मन्त्रिपरिषद्को निर्णयअनुसार तत्कालीन अध्यक्ष सन्ताेषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा डा. भट्टलाई बाँकी कार्यकालका लागि जिम्मेवारी दिइएको थियो। उनले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेकाे पनि दुइ महिना भन्दा बढी भइसक्याे। नयाँ नेतृत्वको आगमनसँगै बजारमा विभिन्न क्षेत्रका कम्पनीहरूले साधारण सेयर निष्कासनका लागि आवेदन दिने क्रमलाई निरन्तरता दिएका छन्।
पाइपलाइनमा थपिँदै नयाँ कम्पनीहरू
नयाँ नेतृत्वले कार्यभार सम्हालेपश्चात् विभिन्न चरणमा नयाँ कम्पनीहरू सेबोनको आईपीओ पाइपलाइनमा थपिने क्रम जारी रहेको छ। यसै सिलसिलामा पहिलो चरण अन्तर्गत चारवटा कम्पनीहरू पाइपलाइनमा दर्ता भएका थिए। ती कम्पनीहरूमा मकरीगढ हाइड्रोपावर, कालिञ्चाेक इन्भेष्टमेन्ट कम्पनी, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेड रहेका छन्।
त्यसपछि पनि थप ४ कम्पनी सेबोनको आईपीओ पाइपलाइनमा देखिएका छन्। थपिएका नयाँ कम्पनीहरूमध्ये नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका १२ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ भने यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। त्यसैगरी, पशु तथा व्यावसायिक दाना उत्पादन गर्ने क्षेत्रमा कार्यरत सौर्य कृषि कम्पनी लिमिटेडले २० लाख कित्ता सेयर निष्कासनको अनुमति माग गरेको छ र यसको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल हो। यसक्रममा लगानी क्षेत्रसँग सम्बन्धित बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले २८ लाख ३५ हजार कित्ता सेयर जारी गर्नका लागि आवेदन दिएको छ भने यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। साथै, विशेष चर्चामा रहेको टिम भेन्चर्स लिमिटेडले २५ लाख १८ हजार २ सय ७० कित्ता सेयर निष्कासन गर्नका लागि आवेदन पेस गरेको छ र यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
स्वीकृतिमा रोक र नीतिगत दस्तावेज निर्माणमा व्यस्तता
पाइपलाइनमा नयाँ कम्पनीहरूको संख्या थपिने क्रम जारी रहेपनि वास्तविक रूपमा साधारण सेयरको स्वीकृति प्रक्रिया भने अझै रोकिएको छ। सेबोनका अध्यक्ष डा. गोपाल भट्टले एक सार्वजनिक कार्यक्रमका दौरान आगामी असोज १५ गतेभित्र थुप्रै कम्पनीहरूको आईपीओ निष्कासन हुने बताएपनि यथार्थमा उनले पदभार ग्रहण गरेयता म्युचुअल फन्डबाहेक अन्य कुनै पनि कम्पनीलाई आईपीओको स्वीकृति दिएकाे छैन। विभिन्न सेक्टरका थुप्रै कम्पनीहरूको सेयर निष्कासन अनुमति माग गर्दै फाइलहरू थपिँदै गए पनि नियामक निकायले समग्र बजार सुधारका नीतिगत खाकाहरू तयार पार्ने कार्यलाई मुख्य प्राथमिकतामा राखेका कारण हाल नयाँ साधारण सेयरको स्वीकृति प्रक्रिया रोकिएको अवस्था छ।
अध्यक्ष भट्टको कार्यकाल सुरु भएपछि पुँजी बजारको दीर्घकालीन विकास र सुधारलाई लक्षित गर्दै विभिन्न नीतिगत तथा कानुनी कागजातहरूको निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएको छ। यसअन्तर्गत आर्थिक वर्षको पुँजी बजार नीति, पुँजी बजार विकास मार्गचित्र, धितोपत्र बजारमा मार्जिन लेन्डिङ, धितोपत्र सापटी तथा कारोबार र सर्ट सेलिङसम्बन्धी नीतिगत, कानुनी, संरचनागत तथा प्राविधिक व्यवस्था समेटिएको अवधारणापत्र तयार पारिएको छ। यसबाहेक धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा, प्राथमिक पुँजी बजार विकाससम्बन्धी श्वेतपत्र, प्राथमिक पुँजी बजार सुधार नीति, मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा तथा ऋणपत्र दर्ता तथा निष्काशन नियमावलीको मस्यौदा तयार गर्ने कार्य तीव्र पारिएको छ।
यसरी धितोपत्र बजारको नियमन, अनुगमन र दीर्घकालीन सुधारका लागि विभिन्न मार्गचित्र, श्वेतपत्र तथा नियमावलीका मस्यौदाहरू तयार पार्ने काममा नेतृत्व पूर्ण रूपमा व्यस्त रहेको देखिएको छ। नियामक निकायले बजारलाई व्यवस्थित बनाउने आधार तयार पार्दै गर्दा होटल तथा पर्यटन क्षेत्रका १८ वटा कम्पनीहरूले ५ करोड ८२ लाख १३ हजार ९ सय ३० कित्ता (६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँ), जलविद्युत क्षेत्रका ३४ वटा कम्पनीहरूले १७ करोड ४२ लाख ९१ हजार २ सय ३६ कित्ता (१७ अर्ब ८३ करोड ८५ लाख ५४ हजार ३ सय ६ रुपैयाँ), इन्भेष्टमेन्ट क्षेत्रका ९ वटा कम्पनीहरूले ३ करोड ४० लाख ३ हजार ६ सय ६२ कित्ता (४ अर्ब ३१ करोड ६३ लाख ६६ हजार २ सय रुपैयाँ), उत्पादन तथा प्रशोधन क्षेत्रका ३२ वटा कम्पनीहरूले १७ करोड ४१ लाख ४१ हजार ३ सय ३ कित्ता (३५ अर्ब ७० करोड ५४ लाख १३ हजार ६ सय १० रुपैयाँ), माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ वटा कम्पनीहरूले ६७ लाख ५० हजार कित्ता (६७ करोड रुपैयाँ) र अन्य विभिन्न क्षेत्रका १५ वटा कम्पनीहरूले ५ करोड १४ लाख २१ हजार ६९ कित्ता (६ अर्ब १८ करोड ९९ लाख २० हजार ६ सय ५० रुपैयाँ) साधारण सेयर निष्कासनका लागि आवेदन दिएर प्रतीक्षामा बसिरहेका छन्। विभिन्न क्षेत्रगत समूह अन्तर्गत कूल १११ वटा कम्पनीहरूले ७१ अर्ब १२ करोड १९ लाख ४८ हजार ८ सय ९६ रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेका छन्।