खर्च बढेसँगै सिद्धार्थ बैंकको खुद नाफा सामान्य घट्यो

Aug 10, 2020 06:40 AM Merolagani



सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ४९ लाख रुपैयाँ अर्थात ७.३० प्रतिशत कम हो।

खुद ब्याज आम्दानी बढेपनि बैंकले खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफामा दबाब पुगेको हो। समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ३२.४२ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च १७.२७ प्रतिशत बढेको छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा २३ रुपैयाँ ७ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षमा घटेर २१ रुपैयाँ ३८ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.८४ गुणा कायम भएको छ।

९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ र शेयरधनी कोषमा ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

गत आवको चौथो त्रैमाससम्ममा बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले ५ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। जसबाट बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब २८ करोड ३७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।