१९ विकास बैंकले वित्तीय विवरण सार्वजनिक गर्दा कुन के मा देखियो अब्बल ?

Jul 31, 2018 Merolagani

-तीर्थराज पाैड्याल ।
साउन महिनाको पन्ध्र दिन बित्दा १९ विकास बैंकको गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये मुक्तिनाथ विकास बैंक तुलना गरिएकाे १४ मध्ये सात सूचाङ्कमा अब्बल देखिएको छ भने अन्य विकास बैंकमा मिश्रित नतिजा देखिएको छ । हेर्नुहाेस् १४ सूचाङ्कमा कुन बैंककाे अवस्था कस्ताे छ ।

चुक्ता पूँजी

चुक्ता पूँजीको आधारमा गत आर्थिक बर्षको अन्त्यसम्ममा गण्डकी विकास बैंक अब्बल देखिएको छ । गण्डकीको सबैभन्दा धेरै दुई अर्ब ७५ करोड चुक्ता पूँजी रहेको छ ।

अन्य आठ विकास बैंकहरु क्रमश महालक्ष्मी, ज्योति, मुक्तिनाथ, गरिमा, देव, ओम, सांग्रीला र कामना सेवा विकास बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

दश विकास बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोडभन्दा कम रहेको छ । लुम्बिनी विकास बैंकको दुई अर्ब २० करोड, शाइन रेसुङ्गाको एक अर्ब ३७ करोड रहेको छ ।

मिसन, सहयोगी, सप्तकोशी, कञ्चन, कन्काई, मितेरी, हाम्रो, र भार्गव विकास बैंकको चुक्ता पूँजी ५० करोड नजिक रहेको छ ।

खुद नाफा

खुद नाफाको आधारमा मुक्तिनाथ विकास बैंक अब्बल देखिएको छ । बैंकले आर्थिक बर्ष २०७४/७५ मा ५७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वित्तीय विवरण प्रकाशित गरेका १९ विकास बैंकमध्ये सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा कम ३ करोड ७१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

महालक्ष्मी र गण्डकी विकास बैंकले आफ्नो खुद नाफा ५० करोड नघाएका छन् भने गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र ओम डेभलपमेन्टको खुद नाफा ४० करोड माथि रहेको छ ।

कामना सेवा, सांग्रीला, शाइन रेसुङ्गा र ज्योति विकास बैंकको नाफा ३० देखि ४० करोड बीचमा रहेका छन् । देव विकास बैंकले साढे २७ करोड खुद नाफा गर्दा सहयोगी विकास बैंकले ११ करोड ९५ लाख र मितेरी डेभलपमेन्ट बैंकले ११ करोड ३० लाख खुद नाफा आर्जन गरेका छन् । बाँकी रहेका सबै बैंकको खुद नाफा १० करोड तल छ ।

प्रतिसेयर आम्दानी

गत आर्थिक बर्षमा कमाएको खुद नाफाको आधारमा प्रतिसेयर आम्दानीमा ५१ करोड चुक्ता पूँजी रहेको सहयोगी विकास बैंक अब्बल देखिएको छ । राष्ट्रिय स्तरका विकास बैंकको चुक्ता पूँजी धेरै रहेका कारण प्रतिसेयर आम्दानीमा अब्बल रहन सकेनन् ।

चार विकास बैंकहरु शाइन रेसुङ्गा, मितेरी, मुक्तिनाथ, महालक्ष्मीको इपिएस २० रुपैयाँ बढी छ । ११ विकास बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँभन्दा बढी २० रुपैयाँभन्दा कम रहेको छ ।

तीन विकास बैंकको इपिएस १० रुपैयाँभन्दा कम रहेको छ ।

मूल्य आम्दानी अनुपात

गत आर्थिक बर्षमा वित्तीय विवरण निकालेका १९ वटा विकास बैंकहरुको मूल्य आम्दानी अनुपात ८ देखि १७ गुणासम्म रहेको छ । बैंकमध्ये मुक्तिनाथ विकास बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा बढी अर्थात १७.०७ रहेको छ । लुम्बिनी विकास बैंकको सबैभन्दा कम ८.१५ गुणा रहेको छ ।

