चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सामान्य घट्यो

Nov 10, 2023 09:41 AM Merolagani

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत अािर्थक वर्षको सोही अवधिको तुलनामा ३.६६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३५ करोड ५८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणबाट कन्ट्रयाक्ट इनर्जिको अतिरिक्त कम इनर्जि माग भएकोले विद्युत बिक्री आम्दानी सामान्य घटेको कम्पनीले जनाएको छ।

विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने थोरै बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ०.४२ प्रतिशत बढेर २० करोड ८७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा १४.८२ प्रतिशत घटेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८१ पैसा घटेर ११ रुपैयाँ ५० पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशत बढेर ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा कम्पनीको रिटेन्ट अर्निङ्ग भने ३.२७ प्रतिशत घटेर ३ अर्ब ५० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.०४ गुणा रहेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।