नेपालको पूँजी बजार बढ्न नसक्नुका कारणहरू

Nov 25, 2026 05:14 PM Merolagani



जि.एस. पाण्डे
नेपालको पूँजी बजार अहिले एउटा महत्वपूर्ण मोडमा छ। बजारमा लाखौँ लगानीकर्ता सहभागी भइसकेका छन्, डिम्याट खाता र अनलाइन कारोबारको पहुँच विस्तार भएको छ।

तर त्यसअनुसार बजारको गहिराइ, संस्थागत लगानी, नयाँ वित्तीय उपकरण, लगानीकर्ताको विश्वास र कारोबारको स्थायित्व विकास हुन सकेको छैन। नेपालको पूँजी बजारको मुख्य समस्या शेयरको मूल्य नबढ्नु होइन। मूल प्रश्न बजारलाई कसरी पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी, लगानीमैत्री र अर्थतन्त्रसँग जोडिएको बजार बनाउने भन्ने हो।

यसलाई दुई भागमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ। पहिलो नेपालको पूँजी बजारले कस्ता नीतिगत सुधार खोजिरहेको छ?  यति धेरै लगानीकर्ता र पूँजी परिचालनको सम्भावना हुँदाहुँदै पनि बजार अपेक्षित रूपमा विस्तार हुन नसक्नुका कारण के हुन सक्छन?

बजारले खोजेका प्रमुख नीतिगत सुधारहरूमा केन्द्रित गर्नुपर्ने छ

१. मौद्रिक नीति र पूँजी बजारबीच समन्वयः नेपालको शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण छ। बैंकिङ प्रणालीमा तरलता पर्याप्त भएपनि त्यसको प्रभाव शेयर बजारमा स्वतः देखिँदैन। यसको लागि आवश्यक सुधारहरू जस्तै, शेयर धितो कर्जाको सीमा र जोखिम भारलाई व्यावहारिक बनाउने, बैंक तथा वित्तीय संस्थाले शेयर बजारमा गर्ने लगानी सम्बन्धी नीतिलाई स्थिर र पूर्वानुमानयोग्य बनाउने, शेयर कर्जाको ब्याजदरलाई प्रतिस्पर्धी बनाउने, बैंकको तरलता र पूँजी बजारको लगानी प्रवाहबीच समन्वय गर्ने, संस्थागत लगानीकर्तालाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहित गर्ने र वित्तीय स्थायित्व, निक्षेपकर्ताको सुरक्षा र कर्जाको गुणस्तरलाई पनि उत्तिकै ध्यान दिनुपर्दछ।

२. संस्थागत लगानीकर्ताको प्रवेश र विस्तारः नेपालको पूँजी बजारमा व्यक्तिगत लगानीकर्ताको सहभागिता उल्लेख्य भएपनि दीर्घकालीन संस्थागत लगानीको भूमिका अझ विस्तार गर्न आवश्यक छ। यसका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरू, म्युचुअल फन्डहरू, पेन्सन तथा दीर्घकालीन लगानी कोषहरूलाई दोस्रो बजारमा व्यावसायिक र जोखिम व्यवस्थापन सहित लगानी गर्ने वातावरण बनाउनुपर्छ। संस्थागत लगानीकर्ताको उपस्थिति बढ्दा बजारमा दीर्घकालीन पूँजी, व्यावसायिक विश्लेषण र तुलनात्मक रूपमा स्थिर माग सिर्जना हुन सक्छ। यी व्यवस्थाले कारोबारको गहिराइ बढाउन सक्छन्। तर अत्यधिक ऋण, कृत्रिम मूल्य उतारचढाव र प्रणालीगत जोखिम रोक्न पर्याप्त नियमन चाहिन्छ।

३.नेप्सेको संरचनात्मक तथा संस्थागत सुधारः नेप्सेको पुनसंरचना भनेको बजार मैत्री एवं बजार केन्द्रित सोच र काम गर्ने तौर तरिकाको पुनसंरचना पनि हो। नेपाल स्टक एक्सचेन्जलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्नुपर्छ नेप्सेको स्वामित्व तथा सञ्चालन संरचनाको पुनसंरचना, रणनीतिक तथा प्राविधिक साझेदार भित्र्याउने, अन्तर्राष्ट्रिय स्तरको कारोबार प्रणाली विकास गर्ने, बजार अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने, ब्रोकर तथा अन्य बजार सहभागीबीच स्वस्थ प्रतिस्पर्धा बढाउन। विशेषगरी, नेप्सेले शेयर किनबेच गराउने संस्थाको रूपमा मात्र नभई समग्र वित्तीय बजारको विकास गर्ने पूर्वाधारको रूपमा काम गर्नुपर्दछ।

