सिर्जना फाइनान्सको बोलपत्र आज खुला हुँदै

Jan 02, 2020 09:11 AM Merolagani



सिर्जना फाइनान्स (SFFIL) ले पुस ७ गतेदेखि १४ गतेसम्म लिलामीमा ल्याएको ३ लाख २० हजार ७४२ कित्ता शेयरको बोलपत्र पुस १७ गते बिहीबार खुला हुँदैछ।

कम्पनीले १ लाख १२ हजार २१९ कित्ता सर्वसाधारण शेयर तथा २ लाख ८ हजार ५२३ कित्ता संस्थापक शेयरको बोलपत्र सनराइज क्यापिटल कमलपोखरीमा बिहान १० बजे खुला गरिन लागेको हो।

फाइनान्सले गत असोज १७ देखि मंसिर ६ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता शेयरको अनुपातामा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

बिक्रीमा ल्याइएको उक्त शेयरमा २४ लाख ४३ हजार ९५० कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा आएको हो।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ। ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ।