हिमाल दोलखाको आईपीओ अर्को साता सूचीकरण गर्ने तयारी

Dec 30, 2019 01:53 PM Merolagani



हिमाल दोलखा हाइड्रोपावरले अर्को साता नेपाल स्टक एक्सचेञ्जमा साधारण शेयर (आईपीओ) सूचीकृत गर्ने तयारी गरेको छ। बिक्री नभएको शेयर प्रयाभूतिकर्ताहरुले सकारेपछि हाइड्रोपावरको शेयर आगामी साता नेप्सेमा सूचीकृत हुने तयारीमा रहेको हाइड्रोपावरका एक अधिकारीले बताए।

मेरोलगानीसँगको कुराकानीमा ती अधिकारीले भने ‘प्रत्याभूतिकर्ताहरुले सबै पैसा तिरिसकेका छन्। कम्पनीको शेयर आगामी साता नेप्सेमा सूचीकृत गर्ने तयारी भइरहेको छ,’।

शेयर प्रत्याभूतिकर्ताहरुले कबुल गरेको शेयर सकार्न इन्कार गरेपश्चात हाइड्रोपावरले जारी गरेको आईपीओ शेयर सूचीकरणमा ढिलाई भइरहेको थियो। सोही विवादका कारण भदौ ५ गते बाँडफाँड भएको कम्पनीको शेयर नेप्सेमा सूचीकरण हुन सकेको थिएन। 

हाइड्रोपावरले गत असार २५ गतेदेखि सर्वसाधारणका लागि कूल ७६ लाख ७२ हजार २१० कित्ता साधारण शेयर (कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सहित) निष्कासन गरेको थियो। निष्कासन गरिएको कूल शेयरमध्ये करिब ६० प्रतिशत (४५ करोड ५३ लाखको) बिक्री नभएपछि सो शेयर प्रत्याभूतिकर्ताहरुलाई स्वीकार्न बोर्डले निर्देशन दिएको थियो।

हाइड्रोपावरको शेयर ४ क्यापिटलले प्रत्याभूत गरेका थिए। सोमध्ये ३ क्यापिटलले सम्झौता बमोजिम पूरै पैसा नदिएपछि हाइड्रोपावरले सो जानकारी बोर्डलाई गराएको थियो। बोर्डले यी तीनवटै क्यापिटलहरुलाई ऐन कानून पालना गर्न निर्देशन दिएको बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए। सो निर्देशनपश्चात ३ वटै कम्पनीहरुले कम्पनीलाई पूरा पैसा दिएपछि सूचीकरणको प्रक्रिया अघि बढाइएको हो।

हाइड्रोपावरको शेयर नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नेपाल बङ्गलादेश क्यापिटल, बिओके क्यापिटल र लक्ष्मी क्यापिटलले प्रत्याभूत गरेका थिए। तर, लक्ष्मी क्यापिटल बाहेक अन्य क्यापिटलहरुले शेयर सकार्न आनाकानी गरेका थिए।

कम्पनीले निष्काशन गरेको आईपीओ सबैभन्दा धेरै नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गले ३३.७१ प्रतिशत, बिओके क्यापिटलले ३२.८६, लक्ष्मी क्यापिटलले २५ र नेपाल बंगलादेश क्यापिटलले ८.४३ प्रतिशत शेयरको प्रत्याभूति गरेका थिए।

यसअनुसार नबिल इन्भेष्टले सबैभन्दा धेरै १५ करोड ३५ लाख १४ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार १४० कित्ता, बिओके क्यापिटलले १४ करोड ९६ लाख ४३ हजार १०० रुपैयाँ बराबरको १४ लाख ९६ हजार ४३१ कित्ता, लक्ष्मी क्यापिटलले ११ करोड ३८ लाख ४९ हजार रुपैयाँ बराबरको ११ लाख ३८ हजार ४९० कित्ता र सबैभन्दा थोरै प्रतिशत प्रत्याभूति गरेको नेपाल बंगालादेश क्यापिटलले ३ करोड ८३ लाख ८९ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ८३ हजार ८९९ कित्ता शेयरको भुक्तानी गर्नुपर्ने बाध्यता आइपरेको हो।

कम्पनीले गत भदौ ५ गते आईपीओमा आवेदन गरेर सदर भएका ७२ हजार २५५ जनालाई ३० लाख ९३ हजार २५० कित्ता शेयर बाँडफाँड गरेको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।