बत्तीस महिनादेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको सहाराको नाफामा सामान्य सुधार

Feb 14, 2020 07:58 AM Merolagani



पछिल्लो ३२ महिनादेखि दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको सहारा विकास बैंक (SHBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.९२ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपनि अन्य सञ्चालन आम्दानी घटेसँगै इम्पेरिमेन्ट चार्ज बढ्दा खुद नाफा प्रभावित भएको हो।

पुस मसान्तसम्ममा बैंकले २ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २५.९२ प्रतिशत बढेर १ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ४७ प्रतिशत घटेर ५२ लाख ५२ हजारमा सीमित भएको छ। त्यसैगरी, पुस मसान्तसम्ममा बैंकको इम्पेरिमेन्ट चार्ज ११ लाख ६० हजार रुपैयाँ रहेको छ।

१६ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ करोड ७५ लाख रुपैयाँ र शेयर प्रिमियममा ८७ लाख ३७ हजार रुपैयाँ रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६५ पैसा कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात ३८.१६ गुणा रहेको छ।

देवः विकास बैंकसँगको सैद्धान्तिक सहमति पश्चात कारोबार रोक्का भएको यस बैंकको शेयर हालसम्म पनि रोक्का नै रहेको छ। देवः सँगको सम्झौता तोडिएपछि गत पुस मसान्तसम्मा अन्य बैंक तथा वित्तीय संस्था मर्जर अथवा एक्विजिशनमा जाने निर्णय गर्ने बैंकका सिईओ विनय कुमार शाहले मेरोलगानीलाई बताएका थिए। तर, माघ सकिसक्दासम्म पनि बैंकले यसबारे कुनै जानकारी दिएको छैन। बैंकको शेयर कारोबार २०७४ जेठ २६ गतेदेखि ठप्प छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।