कैलाश विकास बैंकको नाफामा झिनो सुधार, जोखिम व्यवस्थापन खर्च बढ्यो

May 13, 2019 Merolagani

कैलाश विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा झिनो मात्रामा सुधार गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५२ लाख रुपैयाँ अर्थात १.३३ प्रतिशतले सुधार भएको हो ।

यस त्रैमासमा बैंकले ३९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

आम्दानीका सूचकहरुलाई राम्रो व्यवस्थापन गर्दा गर्दै बैंकले जोखिम व्यवस्थापनमा ठूलो रकम छुुट्याउदा बैंकको नाफा स्थिर रहेको हो ।

बैंकले १२ करोड २८ लाख रुपैयाँ जोखिम व्यवस्थापनको लागि छुट्याएको छ । गत वर्षको चैत मसान्तमा बैंकले तीन करोड ९४ लाख रुपैयाँ मात्र जोखिम व्यवस्थापनको लागि छुट्याएको थियो ।

बैंकको चुक्त पूँजी दुई अर्ब ५२ करोड ६ लाख रुपैयाँ छ । यस त्रैमासमा बैंकको जगेडा कोषको आकार वृद्धि भएको छ । बैंकको जगेडा कोष ९३ करोड ६ लाख रुपैयाँ बाट बढोत्तरी भएर एक अर्ब ५ करोड ८३ लाख रुपैयाँ पसगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १२ करोड ७६ लाख रुपैयाँले धेरै हो ।

चैत मसान्तसम्मा २९ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २६ अर्ब ५४ करोड एक लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिमा बैंकले ९४ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३० करोड ३६ लाख रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ६४ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निष्कृय कर्जा अनुपात ०.३५ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ९९ पैसा छ ।

 

comments powered by Disqus