समय थपेदेखि निरन्तर ओरालो लाग्दै कारोबार रकम

Mar 18, 2020 04:29 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारको अवधि थपेर पाँच घण्टा पुर्याइए पनि शेयर कारोबार रकम भने लगातार घट्दै गएको छ। गत आइतबार २ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कारोबार रकम घटेर १ अर्ब १८ करोड रुपैयाँमा झरेको छ। 

अघिल्लो दिन मंगलबार १ अर्ब ४६ करोड रुपैयाँ बरुाबरको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम झण्डै २८ करोड रुपैयाँले घटेको छ। यस दिन १७२ वटा कम्पनीको ३४ लाख ८३ हजार कित्ता शेयर १ अर्ब १८ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

साताको चौथो कारोबार दिन बुधबार नेप्से सूचक १६.२६ अंक अर्थात १.२८ प्रतिशतले घटेर १२५५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि २.८० अंकले घटेको छ।

यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएका छन् भने व्यापार उपसमुहको सूचक मात्र सकारात्मक देखिएको छ।

यस दिन जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रो नेपालको ७.७९ प्रतिशत, सबैको लघुवित्तको ४.९३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको ४.४८ प्रतिशत र नेपाल इन्स्योरेन्सको ३.९२ प्रतिशतले बढेको छ।

त्यसैगरी, कालिका पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.२५ प्रतिशतले घटेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ६ प्रतिशत, एनएलजि इन्स्योरेन्सको ५.९७ प्रतिशत र मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ४.९५ प्रतिशतले घटेको छ।

comments powered by Disqus