४. कर प्रणालीमा सुधारः पूँजी बजारमा लगानीकर्ताको प्रतिफल र जोखिमलाई ध्यानमा राखेर कर प्रणाली बनाउनुपर्छ । मेरो विचारमा दीर्घकालीन लगानीकर्तालाई करमा सहुलियत दिनुपर्छ, एउटै आर्थिक अवधिमा भएको नाफा र नोक्सानीको समायोजन गर्न पाउनुपर्छ। लाभकर गणना प्रणाली सरल र पारदर्शी बनाउनुपर्छ ।बारम्बार कर नीति परिवर्तन गर्ने प्रवृत्ति रोक्नुपर्छ। कर प्रणालीले अल्पकालीन लगानीलाई मात्र होइन, दीर्घकालीन पूँजी निर्माणलाई पनि प्रोत्साहित गर्नुपर्छ। नेपाल सरकारले हालसालै घोषणा गरेको पुँजीबजार सम्बन्धी करका दरहरू स्वागतयोग्य छन् र पनि गैरआवासीय नेपालीहरू र संस्थागत लगानीकर्ताहरूलाई पुँजी बजारमा थप आकर्षित गर्नको लागि मुनाफामा लाग्ने विद्यमान करको दरलाई ५०% को हाराहारीमा छुट दिनुपर्दछ।

५. विदेशी तथा गैरआवासीय नेपाली लगानी आकर्षित गर्नेः गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्ने स्पष्ट कानुनी र वित्तीय व्यवस्था गर्नुपर्छ । यसका लागिः लगानी भित्रयाउने र फिर्ता लैजाने प्रक्रिया स्पष्ट बनाउने, विदेशी मुद्रा विनिमय सम्बन्धी व्यवस्था सरल बनाउने, लगानीको प्रतिफल तथा पूँजी फिर्ता लैजाने सुनिश्चितता गर्ने, पारदर्शी र विश्वसनीय लगानी प्रणाली विकास गर्ने। यसले नेपालको पूँजी बजारमा नयाँ पूँजी र लगानीकर्ताको आधार विस्तार गर्न सक्छ।

६. ब्रोकर प्रणालीको आधुनिकीकरणः ब्रोकर कम्पनीहरू शेयर खरिदबिक्री गराउने माध्यममा सीमित हुनु हुँदैन। उनीहरूलाई निम्न सेवाहरू उपलब्ध गराउने व्यावसायिक वित्तीय संस्थाका रूपमा विकास गर्नुपर्छः जस्तै, अनुसन्धान तथा लगानी विश्लेषण, लगानी परामर्श, संस्थागत कारोबार सेवा, मार्जिन कर्जा, जोखिम व्यवस्थापन, आधुनिक डिजिटल कारोबार सुविधा। साथै, बजारमा हुने अस्वाभाविक मूल्य परिवर्तन, भित्री सूचनाको दुरुपयोग, मिलेमतोमा कारोबार तथा कृत्रिम माग सिर्जना गर्ने गतिविधिमाथि निगरानी आवश्यक छ। तर निगरानी गर्ने नाममा झन्झटिलो एवं अपारदर्शी प्रक्रियालाई प्रोत्साहन गर्ने नीतिगत कुराहरूमा सुधार गर्नु जरुरी छ।

 

७. सूचीबद्ध कम्पनीको सुशासन र पारदर्शिताः शेयर बजारको दीर्घकालीन विकासका लागि कम्पनीहरूको वित्तीय अवस्था र व्यवस्थापन प्रतिको विश्वास महत्वपूर्ण हुन्छ । यसका लागिः समयमै वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने,वास्तविक नाफा र नगद प्रवाहको अवस्था स्पष्ट हुनुपर्ने, लाभांश वितरणमा पारदर्शिता हुनुपर्ने, सञ्चालक समितिलाई जवाफदेही बनाउने, सम्बन्धित पक्षबीच हुने कारोबार सार्वजनिक गर्ने, कमजोर सुशासन भएका कम्पनीलाई प्रभावकारी नियमन गर्नुपर्छ। लगानीकर्ताले कम्पनीको वास्तविक मूल्यांकन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ। कमजोर कम्पनीहरू बजारमा प्रवेश गराउँदा लगानीकर्ताहरूले प्रतिफल नपाउने र अन्त्यमा अर्थतन्त्र नै जोखिममा पर्ने सम्भावना हुन्छ।संस्थापक लगानीकर्ताहरू आफ्नो कम्पनीमा विश्वास गर्ने वातावरण बनाउन जरुरी छ। नेगेटिभ नेटवर्थ र डिभिडेन्ड दिन अयोग्य कम्पनीहरूको छुट्टै इन्डेक्स बनाउने र यदि अङ्कित मूल्यभन्दा कम अर्थात् नेगेटिभ नेटवर्थ भएका कम्पनीहरु को आइपियो जारी गर्न दिने हो भने त्यस्ता कम्पनीहरु लाभंश दिन योग्य अथवा सकारात्मक नेटवर्थ भइसकेपछि मात्र सूचीकृत गर्ने परिपाटीको थालनी गर्नुपर्छ।

