नेशनल हाइड्रोपावरको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी

Nov 07, 2023 10:01 AM Merolagani



नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.६६ प्रतिशत कम हो। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६८ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी सामान्य बढेपनि खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३.६० प्रतिशत बढेर ६ करोड ५२ लाख ९८ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १३.९२ प्रतिशत बढेर ५ करोड ३ लाख ७७ हजार रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा भने २१.३७ प्रतिशत घटेर २ करोड ७४ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ २२ पैसा घटेर ७४ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९०.६२ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेर २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जगेडा कोष भने ४२.८० प्रतिशत बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको छ।

कम्पनीले टेन्डर मार्फत प्राप्त गरेको ४.५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको प्राविधिक, आर्थिक तथा वातावरणीय अध्ययन समाप्त भइसकेको छ। सो आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई निर्माण अनुमति पत्र समेत प्राप्त भइसकेको कम्पनीले जनाएको छ। सो आयोजना निर्माणका लागि सिभिल काम तथा विद्युतीय उपकरण खरिदको लागि टेन्डर प्रक्रिया सम्पन्न भइसकेको छ।

कम्पनीले सो बाहेक लोअर इर्खुवा हाइड्रोपावर कम्पनी, उज्यालो इनर्जि सोल्युसन प्रा.लि. ह्याप्पि इनर्जी प्रा.लि. र पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रा.लि. मा पनि लगानी गरेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।