बैंकको ब्यवसाय विस्तारमा सामान्य हुँदा खुद ब्याज आम्दानीमा गिरावट देखिएको छ जसले बैंकको मुनाफासँगै प्रतिशेयर आम्दानी समेत घटेको छ । यद्यपी बैंकले निक्षेप संकलन लागत, खराब कर्जा अनुपात, आधार ब्याजदर लगायतका सूचकहरुमा भने उल्लेख्य सुधार गरेको छ ।
- खुद नाफा करिब ८ करोड घट्यो, तीन महिनाको ३४ करोड ९१ लाख
सिटिजन्स बैंकको चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको तुलनामा ७ करोड ९६ लाख रुपैयाँले खुद मुनाफा घटेको छ ।
बैंकले असोज मसान्तसम्ममा ३४ करोड ९१ लाख ६९ हजार रुपैयाँले खुद नाफा आर्जन गरेको हो। गत आवको प्रथम त्रैमासमा बैंकले ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
एनएफआरएस प्रतिवेदन अनुसार २१ करोड ३ लाख ६५ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ। ३३ करोड ७७ लाख खुद नाफा आर्जन गरेकोमा नियामकीय व्यवस्था अनुरुप करिब १२ करोड ७४ लाख रुपैयाँ विभिन्न शिर्षकहरुको व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।
- निक्षेप संकलन र कर्जा विस्तार सामान्य
समीक्षा अवधिमा बैंकको कर्जा विस्तार र निक्षेप संकलनको विस्तारमा औसत प्रगति मात्र छ । गत असोज मसान्तको तुलनामा बैंकको कर्जा ७.३८ प्रतिशतले र निक्षेपमा२.७४ प्रतिशतको मात्र वृद्धि छ ।
बैंकले ७० अर्ब ५० करोड ९० लाखको निक्षेप संकलनमा बढोत्तरी गरेर ७२ अर्ब ४३ करोड ९१ लाख पुर्याएको छ भने कर्जा लगानीतर्फ ६२ अर्ब ९१ करोड १९ लाखबाट बढोत्तरी गर्दै ६७ अर्ब ५५ करोड ४१ लाख बराबरको कर्जा लगानी गरेको छ।
- खुद ब्याज आम्दानी साढे ४ करोड घट्यो
बैंकले पहिलो त्रैमासमा गत आवको यसै अवधिका तुलनाामा ४ करोड ४८ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी घटेको छ । गत आवको असोज मसान्तसम्ममा ७५ करोड ३१ लाख ४१ हजार खुद ब्याज आम्दानी गरेकोमा चालु आवको यसै अवधिमा घटेर ७० करोड ८३ लाख २५ हजारमा संकुचन आएको छ।
बैंकले २ अर्ब ३५ करोड ३४ लाख ब्याज आम्दानी गरेर १ अर्ब ६४ करोड ५० लाख ब्याज खर्च गरेको हो।
- पूँजी र जगेडा कोष सामान्य बढ्यो
यस अवधिमा बैंकको पूँजी गत आवको मुनाफाबाट वितरण गरेको तीन प्रतिशत बोनसबाट वृद्धि भई ८ अर्ब ६२ करोड २२ लाख रुपैयाँमा पुगेको छ । यसैगरि बैंकको जगेडा कोषमा दुई अर्ब ९५ करोड २८ लाख रुपैयाँ सञ्चित छ । जुन गत आवको यसै अवधिको तुलनामा १२ करोड ७३ लाख मात्र धेरै हो।
यसैगरि बैंकको शेयरधनी कोषमा असोज मसान्तमा २५ करोड २७ लाख रुपैयाँ सञ्चित छ । गत आवको मुनाफाबाट अधिकतम लाभांश (१२ प्रतिशत नगद,३ प्रतिशत बोनस) वितरण गरेपछि एक अर्ब २५ करोडको शेयरधनीकोष खुम्चिएको हो।
- प्रतिशेयर आम्दानी र निष्कृय कर्जा अनुपात घट्यो
समिक्षा अवधिमा बैंकको खुद मुनाफा घटेपछि प्रतिशेयर आम्दानीमा संकुचन आएको छ । बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २६ पैसाबाट १६ रुपैयाँ २० पैसामा खुम्चिएको हो।
बैंकले आफ्नो खराब कर्जा अनुपातमा सुधार गरेको छ। गत आर्थिक वर्षको ३ महिना अवधिमा बैंकमा १.२३ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.९८ प्रतिशतमा घटेको हो। बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात २१.७२ गुणा रहेको छ।
- आधारदर र कोषको लागत दुबै घट्यो
गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा चालू आवको यसै अवधिमा बैंकको आधार ब्याजदर र निक्षेप संकलन लागत दुबै घटेको छ।
यस अवधिमा बैंकको आधार ब्याजदर घटेकोले ऋणीलाई केही सस्तो ब्याजमा नै ऋण पाउन सहज बनेको छ भने लगानीयोग्य तरलता संकटका बीच पनि बैंकले सस्तो ब्याजदरमा निक्षेप संकलन गर्न सकेको देखिन्छ ।
गत वर्षको असोज मसान्तमा ११.४७ प्रतिशत रहेको सिटिजन्सको आधार ब्याजदर १०.७५ प्रतिशतमा झरेको छ भने कोषको लागत ८.७४ बाट ८.३० प्रतिशतमा घटेको हो।
बैंकको पूँजीकोष अनुपात १२.६६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.४१ र स्प्रेडदर ४.१६ प्रतिशत रहेको छ ।