शेयर बजार उत्पादनमूलक कि अनुत्पादक ?

Mar 24, 2018 merolagani



मुक्तिबहादुर खत्री

अर्थप्रणालीमा विभिन्न वजारहरु हुन्छन । जस्तै बस्तु बजार, उत्पादन साधनको बजार र वित्तिय बजार । वित्तिय बजार पनि दुई प्रकारका हुन्छन । मुद्रा बजार र पूँजी बजार अथवा शेयर बजार तसर्थ शेयर बजार भनेको पूँजी बजार हो । जसले दीर्घकालिन पूँजी निर्माण गर्न सघाउछ ।

लगानीका विभिन्न माध्यमहरु मध्ये शेयर बजार पनि एउटा सजिलो माध्यम हो, किनभने यो आवश्यक पर्दा तुरुन्तै बेच्न सकिन्छ र यस बाट थोरै पूँजी लगानी गरी राम्रै नाफा आर्जन गर्न सकिन्छ ।

विसौ शताब्दीका महान अर्थशास्त्री जोन मेनार्ड किन्सले ब्याजदर निर्धारणको सिद्धान्तमा मुद्राको माग सामान्यतया तीन प्रकारले गर्ने गरिन्छ भनेका छन् । जस्तै दैनिक कारोवारको लागि मुद्राको माग, पूर्व शतर्कताको लागि मुद्राको माग र सट्टेवाजी कारोवारको लागि मुद्राको माग।

सट्टेवाजी कारोवार गरिने विभिन्न क्षेत्र मध्ये शेयर बजार पनि एउटा क्षेत्र हो । तर सट्टेवाजी कारोवारको लागि गरीने मुद्राको माग ब्याजदर बाट प्रभावित हुन्छ । तसर्थ ब्याजदर बढेपछि यस्तो मुद्राको माग घट्दछ भने ब्याजदर घटेपछि यस्तो मुद्राको माग बढ्दछ । त्यसकारण ब्याजदर बढेपछि शेयर बजारमा त्यसको असर पर्न गई घट्न थाल्दछ ।

अन्तराष्ट्रिय रुपमा भएका थुप्रै अध्ययन र यस लेखकले विश्वविद्यालय अनुदान आयोगमा गरेको अनुसन्धान तथा नेपाल राष्ट्र« बैंकबाट भएका अध्ययनहरुले पनि माथिको सम्बन्ध पुष्टि भएको पाईन्छ ।

त्यसैगरी शेयर बजारलाई बजारमुखि अर्थप्रणालीको सूचकका रुपमा लिने गरिन्छ । यसको अर्थ बजारमा भएको उतार चढावले अर्थप्रणालीको वास्तविक अवस्थालाई ईंगित गर्दछ । बजारमा हुने करेक्सनलाई छाडेर बजार बढ्दै जानु अर्थप्रणालीको सकारात्मक अवस्थाको संकेत हो भने बजार घट्दै जानु अर्थप्रणालीको नकारात्मक अवस्थाको संकेत हो ।

अब रह्यो शेयर बजार उत्पादनमूलक की अनुत्पादक ?

लगानी बृद्धि गर्न, लगानी प्रति सबैलाई आकर्शित गर्न, वैदेशिक लगानी भित्र्याउन लगानीबाट राम्रो प्रतिफल आउने ब्यबस्था हुनु पर्छ । संसारमा कुनै पनि क्षेत्र आफैमा अनुत्पादनमूलक हुदैन, सबैको आ—आफ्नै महत्व हुने गर्दछ, तुलना गर्दा मात्रै कुनै एक क्षेत्र अर्को क्षेत्रको तुलनामा कम महत्वको हुन सक्छ । त्यसकारण शेयर बजारबाट निर्माण भएको पूँजीलाई उत्पादनमूलक क्षेत्रतर्फ आकर्शित गराउनु पर्दछ ।

यहि बजारको कारणले गर्दा आज कुनै पनि कम्पनिको प्राथमिक शेयर निस्कासन गर्दा हजारौको आवेदन पर्ने र अर्बौ संकलन हुने अवस्था आएको छ । अप्पर तामाकोशी जलविद्युत आयोजना, चिलिमे जलविद्युत आयोजना, रसुवागढी जलविद्युत आयोजना, सान्जेन जलविद्युत आयोजना लगायतका आयोजनाहरु स्वदेशी पूँजी बाट निर्माण गर्ने वातावरण बन्नुमा पनि शेयर बजारकै महत्वपूर्ण योगदान रहेको पाईन्छ ।

यसरी स्वस्फूर्त रुपमा लगानीप्रति आम जनताको आकर्षण बढि रहेको पाईन्छ । यसप्रकार लगानीप्रति सबैको चासो तथा लगाव बृद्धि गर्ने क्षेत्रप्रति अनावश्यक कुरा गर्नुको सट्टा यसमा भएका कतिपय कमी कमजोरीलाई हटाउनु पर्दछ । यसका लागि नीति निर्माण तहमा बसेकाहरु तथा देशको नेतृत्व गर्नेहरुले शेयर बजारबाट उत्पादनमूलक क्षेत्रतर्फ पूँजी परिचालन गर्ने गराउने वातावरण निर्माण गर्नु पर्दछ । जसका लागि स्वदेशी लगानीमा आयोजना निर्माण गरी त्यस तर्फ लगानी मोढ्नु पर्दछ न की नकारात्मक कुरा गरी लगानीकर्ताहरुको मनोवल गिराउने ।

छिमेकी मुलुक चिनले शुरुमा साम्यवादी अर्थप्रणाली अपनाय पनि देङ्गसियाओ पेङ्गको अगुवाईमा बजारमुखी अर्थप्रणाली अगिंकार गरेपछि मात्र आजको आर्थिक समृद्धि हासिल गर्न सफल भएको हाम्रा सामु घाम झै छर्लङ्ग छ ।

तसर्थ शेयर बजार, बजारमुखी अर्थप्रणालीको महत्वपुर्ण सूचक हो । यसरी छोटो समयमा पनि राम्रै नाफा कमाउन सकिने, थोरै पूँजी पनि लगानी गर्न मिल्ने, आवश्यक परेको वेलामा खरिद विक्री गर्न सकिने, लगानीप्रति बहुसंख्यक जनमानसको सहभागिता गराउन उत्प्रेरित गराउने क्षेत्र शेयर बजारलाई ब्यबस्थित गर्नुको विकल्प छैन । 

( लेखक अर्थशास्त्र विभाग, त्रिचन्द्र बहुमुखी क्याम्पसमा उप–प्राध्यापक हुनुहुन्छ ।)




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।