आईपीओ निष्काशन खुला भयाे कि मेरो शेयरमा समस्या, के भन्छ सिडिएससी?

Sep 29, 2020 07:27 AM Merolagani

सुधा देवकाेटा

पूँजीबजार सम्बन्धी सरोकारवाला निकायहरुले शेयरको प्राथमिक बजार मुलुकका सबै क्षेत्रमा पहुँच पुगेको प्रगती विवरण प्रस्तुत गर्न थालेको करिब चार वर्ष भईसकेको छ।

तर, कुनै कम्पनीले सार्वजनिक निष्काशन जारी गर्दाको समयमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को सिस्टममा समस्या देखिँदा प्राथमिक तथा दोस्रो बजार दुबै प्रभावित हुने गरेको छ। कुनै कम्पनीले शेयर निष्काशन गर्दा सो शेयरमा आवेदन दिन र दोस्रो बजारमा हुने कारोबार राफसाफ गर्नको लागि नै लगानीकर्ताहरुले धेरै झन्झट बेहोर्नु परेको गुनासो गर्दै आएका छन्।

शेयर बजारका सरोकारवाला निकायहरुले प्राथमिक बजारलाई देशैभर पुर्याएको प्रगति विवरण प्रस्तुत गरिरहँदा आम लगानीकर्ताहरु आईपीओमा आवेदन दिँदा भोग्नु परेको समस्यालाई नजरअन्दाज गरेको हो की भन्ने आशंका लगानीकर्ताहरुमा पलाउन थालेको छ।

कम्पनीहरुले शेयर निष्काशन र आईपीओ बाँडफाँड गर्दा सिस्टममा देखिने समस्याले मेरो शेयरमार्फत आम लगानीकर्ताले सोचेजस्तो सहजै सेवा लिन सकिरेहका छैनन्।

सिस्टममा हुने गरेको यस्तो समस्या हरेक आईपीओ निष्काशनको समयमा देखिँदा समेत सरोकारवाला निकायहरुले ध्यान दिन नसकेको लगानीकर्ताहरुको बुझाइ छ। जसले गर्दा मेरो शेयरमार्फत उपलब्ध सुविधा लिन झेल्नु परेको विभिन्न समस्या लगानीकर्ताहरुको तितो अनुभव बनेको छ। यसले गर्दा सिडिएससीले विकास गरेको मेरो शेयर प्रति नै लगानीकर्ताहरुको विश्वास कम हुन थालेको छ।

दोस्रो बजारमा यसको प्रभाव
यसरी मेरो शेयरमा समस्या देखिदा प्राथमिक बजारमा मात्र नभई दोस्रो बजारका लगानीकर्ताहरु समेत प्रभावित भएका छन्। मेरो शेयरमा समस्या आउँदा दोस्रो बजारमा कारोबार राफसाफमा समेत समस्या देखिएको लगानीकर्ताहरुले बताएका छन्।

मेरो शेयरको सिस्टममा समस्या आउदा दोस्रो बजारका लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्रको विवरण हेर्न, पोर्टफोलियो हेर्न, धितोपत्रको लागतको भारित औषत गणना गर्न, धितोपत्रको कारोबार पछिको राफसाफका लागि आफ्नो सम्बन्धित राफसाफ सदस्यलाई हस्तान्तरण गर्नका लागि विद्युतीय निर्देशन पूर्जी (इडिआईस) जारी गर्न समेत सकिरहेका छैनन्।

के हो समस्याको कारण ?

कम्पनीहरुको सार्वजनिक शेयर निष्काशनको समयमा मेरो शेयरमा आएको समस्या ट्राफिकको रहेको बताइए पनि यसपटकको समस्या बेग्लै भएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी गराए। हाल उक्त समस्याको निराकरण गर्नका लागि आवश्यकता अनुसार एक चरणको सिस्टम अपग्रेड गरेको न्यौपानेले बताए।

सिस्टम अब्जर्भेसन गर्ने बित्तीकै आएको आईपीओ भएका कारण लगानीकर्ताहरुलाई मुस्किल भएको न्यौपानेको भनाई छ। यसरी समस्या देखिनु सिस्टम कन्र्फरमेसनमा केहि छुटेको हुनसक्ने न्यौपानले बताए।

