बजार निरन्तर ओरालो लागेपछि कारोबार रकम १ अर्बभन्दा तल झर्यो

Dec 03, 2023 03:27 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक ७.२९ अंक घटेर १८५१.२३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक घटेको छ।

नेप्से निरन्तर ओरालो लागेपछि कारोबार रकम पनि १ अर्बभन्दा तल झरेको छ। गत साता १ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २९३ स्टकको ३६ हजार ९७७ पटकको कारोबारमा ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको ३४ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने इंगवा हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन माउन्टेन इनर्जी, युनाइटेड इदी मार्दी र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हाथवे इन्भेष्टमेन्टको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन लघुवित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशत घटेको छ।