म गफ गर्ने मान्छे होइन,कम्पनीले गरेको विश्वास प्रति खरो उत्रिने छु:महेश्वरलाल श्रेष्ठ

Nov 27, 2020 05:27 PM merolagani

'बजार प्रवेश गर्ने दिन,फण्ड र टार्गेटेट लक्ष्य केही पनि भन्न मिल्दैन'

साउनदेखि नै धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने बताएकाे नागरिक स्टक डिलरले अझैसम्म लगानी गरेकाे छैन । तर,कम्पनीले प्रमुख कार्यकारी अधिकृत पाएपछि भने चाँडै लगानी गर्ने तयारी अघि बढेकाे छ । 

 

शेयर बजारमा ठूलो घटबढ हुन नदिन ५ अर्ब चुक्ता पूँजी भएकाे स्टक डिलर स्थापना गरिएको हो। स्टक डिलरमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहने छ ।

स्टक डिलरकाे बजार प्रवेश, रणनीति र लक्ष्य कस्ताे हुने छ भनेर मेराे लगानीका उप सम्पादक सुवास निराैलाले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेश्वरलाल श्रेष्ठसँग कुराकानी गरेका छन् ।

कहिले देखि औपचारिक सुरुवात हुँदै छ। स्टक डिलरको काम ?

हामीले गर्नु पर्ने सबै तयारी लगभग सकिसकेका छौ। कुनै पनि दिन हामी बजारमा प्रवेश गर्न सक्छौ। तर यही दिन भनेर अहिले नै मिति तोक्न भने सकिँदैन। यति भन्न सकिन्छ हामी छिटो भन्दा छिटो बजार प्रवेश गर्दै छौ।

यो हप्ता, महिना या वर्ष दिन भित्र भन्दा कुन समयमा प्रवेश गर्ने साइत जुर्ला ?

यो हप्ता वा महिना जति पनि लाग्न सक्छ। यो दिन बजार प्रवेश गर्ने भनेर बिजनेसको हिसाबले पनि भन्न मिल्दैन। हामीले यो दिन बजार प्रवेश गर्ने भन्दा त्यो अनुकूल बजारको मुभमेन्ट परिवर्तन हुन सक्ने भएकोले पनि मिति भन्न मिल्दैन। किनकि हाम्रो बिजनेस नै त्यो नेचरको छ।

पहिलो चरणमा कति फण्ड मोभिलाइज गर्दै हुनुहुन्छ ?

त्यो पनि भन्न मिल्दैन। हामीले आवश्यकता अनुसार फण्ड मोभिलाइज गर्दै जाने छौ। हामीलाई आवश्यक लाग्यो भने एकै पटक ठूलो मात्राको पनि हुन सक्छ। आवश्यक नलागे नहुन पनि सक्छ। त्यो समय र हाम्रो बिजनेस रणनीति अनुसार तय हुने कुरा हो। बिजनेस गर्दा पहिले नै आफ्ना बिजनेस स्टाटिटिक्स  बजारमा खुलस्त पारिँदैन। त्यो पार्न पनि हुँदैन। त्यो गोप्य नै राख्नु पर्ने हुन्छ। नभए बजार हामीले सोचे अनुरूप नहुन सक्छ।

बजार प्रवेश गर्दा आफ्नै टिएमस चलाउनु हुन्छ कि अरू ब्रोकरको पनि सहयोग लिनु हुन्छ ?

हामीले दुवै प्रयोग गर्छौ। केही दिन अघि सूचना निकाल्दै ब्रोकर कम्पनीको प्रस्ताव मागेका छौ। यो हिसाबले पनि तपाइले अनुमान लगाउन सक्नु हुन्छ कि हामी ब्रोकर पनि प्रयोग गर्दै छौ।

हामीले त तपाइहरूले आफ्नै टिएमस राख्ने तयारी नै गर्न नसकेर ब्रोकर कम्पनीको प्रस्ताव माग्नु भएको भनेर बुझेका छौ। के हाम्रो बुझाइ गलत हो ?

