नेप्सेमा पहिलो पटक एक सातामा ११ अर्बभन्दा बढीको शेयर कारोबार

Feb 21, 2020 02:22 PM Merolagani



यस साता नेपाली धितोपत्र बजारमा पहिलो पटक एक सातामा ११ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। दैनिक कारोबार रकमले नयाँ रेकर्ड कायम गरेसँगै साप्ताहिक कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको हो।

यस साता १८४ कम्पनीको १ लाख ३ हजार ५०२ पटकको कारोबारमा ११ अर्ब २० करोड ५४ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ५३ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेले फागुन ८ गते बिहीबार दैनिक कारोबार रकममा किर्तिमान कायम गरेको थियो।

साताको पाँचै कारोबार दिन नेप्से उकालो लाग्दा ३ कारोबार दिनमा २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो। यस साताको पहिलो कारोबार दिन १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा दोस्रो कारोबार दिन २ अर्ब ६८ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। त्यसैगरी, मंगलबार २ अर्ब १२ करोड ५९ लाख, बुधबार १ अर्ब ६२ करोड ८८ लाख र अन्तिम कारोबार दिन बिहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।

यस साता नेप्से परिसूचक ८९.९८ अंक अर्थात ६.६९ प्रतिशत बढेर एक हजार ४३४.५७ विन्दुमा पुगेको छ। नेप्से र कारोबारमा सुधार भएसँगै कूल बजार पूँजीकरण पनि बढेको छ। गत साताको अन्तिम कारोबार दिन १७ खर्ब १५ अर्ब ७२ करोड रहेको कूल बजार पूँजीकरण बढेर यस साताको अन्तिम कारोबार दिन १८ खर्ब ३१ अर्ब ८ करोड पुगेको छ।

यस साता करिब २ वर्षपछि सेन्सेटिभ इण्डेक्स ३०० विन्दुमा पुगेको छ। २०७५ बैशाख ९ गते ३०४.११ विन्दुमा रहेको सेन्सेटिभ इण्डेक्सले त्यसपछि ३०० विन्दुलाई छोएको छैन।

कारोबार रकम र शेयर संख्याका आधारमा यस साता शिवम् सिमेन्ट्ग शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको यस साता ३ हजार ५५७ पटकको कारोबारमा ६५ करोड ३० लाख रुपैयाँ बराबरको १० लाख ४४ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस साता हिमालयन डिष्टिलरीको ६२ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

फ्लोरसिटका आधारमा यस साताको मोस्ट पपुलर बाईमा सेन्ट्रल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स र सानिमा इक्विटी फण्ड परेका छन्।

त्यस्तै, मोस्ट पपुलर सेलमा यस साता नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, जानकी फाइनान्स, नेपाल हाइड्रो डेभलोपर्स र शिखर इन्स्योरन्स रहेका छन्।

यस साता कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक अन्यको तुलनामा धेरै अंक बढेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।