तामाकोशीको घाटाको शेयर भर्न सास्ती खेप्दै दोलखाबासी, मरिहत्ते गर्नु बेकार !

Aug 09, 2018 Merolagani

माथिल्लो तामाकोशी आयोजनाले खुलाएको आईपिओ भर्न राजधानीमा बसोबास गर्दे आएका दोलखाबासीले निकै सास्ती खेप्नु परेको छ । राजधानीमा ११ संकलन केन्द्रबाट मात्र आवेदन संकलन गरिएकाले आईपिओ फारम बुझाउन पुरै दिन लाग्ने गरेको छ ।

आयोजनाले दोलखाबासीका लागि १०० रुपैयाँ अंकित दरका एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता आईपिओ साउन १६ गतेदेखि खुला गरेको थियो ।

जसमा काठमाण्डौं उपत्यकाका आवेदन संकलन केन्द्रहरुबाट साउन १६ देखि २५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । दोलखा जिल्लाबाट भने साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

काठमाण्डौंबाट सनराईज बैंकका एघार शाखाबाट आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । दश दिनको समय राखेर ११ आवेदन केन्द्रबाट आवेदन संकलन गरिएपनि लगानीकर्ताहरुले आर्इपिओ भर्न सहज रुपमा पाएका छैनन् । 

पुरानै तरिकाबाट आयोजनाको आइपिओ भर्न सकिने व्यवस्था गरिँदा लगानीकर्ताले दिनभरी लार्इन लाग्नु पर्ने अवस्था आएको हो । साथै जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन । 

दोलखा जिल्लाका ईच्छुक लगानीकर्ताले तामाकाेशीकाे उक्त आईपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह-बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

लगानीकर्ता दुई रुपैयाँ ४६ पैसा घाटामा

कम्पनीले साधारण सेयर निष्काशन गर्न प्रकाशित गरेको वित्तीय विवरण अनुसार अहिले कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ता दुई रुपैयाँ ४६ पैसा घाटा व्यहोर्नुपर्ने उल्लेख छ ।

विवरणका आधारमा हेर्दा एक सय रुपैयाँ लगानी गर्ने लगानीकर्ताको सेयरको मूल्य ९७ रुपैयाँ ५४ पैसामा झरिसकेको छ । 

लागत उच्च हुँदा चालू आर्थिक बर्ष २०७५/ ७६ को अन्त्यसम्म पनि माथिल्लो तामाकोशीको सेयरमा लगानी गर्ने लगानीकर्ताले प्रतिसेयर  ३० पैसा घाटा व्यवहोनु पर्नेछ । चालू आवको अन्यसम्म प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ४२ पैसा मात्र कायम हुने प्रक्षेपण कम्पनी कै छ । 

आर्थिक बर्ष ७६/७७ मा प्रतिसेयर ३८ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण कम्पनीले गरेपनि त्यसपछिका बर्षमा फेरी घटेर २० रुपैयाँमा झर्ने प्रक्षेपण कम्पनीले नै गरेको छ ।

शेयर निष्काशन नगर्दै घाटामा रहेको कम्पनीमा आइपिओ भर्न मरिहत्ते गरिरहनु पर्ने अवस्था देखिँदैन ।

 

अर्कोतर्फ स्थानीयबासीले उक्त आईपिओ तीनबर्षसम्म बिक्री गर्न पाउँदैनन् । तीन बर्षपछि एकसाथ ठूलो परिमाणको शेयर फुकुवा हुने हुँदा पनि त्यसले कम्पनीको भाउ घटाउनमा नै मद्दत पुग्दछ ।

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना तामाकोशी जलविद्युत आयोजनाको लागत निर्माण अवधि लम्बिएसँगै प्रतिमेगावाट पाँच करोड रूपैयाँले बढ्ने भएको छ । २०६७ सालमा निर्माण सुरु गर्दा प्रतिमेगावाट ९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण सम्पन्न हुँदा १४ करोड २५ लाख माथि पुग्ने देखिएको हो ।

४५६ मेगावाट क्षमताको यो आयोजनाको लागत सुरुमा ब्याज बाहेक ३५ अर्ब २९ करोड अनुमान गरिएको थियो । डलर र यूरोमा गरिएको सम्झौता निर्माण अवधि लम्बिँदा विदेशी विनिमय दरमा भएको नोक्सानी, मूल्य समायोजन, ब्याज, र प्रशासनिक खर्चपछि  सन् २०१७ डिसेम्बरसम्म ब्याज बाहेक अायाेजनाकाे लागत ४९ अर्ब २९ करोड लागत पुगिसकेकाे तामाकोशी हाइड्रोपावर लिमिटेडको दशौं वाषिर्क प्रतिवेदनमा उल्लेख छ ।

ब्याज सहित गणना गर्दा निर्माण सम्पन्न हुँदा आयोजनाको लागत ६५ अर्ब माथि पुग्ने देखिन्छ । अनुमानित लागत भन्दा दोब्बर बढी लागत लाग्ने भएपछि यसमा लगानी गर्ने लगानीकर्ताले प्रतिफल पाउन पनि लामो समय नै कुर्नुपर्ने हुन्छ ।

जलविद्युत कम्पनीमा लागत बढ्दा लगानीकर्ताले लामो समय लाभांश खुवाउनसक्ने हैसियत बनाउन सक्दैनन् । माथिल्लो तामाकोशीको हकमा पनि लागत बढ्दा लगानीकर्तामा कम्पनीप्रति आकर्षण घट्ने निश्चित छ ।

 सरकारी आयोजना भन्दैमा  मरिहत्ते गर्नुपर्ने अवस्था देखिँदैन् 

आयोजनाले दोलखाबासीलाई न्यूनतम ३० कित्ता देखि अधिकतम तीन सय कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । आयोजनाको अहिलेको स्थिति हेर्दा उक्त शेयरमा महित्ते गर्नु फाइदा जनक देखिदैन ।

नेपालको पानी जनताको लगानी, घर घरमा विजुली जन जनमा शेयर भन्ने सरकारी नारालाई सफल तुल्याउन तामाकोशीको आइपिओमा लगानीकर्ताको सहभागित हुनु राम्रो हो । तर शेयरमा लगानी गरेर केही आम्दानी गर्छु भन्नेहरुका लागि भने सरकारी आयोजना हो भन्दैमा शेयर भर्न मरिहत्ते गर्नुपर्ने अवस्था देखिँदैन् ।

अहिले दोस्रो बजारमै आइपिओको भाउमा तुरुन्तै प्रतिफल दिनसक्ने हैसियतका कम्पनीको शेयर छानी छानी किन्न पाउने अवस्था रहेको छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।