एक महिनापछि १९०० विन्दुभन्दा माथि नेप्से, २ महिनापछि २ अर्ब नाघ्यो कारोबार रकम

Nov 26, 2023 03:14 PM Merolagani



नेप्से परिसूचक एक महिना पछि १९०० विन्दुभन्दा माथि पुगेको छ। गत कात्तिक २ गते १९०० विन्दु माथि बन्द भएको नेप्से, सोपश्चात आज (मंसिर १० गते) १९०० विन्दुभन्दा माथि पुगेको हो।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४५.७५ अंक बढेर १९०७.९५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक बढेको छ।

नेप्सेको वृद्धिलाई यस दिन भोल्यूमले पनि साथ दिएको छ। यस दिन नेप्सेमा २९४ स्टकको ६६ हजार ५१६ पटकको कारोबारमा २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेमा २ महिनापछि २ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो। यस अघि असोज ९ गते कारोबार रकम २ अर्ब नाघेको थियो।

आइतबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन छ्याङ्गदी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन स्वरोजगार लघुवित्त, रावा इनर्जी, मैलुङ्ग खोला जलविद्युत र सिंगटी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर भने साढे २ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको कारोबार रकम ७ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.४४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।