सिडिएससीले केही दिन अघि मात्र ओटीपीलाई विस्थापन गर्दै पीन नम्बर प्रयोगमा ल्याएको थियो। यसबाट सिस्टमको विश्वस्तता र सुरक्षित हुने सिडिएससीले दाबी गरेको छ। सफ्टवेयर अपग्रड गर्नका लागि समय समयमा सिस्टम डाउन गर्नु परेको न्यौपानेले बताए। अहिले आईपीओ नआएको भएता पनि सिस्टम आग्रेड गर्नको लागि नै केहि समय सिस्टम डाउन गर्नपर्ने प्रवक्ता न्यौपानेको भनाई छ।

मेरो शेयरको सिस्टममा पुर्णरुपमा चाप वृद्धि हुँदा वास्तविक समस्याको पहिचान हुने न्यौपानेले बताए। सिस्टमको निमार्ण गर्दैगर्दा गरिने बनावटी चापले वास्तविक समस्याको पहिचान गर्न नसकिने उनको भनाई छ। अब सिस्टम भेन्चरहरुले समस्याको पहिचान गरि सकेको हुँदा छिट्टै त्यसमा सुधार हुने न्यौपानेले बताए।

धितोपत्र बोर्डको भनाइ यस्तो
नेपाली पूँजी बजार विस्तारै प्रविधिमा अभ्यस्त भईरहेको हुदाँ सिस्टमका समस्या देखिएको नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए। प्रविधिको प्रयोग गर्दै जादाँ समस्याहरु पनि विस्तारै समाधान हुँदै जाने केसीको भनाई छ। मेरो शेयरको सफ्टवेयरमा देखिएको समस्या स्थायी रुपमा नै सुधार गर्नको लागि आफूहरु लागी परेको प्रवक्ता केसीले जानकारी दिए।

बिना झन्झट प्राथमिक बजारमा लगानी गर्न सकिने खुसीले मेरो शेयर प्रयोग गर्न थालेका लगानीकर्ताहरु पुनः बैंकमा लाईन बसेर आश्वा प्रणाली मार्फत नै आवेदन दिन बाध्य बनेका छन्। यसरी मेरो शेयर हुँदाहुँदै पनि आश्वा प्रणालीमार्फत आवेदन दिनेहरुको संख्यामा दिनदिनै वृद्धि भईरहेको छ।

पूँजी बजारको सरोकारवाला निकायहरुले देशका सबै जिल्ला मार्फत प्रथामिक शेयर कारोबार आईपीओ खरिद गर्न सकिने भन्दै प्रचारप्रसार गरिरहदा सबै कुराको सुविधा रहेको काठमाडौका लगानीकर्ताहरुले समेत सहजै मेरो शेयर प्रयोग गरेर आईपीओमा आवेदन गर्न सकेका छैनन्। यस्तो अवस्थामा ग्रामीण भेगका लगानीकर्ताको पूँजी बजारमा पहुँच कसरी पुगेको होला? प्रश्न गम्भीर छ।

धितोपत्र बजारलाई प्रविधिमैत्री बनाउन सिडिएससीले प्रविधिको विकासमा जोड दिँदै आएको छ । र, शेयरलाई अभौतिकीकरण गर्न हितग्राही खाताको व्यवस्थादेखि सि–आस्बा प्रणाली र मेरो शेयरको विकास गरी हाल प्राथमिक बजारलाई पूर्ण प्रविधिमैत्री बनाउनमा ठूलो योगदान रहेको कुरा नकार्न सकिदैन। तर, यसरी बारम्बार एउटै किसिमको समस्या प्रविधिमा आउदा समेत दीर्घकालीन समाधानतर्फ सरोकारवाला निकायहरु नलाग्दा लगानीकर्ताहरुले शेयर कारोबार गर्नका लागि नै विभिन्न समस्या झेल्नु परेको छ ।

मुलुकमा कोभिड १९ बाट संक्रमितको संख्या दिनदिनै वृद्धि भइरहेको छ। यस्तो अवस्थामा अधिकांश कामहरु अनलाईनबाट गर्न सरकारले सुझाव दिँदै आएको छ। तर, पूँजीबजारको प्रथामिक तथा दोस्रो बजार अनलाईन शेयर कारोबार गराउन महत्वपूर्ण भुमिका रहेको सिडिएससीले विकास गरेको मेरो शेयरमा नै पटक पटक देखिने समस्याले सम्बन्धित सबै पक्षहरुलाई गम्भिर बनाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।