केन्द्रिय बैंकको तथ्याङ्क हेर्ने हो भने पछिल्लो समय विद्युतिय माध्यमबाट हुने भुक्तानी लगातार बढ्दो क्रममा छ। झनै कोरोना महामारी पछि त यसको प्रयोग ह्वातै बढेको छ। साना-साना कारोबार गर्न पनि क्युआर कोड स्क्यान गरेर सहजै गर्न सकिने भएकोले यसको आकर्षण बढ्दो छ।
केन्द्रिय बैंकले अहिले क्युआर कोड मार्फत हुने भुक्तानीलाई अभियानकै रुपमा अघि बढाएको छ। एक वर्षभित्र हरेक तरकारी बजारमा क्युआर कोडबाट हुने भुक्तानी गर्न सकिने व्यवस्था गर्ने योजना उसको छ। सोही अनुसार उपत्यकाका दुई ठूला तरकारी बजारमा समेत यसको सुरुवात भइसकेको छ।
सनिमा बैंकले नक्साल तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ भने कालिमाटी बजारमा पनि प्रभु बैंकले क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। यस्तै, अन्य तरकारी बजारमा पनि यसको सुरुवात हुने चरणमा रहेको छ।
केन्द्रिय बैंकले बैंकका शाखा कार्यलयलाई पनि आफु नजिकको तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी गर्ने व्यवस्था गर्न आग्रह गरिरहेको छ। नेपाल बैंकर्स एशोसिएसनको वार्षिक कार्यक्रममा केन्द्रिय बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षभित्र तरकारी किन्न जाँदा पैसा बोकेर जानु नपर्ने बताएका थिए।
उनले विभिन्न कार्यक्रममा पनि विद्युतिय भुक्तानी सहज हुने भन्दै आफुले पैसा तथा चेकको कारोबार गर्न छोडिसकेको बताउँदै आएका छन्।
सामान्य चिया पसलमा पनि अहिले क्युआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हुन्छ। जसले गर्दा ग्राहकलाई पैसा बोकेर हिडिराख्नु पर्दैन, मोबाइलबाटै भुक्तानी गर्न सक्छन्। बस चढ्दा १५-२० रुपैयाँको गाडीभाडा समेत क्युआर कोडबाट भुक्तानी हुन थालिसकेको अवस्था छ। काेराेना भाइरसकाे महामारी शुरु भएपछि धेरैले क्यास काराेबारलाई घटाएर विद्युतिय कारोबारलाई प्राथमिता दिएका छन्। अझ युवा वर्गमा त यसको आकर्षण बढी नै छ।
लकडाउनपछि कोरोना सर्ने डरले पनि आफुले पैसाको कारोबार खासै नगरेको कलंकी निवासी बिक्रम बस्नेत बताउछन्। उनले अहिले सामान खरिददेखि रेष्टुराँमा खाएको बिल समेत आफ्नो मोबाइलमा रहेको मोबाइल बैंकिङको सहायताले क्युआर कोर्ड स्क्यान गरेर भुक्तानी गर्ने गरेका छन्। विद्युतिय भुक्तानीको व्यवस्था नभएको ठाँउमा मात्रै पैसाको कारोबार गर्ने गरेको उनी बताउछन्।
पछिल्लो समय क्युआर कोडबाट हुने भुक्तानीमा पनि वृद्धि हुँदै गएको केन्द्रिय बैंकका भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेल बताउछन्। केन्द्रिय बैंकले सार्वजानिक गरेको तथ्याँकमा पनि विद्युतिय भुक्तानी बढ्दै गएको देखिन्छ।
क्युआर काेडमा आधारित भुक्तानी गत साउनमा ५८ करोड रुपैयाँ रहेकोमा भदौमा ६४ करोड, असोजमा ९६ करोड रुपैयाँ पुगेको थियो। कार्तिकमा पनि ९३ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ। कार्तिक यताको तथ्याँक भने केन्द्रिय बैंकले अहिले सार्वजानिक गरेको छैन।
- एटिएम कार्ड विस्थापित हुँदै
अहिले बैंकहरुले क्यासलेस कारोबारमा प्रथामिकता दिँदै आएका छन्। अहिले एटिएम मेशिनमा समेत ग्राहकले एटिएम कार्ड बिना नै पैसा निकाल्न सक्ने व्यवस्था गर्न थालेका छन्।
बैंकको मोबाईल एपमा रहेको “मोबाइल मनी” र आफ्नो मोबाइलमा इन्टरनेट सुविधा प्रयोग गरेर सजिलै एटिएमबाट कार्ड बिना नै पैसा झिक्न सकिने भएको छ।
लक्ष्मी बैंकले यस्तै सेवा शुरु गरिसकेको छ। बैंकको मोबाइल मनीमा लगइन गर्ने बितिकै ग्राहकले “कार्डलेस विथड्र” भन्ने अप्सन देख्न सक्नेछन् र यसबाट कार्ड बिनै ग्राहकले पैसा निकाल्न सक्नेछन्।
यसले गर्दा कार्ड बिना नै आफ्नो मोबाइलबाटै ग्राहकले आफुले चाहेजति भुक्तानी पाउन सक्ने भएका छन्। क्यासलेस कारोबारले एटिएम कार्ड विस्थापित हुन थालेको माछापुच्छ्र्रे बैंकका सूचना प्रविधि विभागका प्रमुख हेम कुमार श्रेष्ठ बताउछन्।
भविष्यमा कार्ड नै प्रयोग गर्नु नपर्ने अवस्था आउने उनको आँकलन छ। "भविष्यमा एटिएम कार्ड नै हुँदैन। कार्ड प्रयोग गर्नु नपर्ने अवस्था आँउछ," उनले भने।
यसले गर्दा कार्ड बनाउनको लागि विदेशमा जाने पैसा जोगिने उनको भनाइ छ।
क्युआर काेडबाट भुक्तानी गर्दा न त पैसा बाेक्नु पर्ने झन्झट न त हराउलाकी भन्ने नै डर। माेबाइलकै भरमा भुक्तानी गर्न सकिने भएपछि याे भुक्तानीकाे लागि सहज माध्यम बनेकाे छ। क्युआर कोडबाट स-साना भुक्तानी गर्न पनि सहज भएको कारण यसका आकर्षण बढेको भुक्तानी विभागका प्रमुख कँडेल बताउछन्। अहिले सवारीसाधनहरुमा समेत क्युआर कोडबाट भुक्तानी हुन थालिसकेको उनले बताए।
क्युआर कोर्डबाट भुक्तानी गर्दा पैसाको कारोबार कम हुन्छ जसले गर्दा वर्षै पिच्छे करोडौ खर्चेर नयाँ पैसा छाप्नुपर्ने बध्यता समेत रहदैन। पैसाको कारोबार कम हुने भएपछि पैसाको आयु समेत बढ्छ।
कोरोना माहामारीको समयमा पैसाको कारोबार गर्नु त जोखिम छँदैछ। अन्य विद्युतिय माध्यम जस्तै कार्डबाट भुक्तानी गर्दा कार्ड लिनु दिनु पर्ने हुदाँ यसमा समेत जोखिम हुन्छ तर क्युआर काेडबाट कसैलाई पनि छुनु परेन यसले गर्दा यो अन्य माध्यमभन्दा सुरक्षित रहेको कँडेलको बुझाइ छ।
कार्ड स्वाइप गर्दा डेटाहरु जान सक्ने डर हुन्थ्यो भने क्युआर कोडबाट भुक्तानी गर्दा त्यो डर पनि हुँदैन, कार्डबाट भुक्तानी गर्न मेशिन राख्नुपर्ने हुन्थ्यो तर क्युआर कोडबाट भुक्तानी गर्न एउटा क्युआर कोडकाे फोटो मात्रै राखे पुग्छ। यसले गर्दा यो खर्च, सुरक्षा, सहजता सबै दृष्टिकोषले उपयुक्त रहेको कँडेलले बताए।
कार्ड छपाउन रकम विदेशिने गरेकोमा क्युआर कोडबाट रकम विदेशिने सम्भावना समेत रहदैन।
क्युआर कोड अर्थात क्विक रेस्पोन्स कोड जापानको अटोमोटिभ इन्डस्ट्रिको लागि सन् १९९४ मा डिजाइन गरिएको म्याट्रिक्स बारकोर्ड हो। क्युआर कोडकाे माध्यमबाट सामान्य रुपमा मोबाइलबाटै कोड स्क्यान गरेर कुनै पनि व्यक्ति वा कम्पनीको खातामा भुक्तानी गर्न सकिन्छ।
क्युआर कोड कुनै पनि कम्पनी वा व्यक्तिको बैंक खाताको विवरण हुृन्छ जसलाई आफ्नो मोबाइलमा रहेको मोबाइल बैंकिङ्ग, इसेवा, फोनपे लगायतका माध्यमबाट उक्त कोड स्क्यान गरी आफुले भुक्तानी गर्न चाहेको रकम राखेर भुक्तानी गर्न सकिन्छ।