एनएमबि बैंकको खुद नाफामा इम्पेरमेन्ट चार्जको दबाब

Aug 06, 2023 05:10 AM Merolagani



एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै झिनो अंकले बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफामा केही दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २१.०१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ६१ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा रहेको छ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.७९ प्रतिशत बढेको छ भने कर्जा लगानी ८.२२ प्रतिशत बढेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।