१६ विकास बैंकको मूल्य आम्दानी अनुपात १० गुणाभन्दा बढी रहेका छ । १० गुणाभन्दा कम मूल्य आम्दानी अनुपात रहेको विकास बैंकहरु महालक्ष्मी सहयोगी र लुम्बिनी विकास बैंक रहेका छन् ।

सेयर बजारमा उच्च प्रतिफल दिने र मूल्य आम्दानी अनुपात कम रहेका कम्पनी लगानीका लागि उत्तम मानिन्छन् ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

निक्षेप संकलन र कर्जा परिचालन

गत आर्थिक बर्षमा निक्षेप संकलन र कर्जा परिचालनमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा परेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा पछाडि रहेको छ ।

मुक्तिनाथले ३० अर्ब ३५ करोड निक्षेप संकलन गरेर २५ अर्ब २६ करोड कर्जा परिचालन गरेको छ । सप्तकोशीले जम्मा एक अर्ब ५५ करोड निक्षेप संकलन गरेर एक अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

मिसन, कञ्चन, मितेरी, सहयोगी, भार्गव, कन्काई र हाम्रो विकास बैंकको निक्षेप संकलन र कर्जा परिचालन दुबै ५ अर्बभन्दा कम रहेको छ ।

कर्जा निक्षेप अनुपात

कर्जा निक्षेप अनुपातका आधारमा १९ विकास बैंकमध्ये सबैभन्दा बढी गरिमा विकास बैंकको रहेको छ । गरिमाको ७६.३३ प्रतिशत कर्जा निक्षेप अनुपात रहँदा सबैभन्दा कम रहेकाे सप्तकोशी डेभलपमेन्ट बैंकको ६४.३० प्रतिशत छ ।

मुक्तिनाथ, गण्डकी, लुम्बिनी, ओम, ज्योति, सांग्रिला, कामना सेवा, देव, शाईन रेसुङ्गा, मिसन, र कञ्चन डेलपमेन्ट बैंकको कर्जा निक्षेप अनुपात ७० भन्दा बढी ७५ प्रतिशतभन्दा कम रहेको छ । बाँकी विकास बैंकको ७० भन्दा कम छ ।

खराब कर्जा अनुपात

बैंकहरुले प्रवाह गरेको कर्जामध्ये भाका नाघेको कर्जा धेरै हुने बैंकमा महालक्ष्मी अग्रस्थानमा देखिएको छ । बैंकको खराब कर्जा ३.८८ प्रतिशत रहेको छ भने मुक्तिनाथ विकास बैंकको यस्तो अनुपात शून्य रहेको छ ।

लुम्बिनी विकास बैंकको खराब कर्जा २.७५ प्रतिशत र देवको १.९२ प्रतिशत रहेको छ । बाँकी सबै विकास बैंकको खराब कर्जा शून्य प्रतिशतभन्दा कम रहेको छ ।

निक्षेप लागत र आधार दर

वित्तीय विवरण निकालेका १९ विकास बैंकहरुको निक्षेप लागत औसतमा ९ प्रतिशत र आधार दर साढे १२ प्रतिशत रहेको देखिन्छ ।

मितेरी डेभलपमेन्ट बैंकको निक्षेप लागत र आधार ब्याजदर दुबै उच्च रहेको छ । मितेरीको निक्षेप लागत ९.८४ र आधार दर १५.२७ प्रतिशत रहेको छ । शाईन रेसुङ्गाको सबैभन्दा कम निक्षेप लागत ७.७८ प्रतिशत र आधार दर ११.२० प्रतिशत रहेको छ ।

गरिमा विकास बैंक, कञ्चन डेभलपमेन्ट, भार्गव विकास बैंक, कन्काई विकास बै.क, हाम्रो विकास बैंक र सप्तकोशी विकास बैंकको निक्षेप लागत ९ प्रतिशत भन्दा कम रहेको छ ।

