मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Sep 15, 2023 11:19 AM Merolagani

मिड सोलु हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (भदौ २९ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज १२ गतेसम्म लम्बिनेछ।

सो आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। इक्रा नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

इक्रा नेपालले कम्पनीलाई २०८० असार ३१ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८१ असार २९ गतेसम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो?

मिड सोलु हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत २०७४ वैशाख ६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा मिड सोलु हाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो। कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता विस्तार गर्ने हेतुले मिति २०७८ असार १६ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई मिड सोलु हाईड्रोपावर लिमिटेडको नाममा कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला का.म.न.पा वडा नं. ३१, नयाँ बानेश्वरमा रहेको छ। कम्पनीको जलविद्युत उत्पादन केन्द्र सोलुखुम्बु जिल्ला साविकको सल्लेरी गा.वि.स. तथा हालको सोलुदुधकुण्ड नगरपालिकामा रहेको छ।

कम्पनीले सोलुखुम्बु जिल्ला साविकको सल्लेरी गा.वि.स. हालको सोलुदुधकुण्ड नगरपालिकास्थित मध्य सोलु खोला जलविद्युत आयोजनाबाट ९.५ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २०७७ साउन २२ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो।

कम्पनीले निर्माण गरेको मध्य सोलुखोला जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत एक मुष्ठ नेपाल विद्युत प्राधिकरणले खरिद गर्न मञ्जुर गरी कम्पनी र प्राधिकरणबीच २०७५ साउन २१ गते विद्युत खरीद बिक्री सम्झौता गरिसकेको छ। साथै उक्त सम्झौताको पहिलो संशोधन २०७५ माघ २५ गते भएको थियो। कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन गरिरहेको छ।

आयोजनाको कुल लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.९१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.८७ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

निष्काशनबाट प्राप्त रकम आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गरिने मुख्य उद्देश्य रहेको छ। त्यसैगरी, कम्पनीको वित्तीय एवम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न, कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न पनि आईपीओ निष्काशन गरेको जनाएको छ।

साथै, कम्पनीको प्रवन्ध–पत्रमा रहेको जारी पूँजीको १० प्रतिशत शेयर अयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप १४ करोड ९६ लाख ८० हजार शेयर पूँजी आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण नेपाली नागरिकहरु (कर्मचारी र सामूहिक लगानी कोष समेत) लाई बिक्री वितरण गरी कम्पनीको जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँ पुर्याउने उद्देश्य रहेको छ।

कम्पनीले आईपीओ निष्काशन गरी प्राप्त १४ करोड ९६ लाख ८० हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट लिएको टर्म लोन भुक्तानी गर्न प्रयोग गरिनेछ। सो रकम भुक्तानीपश्चात बैंकको ऋण १ अर्ब ३२ करोड १८ लाख ८२ हजार ४६९ रुपैयाँ ८४ पैसा बाँकी रहनेछ।

गत आर्थिक वर्षसम्ममा ३ करोड सञ्चित मुनाफा

कम्पनीले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा ३ करोड २ लाख १५ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ। सो आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९८ लाख ८८ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको थियो।

त्यसैगरी, चालु आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा कम्पनीले १२ करोड ७० लाख २८ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आगामी आर्थिक वर्ष २०८२/८२ मा २३ करोड ५८ लाख ७० हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४ पैसा हुने प्रक्षेपण रहेको छ। त्यस्तै, चालु आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ९४ पैसा र आर्थिक वर्ष २०८१/८२ मा १४ रुपैयाँ ५४ पैसा हुने प्रक्षेपण रहेको छ।

त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा १०४ रुपैयाँ ४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ, चालु आर्थिक वर्षमा ११६ रुपैयाँ ९७ पैसा हुने प्रक्षेपण रहेको छ।

पूँजी संरचना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको छ। यस्तै कम्पनीको चुक्ता पूँजी ५९ करोड ८७ लाख २० हजार रुपैयाँ रहेको छ।

स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि छुट्याइएको १४ लाख ९६ हजार ८०० कित्ता शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ७४ करोड ८४ लाख रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ८० प्रतिशत सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ।

सञ्चालक समितिको गठन कम्पनी ऐन २०६३ को दफा ८६ को उपदफा (२) र कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार गरिएको छ। सञ्चालकहरुको कार्यकाल बढीमा ४ वर्षको हुनेछ। कम्पनीको नियमावलीको नियम २८ मा व्यवस्था भए अनुसार संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा नियुक्त हुन कम्तीमा १० हजार कित्ता शेयर लिएको हुनुपर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नियुक्त हुन कम्तीमा १०० कित्ता लिएको हुनुपर्नेछ। तर, संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालक तथा स्वतन्त्र सञ्चालकको हकमा यो व्यवस्था लागु हुने छैन।

हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ४ जना मात्रै सञ्चालक समितिमा रहेका छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा भीम बहादुल पाल रहेका छन्। त्यस्तै, कम्पनीका प्रबन्ध सञ्चालक रमेश राज गौतम रहेका छन् भने अन्य सञ्चालकहरुमा दिपक राज जोशी र प्रवृति गौतम रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य आर्थिक वर्ष २०८०/०८१ भित्र नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। त्यस्तै, नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी जलविद्युत आयोजनाहरु निर्माण गर्ने, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने कम्पनीको योजना रहेको छ। कम्पनीको प्रबन्ध पत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्राप्तिका लागि व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने योजना पनि कम्पनीले बनाएको छ।

कम्पनीले आफ्नो पूँजी तथा दायित्व समेतलाई विचार गरी आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रुपमा सम्भाव्य देखिएका अन्य जलविद्युत आयोजना कम्पनीहरुमा लगानी गर्ने रणनीति बनाएको छ। यसका लागि आगामी आर्थिक वर्ष २०८०/०८१ भित्र सम्भाव्य आयोजनाहरुको पहिचान गरी निर्माण कार्य सुरु गर्ने कम्पनीको रणनीति रहेको छ। त्यस्तै, नयाँ आयोजनाहरुको अध्ययन गर्ने र त्यसमा लगानी गर्न उपयुक्त भए नभएको निक्र्योल गर्ने, लगानी गर्न उपयुक्त लागेका आयोजनामा लगानी गर्ने रणनीति अख्तियार गर्नेछ। लगानी सम्बन्धी निर्णय गर्दा लगानीको समुचित प्रतिफल प्राप्त गर्ने तर्फ विशष ध्यान दिने रणनीति पनि कम्पनीले अख्तियार गर्नेछ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।