८. बजार नियामकको स्वायत्तता र प्रभावकारिताः नेपाल धितोपत्र बोर्डलाई व्यावसायिक, स्वायत्त, सक्षम र उत्तरदायी नियामक संस्थाका रूपमा विकास गर्नुपर्छ। नियामकको नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप र अनावश्यक ढिलाइ हुनु हुँदैन। बजारमा हुने अनियमितता अनुसन्धान गर्ने, कारबाही गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने क्षमता बढाउनुपर्छ।

बजार अपेक्षित रूपमा बढ्न नसक्नुका प्रमुख कारणहरू

बजार बढ्न नसक्नुको एउटै कारण छैन। यसमा मौद्रिक, आर्थिक, नीतिगत, संस्थागत र मनोवैज्ञानिक कारणहरू एकअर्कासँग जोडिएका छन्।

१. लगानीकर्ताको कमजोर मनोबलः विगतमा भएको बजारको तीव्र उतारचढाव, नीतिगत अनिश्चितता र लगानीमा भएको नोक्सानीका कारण धेरै लगानीकर्ता नयाँ लगानी गर्न हिचकिचाइरहेका छन् । व्यावसायिक एवं उद्योगपतिहरूको धरपकट, लगानीको सीमा, खुला अर्थतन्त्र र खुला बजारमा लगानीकर्ताले निर्धक्कसँग १० लाखभन्दा बढीको शेयर खरिद बिक्री गर्नको लागि पनि स्रोत खुलाउनुपर्ने जस्ता नियन्त्रित जस्तो देखिने नीति नियमहरूले गर्दा ठूला लगानीकर्ताहरू पूँजी बजारमा प्रवेश गर्न ससंकित भएका छन्। यसको लागि सरकारले यी सम्पूर्ण व्यवधानहरुलाई सुधारका लागि सहजीकरण गर्न जरुरी छ।

२. बैंकिङ प्रणालीको तरलता र शेयर बजारबीच कमजोर सम्बन्धः बैंकमा लगानीयोग्य रकम पर्याप्त हुँदैमा शेयर बजारमा लगानी बढ्छ भन्ने हुँदैन। कर्जा माग कमजोर हुनु, लगानीकर्ताको जोखिम लिने क्षमता घट्नु र लगानीको प्रतिफलप्रतिको अनिश्चितताले पूँजी बजारमा रकम प्रवेश गर्न रोक्न सक्छ। गत भदौमा भएको जेन्जी आन्दोलन र त्यसले निजी क्षेत्रमा पारेको प्रभाव एवं ठूलो धनजनको क्षतिको कारण निजी क्षेत्र एवं ठूला लगानीकर्ताहरू नेपालमा लगानी गर्न हिच्किचाइरहेका छन् । सरकारले जतिसुकै राम्रो कुराहरुको घोषणा गरे निजी क्षेत्र आश्वस्त हुन सकिरहेको अवस्था छैन। उद्योग व्यवसायी एवं ठूला लगानीकर्ताहरूको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति नहुँदासम्म थप लगानी आउन सक्ने सम्भावना देखिँदैन। नेपालकै लगानीकर्ता उद्योग व्यवसायीहरू बैंकबाट लोन लिएर थप व्यवसाय विस्तार गर्न इच्छुक देखिँदैनन्। यसका साथै सरकारले लगानी गर्ने विकास खर्च न्यून हुँदा देशमा क्याश फ्लो कमजोर बन्न गएको छ । थुप्रिएर बसेको तरलतालाई उपयोग गर्न नसक्नुले अर्थतन्त्रमा सङ्कुचन आइरहेको प्रतित हुन्छ।

३. राजनीति एवं नीतिगत अस्थिरताः शेयर कर्जा, जोखिम भार, ब्याजदर, कर र नियमनसम्बन्धी नीतिमा हुने परिवर्तनले दीर्घकालीन लगानीकर्ताको विश्वास कमजोर बनाउन सक्छ। यसको निराकरणको लागि सरकारको तर्फबाट सकारात्मक पहल भइरहेको आभास हुन्छ । यति हुँदाहुँदै पनि लगानीकर्ताहरूमा आत्मविश्वासको कमी देखिन्छ। राजनीतिक वृत्तमा देखिएको अस्थिरताको सम्प्रेषण एवं आन्दोलनका कार्यक्रम अगाडि सार्नुले लगानीकर्ताको मनोविज्ञानमा भय देखिन्छ ।

