शेयरबजार सुस्त, साढे ३ महिना यताकै न्यून कारोबार

Mar 29, 2023 03:20 PM Merolagani



बुधबार शेयरबजार सुस्त देखिएको छ। अघिल्ला दुई कारोाबार दिन बढेर बन्द भएको बजार यस दिन सामान्य अंक मात्र बढेको छ। त्यसैगरी, यस दिन कारोबार रकम पनि १ अर्बभन्दा तल रहेको छ।

यस दिन नेप्से परिसूचक १.०२ अंक बढेर १९१९.४२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ। यस दिन फ्लोट इण्डेक्स भने ०.०७ अंक घटेको छ।

यस दिन २५८ स्टकको २५ हजार ४१३ पटकको कारोबारमा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो साढे ३ महिना यताकै न्यून हो। यस अघि मंसिर २८ गते ७२ करोडको शेयर कारोबार भएको थियो। सोपश्चात यस दिन न्यून रकमको कारोबार भएको हो।

नेप्से सामान्य अंक बढेपनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपरमाई हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन धौलागिरी लघुवित्रको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको खप्तड लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी स्टकहरुको गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन एनआईसी एशियाको सबैभन्दा बढी ३ करोड ५६ लाखको शेयर कारोबार भएको छ। त्यसैगरी, सानिमा माइ हाइड्रोपावरको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.८९ प्रतिशत घटेको छ।