेरै कदम चाल्नुपर्ने अवस्थाको संकेत गरिसकेको र ती सबै एकै रातमा छु मन्तर गरेर हुने कुरा होइन केही समय त लाग्छ नै । अत: लगानीकर्ताहरुले केही धैर्य गरेर विवेकशील भई शेयर खरिद/बिक्री तथा होल्ड गरेर राख्ने नीति लिएमा र अनावश्यक हल्ला प्रति आफ्नो प्रतिक्रिया तुरन्त ब्यक्त नगरेमा शेयर माफियाको अभिष्ट पुरा हुन सक्दैन । मैले यसो भन्नुको तात्पर्य सोझा लगानीकर्तालाई केही भए पनि सुसूचित गर्नु हो । आगे तपाईको मर्जी ।
भट्टराई अर्थ मन्त्रालयका उपसचिव हुन् ।