शेयर बजारमा उछाल आउँदा कुन वाणिज्य बैंकको कति बढ्यो शेयर मूल्य ?

Aug 15, 2018 Merolagani



पछिल्ला दिन दिनदेखि बढेको शेयरबजारमा बुधबार झण्डै २९ अङ्कले उकालो लागेर १२०९.७१ अङ्कमा पुगेको छ । शेयर बजारमा उछाल आउदा वाणिज्य बैंकहरुको सूचक समेत झण्डै २५ अंकले उकालो लागेर सर्वाधिक कारोबार भएको छ । बुधबारको बजारमा कारोबार भएका दुई बाहेक सबै वाणिज्य बैंकको शेयर मूल्य बढेको छ ।

गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका २७ वाणिज्य बैंकहरुमध्ये चार बैंकले मात्र नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका थिए ।

बजारमा उछाल आउँदा नाफा घट्ने कम्पनीको समेत शेयर मूल्य बढेको छ ।

यसदिन कुल ३६ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा वाणिज्य बैंकहरुको मात्रै १५ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

अधिकांश बैंकहरुले प्रगतिउन्मुख वित्तीय विवरण प्रकाशित गर्दा बैंकिङ्ग समूहमा आएको सुधारले समग्र बजारमा बढोत्तरी आएको हो। बजारमा उछाल आउनुमा कम्पनीहरुले प्रकाशित गरेका सुधारन्मुख प्रगति विवरण नै भएको लगानीकर्ता तथा ब्रोकरको बुझाई छ ।

साथै लाभांश घोषणा गर्ने क्रम सुरु भएकाले तल्लो विन्दुमा बजार पुगेका बेला बजार प्रवेश गर्ने लगानीकर्ता समेत थपिएकाले नेप्से तथा कारोबार दुवैमा सुधार आएको उनीहरुको भनाई छ ।

बुधबारको बजारमा कारोबारमा आएका दुई बाहेक सबै वाणिज्य बैंकको शेयरमूल्य बढेको छ । सबैभन्दा बढी मेगा बैंकको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ । दोस्रोमा कृषि विकास बैंकको ४.६३ प्रतिशत, तेस्रोमा स्ट्याण्डर्ड चार्टर्डको ४.१४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै सबैभन्दा कम शेयरमूल्य बढ्ने एनएमबि बैंकको ०.९४ प्रतिशतले शेयर मूल्य बढेको छ । यसदिन प्रभु बैंक र नेपाल बंगलादेश बैंकको शेयर मूल्यमा कुनै परिवर्तन आएन । दुवै बैंकले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका थिए ।

लगातार तीन दिन शेयर बजार बढ्दा समेत कुनै पनि वाणिज्य बैंकको शेयरमूल्य सबैभन्दा एक हजार माथि पुग्न सकेको छैन । बुधबारको मूल्यको आधारमा शेयर बजारमा सबैभन्दा महङ्गो शेयर नबिल बैंकको रहेको छ। नबिलको बैंकको शेयर प्रतिकित्ता ९३५ रुपैयाँ छ । त्यसपछि दोस्रो धेरै शेयरमूल्य भएको स्ट्याण्डर्ड चार्टर्डको शेयर मूल्य ७५५ रुपैयाँ रहेको छ ।

त्यस्तै एभरेष्ट बैंकको ६६२ रुपैयाँ, इन्भेष्टमेन्ट बैंकको ६३२ रुपैयाँ, हिमालयन बैंकको ५७६ रुपैयाँ, एसबिआई बैंकको शेयर मूल्य ५०४ रुपैयाँ रहेको छ । ६ वाणिज्य बैंकको शेयर मूल्य मात्रै ५०० रुपैयाँ माथि छ ।

शेयर बजारमा सबैभन्दा सस्तो शेयर सिभिल बैंकको छ । सिभिल बैंकको शेयर प्रतिकित्ता १५१ रुपैयाँ रहेको छ । जनता, मेगा , सेञ्चुरी , एनसीसी र प्रभु बैंकको शेयर मूल्य २०० रुपैयाँ भन्दा तल रहेको छ । ९ वाणिज्य बैंकको शेयरमूल्य २ सय रुपैयाँदेखि ३ सय रुपैयाँको बीचमा रहँदा ६ वाणिज्य बैंकको ३ सय देखि ४ सय रुपैयाँको बीचमा रहेको छ।

समग्रमा गत आर्थिक बर्षमा २७ वाणिज्य बैंकहरुले ४८ अर्ब ७४ करोड नाफा कमाएका छन् । जुन अघिल्लो बर्षको तुलनामा १५.५४ प्रतिशत बढी हो । समग्र बैकिङ्ग क्षेत्रको नाफामा आएको बढोत्तरी र बैंकहरुले गरेको व्यवसाय विस्तारले लगानीकर्ताको आर्कषण बढेको हो ।

अधिकांश वाणिज्य बैंकहरुले तोकिएको चुक्ता पूँजी पुर्याइसकेको अवस्थामा बैंकहरुले लाभांश के कसरी वितरण गर्छन् यसले पनि आगामी दिनमा बजारको गति निर्धारण हुने देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।