चार विकास बैंकहरु हाम्रो विकास बैंक, कन्काई विकास बैंक, मिसन डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकको आधार दर क्रशम १३ प्रतिशत बढी रहेको छ ।

 

जगेडा कोष र प्रतिसेयर नेटवर्थ

१९ विकास बैंकमध्ये जगेडा कोषमा महालक्ष्मी विकास बैंक र प्रतिसेयर नेटवर्थमा मुक्तिनाथ विकास बैंक अगाडि रहेको छ । महालक्ष्मीको जगेडा कोषमा एक अर्ब ४३ करोड रुपैयाँ रहेको छ भने ९४ करोड ७९ लाख जगेडा रहेको मुक्तिनाथको १५४ रुपैयाँ ३० पैसा प्रतिसेयर नेटवर्थ कायम भएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक जगेडा र प्रतिसेयर नेटवर्थमा सबैभन्दा कमजोर रहेको छ । बैंकको जगेडा कोषमा पाँच करोड ८७ लाख र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५४ पैसा रहेको छ ।

लुम्बिनी र गण्डकी विकास बैंकको जगेडा एक अर्ब रुपैयाँ माथि रहँदा सहयोगी, मितेरी कञ्चन, मिसन, भार्गव, हाम्रो र कन्काई विकास बैंकको जगेडा २५ करोडभन्दा कम रहेको छ ।

प्रतिसेयर नेटवर्थ १३० रुपैयाँभन्दा बढी रहेका विकास बैंकहरु क्रमश: ओम, मुक्तिनाथ, गण्डकी, मितेरी, शाईन रेसुङ्गा, सहयोगी, लुम्बिनी विकास बैंक रहेका छन् ।

सञ्चालन नाफा

विकास बैंकहरुमध्ये सबैभन्दा धेरै सञ्चालन नाफा कमाउने बैंक पनि मुक्तिनाथ विकास बैंक बनेको छ । बैंकले ८८ करोड ७८ लाख सञ्चालन नाफा गरेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सञ्चालन नाफा सबैभन्दा कम २ करोड ५४ लाख मात्र रहेको छ ।

गत बर्ष १९ विकास बैंकमध्ये सांग्रीला डेभलपमेन्ट बैंक, ओम, गरिमा, र गण्डकी विकास बैंकले ५० करोड बढी सञ्चालन नाफा कमाएका छन् । पाँच विकास बैंकहरु लुम्बिनी, कामना सेवा, देव, ज्योति र शाईन रेसुङ्गाले ४० करोड माथि सञ्चालन आम्दानी गरेका छन् ।

कञ्चन, हाम्रो भार्गव र कन्काई विकास बैंकको सञ्चालन नाफा ९ करोडभन्दा कम रहेको छ ।

सेयरमूल्यको आधारमा कुन बैंकको छ उच्च ?

वित्तीय विवरण प्रकाशन गरेका विकास बैंकमध्ये साउन १५ गते मंगबार कारोबार भएको सेयरमूल्यको आधारमा मुक्तिनाथ विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै प्रतिकित्ता ३७९ रुपैयाँ रहेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा कम ११८ रुपैयाँ रहेको छ ।

शाईन रेसुङ्गाको सेयरमूल्य प्रतिकित्ता २७९ रुपैयाँ, मितेरीको २७५ र कञ्चन डेभलपमेन्ट बैंकको प्रतिकित्ता २०० रुपैयाँ रहेको छ । अन्य ६ विकास बैंकहरु मिसन, ओम, महालक्ष्मी, गरिमा, सहयोगी, गण्डकी विकास बैंकको सेयरमूल्य १७० रुपैयाँभन्दा बढी १९३ रुपैयाँ भन्दा कम रहेको छ ।

मंगलबारको प्रतिकित्ता सेयरमूल्यको आधारमा १३० रुपैयाँभन्दा कम कन्काई विकास बैंकको सेयरमूल्य १२८ रुपैयाँ, भार्गव विकास बैंकको १२९ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा कम ११८ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।