एकदमै गलत बुझाइ हो। हामीले आफ्नै टिएमएसबाट चलाउने लगभग प्रक्रिया सकाएका छौ। त्यसैले दुवैबाट गर्ने तयारी हाम्रो हो। बिजनेस गर्दा सबै किसिमका उपाय लगाउनु पर्छ। हाम्रा रणनीति कसैले न थाहा पाउन भन्नको लागि पनि हामीले दुवै प्रयोग गर्ने तयारी गरेका हौ। फेरि पनि भन्दै छु हाम्रो बिजनेसको प्रकृति नै त्यही हिसाबको छ।

तर हामीले पाएको सूचना अनुसार तपाइहरूले अझै पनि आफ्नै टिएमएस प्रयोग गर्ने पूर्ण तयारी नै गर्न सक्नु भएको छैन। खर्चको हिसाबले, सरकारी खरिद प्रस्तावको कारणले तपाइहरूको आफ्नै टिएमएस प्रयोग गर्ने वातावरण नबनेको कारण ब्रोकर कम्पनीको प्रस्ताव माग्नु भएको भनिन्छ  नि?

त्यो गलत कुरा हो। हामीले सबै प्रक्रिया पुरा गरेका छौ।

भनेपछि तपाईहरूले आफ्नै कार्यालयमा टिएमएस जडान गरी सक्नु भएको हो ?

प्रक्रियामा छ।

नेपालमा टिएमएस प्रोभाइडर भनेको वाइको हो। उसको बाहेक अरूको टिएमएस प्रयोग गर्ने अनुमति नै छैन। खरिद प्रक्रियाको कारण तपाइहरूले वाइकोसँग सम्झौता नै गर्न सक्नु भएको छैन। अनि कस्तो प्रक्रिया हो ?

त्यही कम्पनीसँग सम्झौता प्रक्रियामा छ भनिएको हो ।

सिइओ भएर आउनु भएको छ। पहिलो वर्ष कति नाफा गर्ने लक्ष्य लिनु भएको छ ?

त्यो पनि अहिले नै प्रक्षेपण गर्न सकिँदैन। त्यो हाम्रो काम गराई  र टिमले गर्ने परफमेन्सको आधारमा तय हुने कुरा हो। त्यो भविष्यले बताउने छ। हामीले संस्थालाई बढी भन्दा बढी नाफा गराउने गरी काम गर्ने छौ।

सबै कम्पनीमा टिमले नै काम गर्ने हो। तर सिइओ भएर आएपछि सानो तिनो भएपनि टार्गेट त राख्नु भएको होला नि ?

छ नि। त्यो बजारमा सबैलाई ढोल पिटाएर भन्ने कुरा त होइन होला। मैले आफ्ना प्रमोटरलाई  बिजनेस प्लान बुझाएको छु। उहाँहरुले मेरो प्रस्तावलाई चित्त बुझाउनु भएको छ।

तपाईका जति पनि प्रमोटर छन्। ती सबै पब्लिक कम्पनी हुन् भन्ने कुरा बिर्सनु हुँदैन। पब्लिक कम्पनी भएपछि  कम्पनीको लक्ष्य कति हो भनेर थाहा पाउने अधिकार त पब्लिकलाई हुन्छ नि हैन र ?

तपाइले भन्नु भएको कुरामा म सहमत छु। तर जुन दिन यो कम्पनी पुर्ण रुपमा पब्लिकमा जाने अवस्था आउँछ। त्यो दिन प्रस्पेक्टस नै निकाल्छौ। त्यही दिन के कस्तो गर्छ भनेर उहाँहरुले हेर्न सक्नु हुन्छ। तर अहिले नै सार्वजनिक गर्नु पर्ने जरुरी हुँदैन।

तपाईले अझै पनि बिर्सँदै हुनुहुन्छ कि तपाई पब्लिक कम्पनीको सिइओ हो भनेर। नियामकीय संस्थामा काम गर्नु र कम्पनीमा काम गर्नु अलि फरक हुन्छ हैन र ?