४. संस्थागत लगानीकर्ताको न्यून सहभागिताः बजारमा व्यक्तिगत लगानीकर्ताको प्रभाव धेरै हुँदा बजारको माग र आपूर्तिमा अल्पकालीन मनोविज्ञानको प्रभाव बढी पर्न सक्छ। जबसम्म संस्थागत लगानीकर्ताहरूले पूँजी बजारमा दीर्घकालसम्मको लागि लगानी गर्दैनन् । पूँजी बजारमा आएको आपूर्तिलाई विद्यमान मागले थेग्न सकिरहेको छैन। साना लगानीकर्ताहरू दीर्घकालीन लगानी भन्दा पनि छोटो समयको लागि लगानी गर्ने र सानोसानो प्रतिफलमा रमाउने प्रवृत्ति बढ्नुले पनि बजार बढ्न सकेको छैन ।अहिलेको बजारमा ८० प्रतिशत ट्रेडरहरूको हाबी देखिन्छ।

५. वास्तविक अर्थतन्त्रमा अपेक्षित सुधार नहुनुः राष्ट्रको आम्दानीले चालु खर्चलाई पनि धान्न नसक्ने अवस्था छ। बाह्य सहयोग वा राष्ट्रले ऋण नलिकन विकास गर्ने कुरा प्रायः असम्भव देखिन्छ। उद्योग, व्यापार, उत्पादन, रोजगारी र उपभोगमा अपेक्षित सुधार नहुँदा कम्पनीहरूको नाफा वृद्धि र भविष्यमा व्यावसायिक सम्भावनाप्रति आशा कमजोर भएको छ।

६. कम्पनीहरूको कमजोर वित्तीय सुशासनः केही कम्पनीको कमजोर वित्तीय अवस्था, सीमित सूचना प्रवाह, अनियमित लाभांश र कमजोर व्यवस्थापनले लगानीकर्ताको विश्वासमा असर पारेको छ।

७. आपूर्ति र मागबीचको असन्तुलनः नयाँ शेयर निष्काशन, हकप्रद शेयर, बोनस शेयर र थप सार्वजनिक निष्काशनबाट शेयर आपूर्ति बढ्न सक्छ। तर त्यसअनुसार नयाँ पूँजी र माग सिर्जना सेयरको मूल्यमा दबाव परिरहेको छ। यहाँनिर ठूलो प्रश्न चिन्ह के छ भने उत्पादनमूलक र जलस्रोतसँग सम्बन्धित कम्पनीका संस्थागत लगानीकर्ताहरूमा आफ्नो कम्पनीप्रति विश्वास नहुनु र तीन वर्षको अवधिपछि सम्पूर्ण शेयरहरु बिक्री गरी पलायन हुनु यो नै अहिलेको सबभन्दा ठूलो चुनौती हो। यस किसिमको आपूर्ति गर्ने व्यवस्थाले दोस्रो बजार थलिएको छ।

८. नियामक तथा बजार पूर्वाधारको कमजोरीः बजार अनुगमन, अनुसन्धान, कारोबार प्रणाली, ब्रोकरको क्षमता र बजारसम्बन्धी सूचना प्रवाहमा सुधारको आवश्यकता छ।

९. राजनीतिक तथा आर्थिक अनिश्चितताः सरकारको आर्थिक नीति, निजी क्षेत्रप्रतिको व्यवहार, बजेट कार्यान्वयन र समग्र राजनीतिक स्थायित्व प्रतिको विश्वासले पनि लगानी निर्णयलाई प्रभाव पार्छ। यी कारणहरूको नेप्सेमा आएको गिरावट, कारोबार रकममा आएको कमी, नियामक नेतृत्वमा भएको रिक्तता र लगानीकर्ताको कमजोर मनोबल छ।

अन्त्यमा, शेयर बजारलाई केवल केही लगानीकर्ताले नाफा कमाउने माध्यमका रूपमा हेर्नु हुँदैन। यसलाई उद्योग, ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र उत्पादनमूलक क्षेत्रको विकासका लागि दीर्घकालीन पूँजी जुटाउने राष्ट्रिय आर्थिक संयन्त्रका रूपमा विकास गर्नुपर्छ। त्यसका लागि सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र निजी क्षेत्रबीच नीतिगत समन्वय अनिवार्य छ। बजारलाई स्वतन्त्र, प्रतिस्पर्धी, पारदर्शी र लगानीमैत्री बनाउने हो। त्यसपछि बजारको दीर्घकालीन विकास वास्तविक आर्थिक वृद्धि र कम्पनीहरूको कार्यसम्पादनसँग जोडिनु पर्दछ अनि मात्र यसले वास्तविक अर्थतन्त्रको ऐनाको प्रतिनिधित्व गर्दछ।

लेखकः नेपाल शेयरधनी संघका अध्यक्ष हुन्