मर्जर तथा एक्विजीशनपछि बलियो बन्दै मिर्मिरे लघुवित्त

Jul 29, 2021 04:35 AM Merolagani



मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै ६ गुणा बढेर ३ करोड ४३ लाख रुपैयाँबाट २० करोड १ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै निष्क्रिय कर्जा पनि घटाउन सफल भएपछि लघुवित्तको नाफामा सुधार देखिएको हो। विभिन्न लघुवित्तहरुलाई आफुमा गाभ्दै अगाडि बढेको यस लघुवित्त, मर्जर तथा एक्विजिशनपश्चात बलियो बन्दै गएको देखिन्छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२९.२० प्रतिशत अन्य सञ्चालन आम्दानी १९९.७५ प्रतिशत र सञ्चालन मुनाफा ४९०.१६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १०८.५१ प्रतिशत, जगेडा कोष ३३४.१४ प्रतिशत, सापटी १९२.७७ प्रतिशत, निक्षेप ९०.४३ प्रतिशत र कर्जा १५९.६९ प्रतिशत बढेको छ।

नाफा र चुक्ता पूँजीसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको इपीएस २९ रुपैयाँ ५२ पैसा बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा २.९४ प्रतिशतबाट घटेर १.९९ प्रतिशतमा झरेको छ।