तपाईँलाई यो कुरा पनि थाहा रहेन छ कि मैले राष्ट्र बैक छोडेपछि कुनै कम्पनीमा पाँच वर्ष सिइओ नै भएर काम गरिसको छु। त्यस कारण नियामकीयको काम गराइ र कम्पनीको काम गराइ मैले राम्रो सँग बुझेको छु।

नियामकिय संस्थामा काम गर्दा सबैभन्दा बढी संस्थागत सुशासनमा बढी फोकस हुनु पर्छ। तर कम्पनीमा काम गर्दा संस्थागत सुशासनसँगै नाफामा बढी जोड दिनु पर्छ। कम्पनीमा सिइओको काँधमा संस्थागत सुशासनसँगै नाफाको लक्ष्य पनि लादिएको हुन्छ। त्यही कारण सानो तीनो नाफाको टार्गेट कति हो भनेर सोध्न खोजिएको हो।

तपाईले सोध्नुभयो।भन्ने नभन्ने,सार्वजनिक गर्ने नगर्ने मेरो अधिकार हो। त्यसैले मैले अहिले सार्वजनिक गर्न चाहिन।

कहिले पब्लिकमा जाने तयारी हो ?

पहिलो अपरेसन नै शुरु भएको छैन। अहिले नै पब्लिकमा जाने हाम्रो कुनै तयारी छैन। तर दीर्घकालीन रुपमा हाम्रो पब्लिकमा जाने योजना चाहिँ हो। तपाइले सोधी हाल्नु भयाे कम्तीमा दुईदेखि तीन वर्षमा हामी पब्लिकमा जान्छौ।

नेपाली बजारमा पहिलो पटक अभ्यास गर्दै हुनुहुन्छ। भविष्य कस्तो देख्नु हुन्छ ?

भविष्य राम्रै देखेर नै कम्पनी खडा गरिएको होइन र भन्या। एकदम राम्रो छ। हामीले नेपाली बजारमा राम्रै स्थान बनाउने छौ।

बजार यति बेला सर्वाधिक उचाइमा छ। यति बेला बजार प्रवेशमा कत्तिको जोखिम देख्नु हुन्छ ?

हामी जब बिजनेस गर्दै छौ भने बजार कुन बिन्दुमा पुगेको छ भनेर पनि हेरि रहेकै होलाउँ। यो बजारमा अहिले नै कुनै स्क्रिप्ट राम्रो लाग्यो भने किन्न पनि सक्छौ। बिक्री गर्ने अवस्था रह्यो भने बिक्रि पनि गर्छौ। त्यो हाम्रो आफ्नै निर्णय हुन्छ। बजारमा कति बेला किन्ने र कति बेला बेच्ने हाम्रो आफ्नै रणनीति छ। बजार बुलिस वा बियर जस्तो अवस्थामा छ।त्यही अबस्थाकालागि हाम्रो रणनीति तयार छन्।

नेपाली बजारमा तपाइहरूको प्रवेशले कस्तो भूमिका खेल्ला ?

हामी बिशुद्ध व्यवसायिक संस्था हौ। हाम्रो उद्देश्य भनेकै बढी भन्दा बढी नाफा कमाउने हो। जुन प्रवृत्तिको बिजनेसमा हामी छौ। त्यसले बजारमा के प्रभाव पर्छ पर्दैन भन्ने कुरामा भन्दा हामी आफ्नो काम गराइमा बढी फोकस हुन्छौ। प्रभावको विषय बजारले नै तय गर्छ।

बजार प्रति, आफ्नो रणनीति प्रति अलि बढी नै कन्फिडेन्स र बढी नै बिजनेस ओरियन्टेड देखिनु भएको छ।पब्लिक कम्पनीका प्रमोटरहरुले देखाएको विश्वासमा खरो उत्रँदै पब्लिकलाई बढी प्रतिफल दिने गरी तपाइको कन्फिडेन्स अनुसार कै सफलता प्राप्त होस् अग्रिम शुभकामना छ।

धेरै धेरै धन्यवाद। म गफ गर्ने मान्छे होइन काम गर्ने मान्छे हो। मेरो कामको प्रतिफल भविष्यले देखाउने छ। मैले काम गर्न सकिन भने जागिर कै लागि संस्थामा टाँसिरहने व्यक्ति पनि होइन। त्यसैले यति विश्वास दिलाउन चाहन्छु कम्पनीले गरेको विश्वास प्रति म खरो उत्रिने छु।     

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।