शेयर बजारमा ब्याजदर परिवर्तनको प्रभाव

Sep 17, 2023 03:14 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साता करिब ४ प्रतिशत बढेर बन्द भएको नेप्से, यस दिन २ प्रतिशत घटेर बन्द भएको हो।

यस दिन बजारमा बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरको प्रभाव परेको हो। यस दिन बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ ब्याजदर अनुसार ८ बैंकहरुले ब्याजदर बढाएका छन् भने ८ बैंकहरुले घटाएका छन्। ४ बैंकहरुले गत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बैंकहरुको ब्याजदर औषतमा भने घटेको छ।

बैंकहरुले ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्याएका छन्। यसैको प्रभाव यस दिन बजारमा परेको हो। यस दिन नेप्से परिसूचक ४२.१४ अंक घटेर १९६४.९१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ८.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन डेढ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७८ स्टकको ७२ हजार ४७७ पटकको कारोबारमा २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँ बराबरको ५६ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार शुभम पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ८९ रुपैयाँ ६० पैसा बढेर ९८५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.२१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। बैंकको यस दिन २७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २४ करोड ५२ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।