लघुवित्त कम्पनीको बेस रेट नै १५ प्रतिशतभन्दा माथि, बेस रेटमा प्रिमियम थप गरेर ऋण दिन पाइएला त ?

Feb 08, 2023 11:10 AM MeroLagani



लघुवित्त वित्तीय संस्थाहरुलाई पनि नेपाल राष्ट्र बैंकले आधार दर प्रकाशित गर्न निर्देशन दिएको छ । प्रकाशित आधार दर अनुसार केही लघुवित्तको आधार दर १५ प्रतिशतभन्दा बढी देखिएको छ तर राष्ट्र बैंकले लघुवित्तलाई कर्जा लगानी गर्दा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैकिङ प्रणालीमा तरलताको चरम अभाव भएर निक्षेपको व्याज दर ह्वात्तै बढेकाले वाणिज्य बैंकहरुले नै १२ प्रतिशतभन्दा बढीमा निक्षेप उठाइरहेका छन् । लघुवित्त कम्पनी भनेको वाणिज्य बैंकबाट ऋण लिएर केही नाफा लिएर ग्रामीण भेगमा लघु कर्जा वितरण गर्ने संस्था हो । वाणिज्य बैकको निक्षेप संकलन लागत नै बढिरहेको अवस्थामा लघुवित्तको लागत बढेर बेस रेट बढ्नु भने अन्यथा मानिएको छैन । बेस रेट नै १५ प्रतिशतभन्दा बढी हुँदा पहिलो त्रैमासको भन्दा पनि बढी लघुवित्त कम्पनीहरु घाटामा जाने अवस्था आएको नेपाल लघुवित्त वित्तीय संस्था संघका पूर्व अध्यक्ष एवम् विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले बताए ।

‘दोस्रो त्रैमासमा म संलग्न रहेको संस्थाकै बेस रेट १५ प्रतिशतभन्दा बढी आएको छ । प्रकाशित बेस रेट पुस मसान्तसम्मको अवस्थालाई प्रतिविम्वित गर्ने हुँदा बेस रेट बढेको भए पनि माघदेखि बैंकहरुले निक्षेपको व्याज दर घटाएकाले यो पनि विस्तारै घट्दै जाने छ’– उनले बताए ।

लघुवित्त कम्पनीको बेस रेट १५ प्रतिशत भन्दा माथि देखिए पनि कतिपय लघुवित्त भने नाफामै देखिएका छन् । ‘दोस्रो त्रैमासको नाफा एकुमेलेटेड भएको भएर कुनै कुनै लघुवित्त नाफामा देखिएका हुन । बेस रेटको क्यालकुलेसन भने अघिल्लो महिनाको अन्तिम दिनसम्मको आधारमा हो ।’–उनले भने । लघुवित्तले वाणिज्य बैंकसँग ऋण बाहेक आफ्नै पुँजी परिचालन गरेर र थोरै मात्रामा केही निक्षेप आफै पनि परिचालन गरेर कारोबार गर्ने गर्दछ । पहिलो त्रैमाससम्म बैंक ऋणको व्याज दर सस्तो भए पनि दोस्रो त्रैमासमा भने एकदमै बढेर आएकाले त्यसले लघुवित्तको नाफामा असर गर्ने गरेको उनले बताए । उनका अनुसार लघुवित्तले आफ्नो कस्ट अफ फन्डमा अपरेटिङ कस्ट जोडेर बेस रेट निकालिरहेका छन् । ‘लघुवित्तको कस्ट अफ फन्ड नै १३–१४ प्रतिशत छ, त्यसमा ४ प्रतिशत अपरेटिङ कस्ट जोड्दा बेस रेट नै १६–१७ प्रतिशत भन्दा माथि पुग्ने देखिन्छ।’–उनले भने

राष्ट्र बैंकले बेस रेट प्रकाशित गर्न लगाएपछि सोही अनुसार प्रिमियम जोडेर ऋण दिन पाउने व्यवस्था हुन्छ भन्ने आशामा धेरै लघुवित्त कम्पनीहरु बसेका छन् । ‘बेस रेटमा प्रिमियम थपेर ऋण दिन पाइने लाइनमा राष्ट्र बैंक गएको हो भन्ने हाम्रो बुझाई हो।’–पूर्व अध्यक्ष लम्सालले भने । केन्द्रीय बैंकका पदाधिकारीहरुसँग अनौपचारिक कुराकानीमा बेस रेट प्लस प्रिमियम मोडेलमा जाने भनिए पनि अहिलेसम्म केन्द्रीय बैंकबाट कुनै सर्कुलर भने जारी भएको छैन ।

वाणिज्य बैंकहरुले बेस रेटमा अधिकतम ६ प्रतिशतसम्म जोडेर ऋणको व्याज दर तय गर्ने गरेको छ। लघुवित्त कम्पनीहरु पनि बेस रेटमा ३ प्रतिशत प्रिमियम थपेर कारोबार गर्न दिने आशामा रहेको अधिकांश लघुवित्तका सीइओको भनाइ रहेको छ ।

अहिले दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने अधिकांश लघुवित्तले अघिल्लो वर्षको भन्दा नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेका छन् भने केहीले घाटा भएको विवरण सार्वजनिक गरेका छन्। पहिलो त्रैमासमा करिब २५ प्रतिशत लघुवित्त नोक्सानमा थिए भने अहिलेको अवस्था विश्लेषण गर्दा दोस्रो त्रैमासमा आधाभन्दा बढी लघुवित्त नोक्सानमै रहने लम्सालले प्रक्षेपण गरे ।

नेपाल राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बेस रेट प्रकाशित गर्न दिएको निर्देशन अनुसार केहीले प्रकाशित गरेको भए पनि प्रकाशित नगर्नेलाई शुरुको अवस्था भएर कडाई नगरिएको बताए । ‘ट्रेन्ड एनालाइसिस प्रयाेजनको लागि बेस रेट प्रकाशित गर्न लगाइएको हो । वेटेज एभरेज र मार्केट एभरेज निकालेर छलफल गर्छौ । बेस रेटमा प्रिमियम दर जोडेर ऋण दिन लगाउने नलगाउने विषयमा कुनै निर्णय भएको छैन ।’–उनले भने ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।