नेप्से घट्ने क्रम जारी, कारोबार रकम भने बढ्यो

Dec 04, 2023 03:12 PM Merolagani



गत साताको सोमबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.४२ अंक घटेर १८४७.८१ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको कारोबार भएको बजारमा यस दिन २९२ स्टकको ४३ हजार ४२८ पटकको कारोबारमा १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन एनएमबि बैंकको ऋणपत्र र तेह्रथुम पावरको शेयरको मूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर र माउन्टेन इनर्जिको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ६ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हिमालयन डिष्टिलरीको यस दिन ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो।