शेयर बजारलाई बाधक बनाएका सबै नीति खुला गरिएनः लगानीकर्ता

Jul 27, 2024 10:18 AM Merolagani



नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले विगतका नीति भन्दा लचिलाे नीति ल्याएको लगानीकर्ताकाे भनाइ छ ।

बर्षाैदेखि मौद्रिक नीतिकै कारण बजारमा दवाव परेको थियो । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिमार्फत धेरै अपेक्षा गरेका थिए । लगानीकर्ताले माग गरेका सबै कुरा नआएको उनीहरुको भनाइ छ ।

लगानीकर्ताको वर्षाैदेखिकाे माग राखेकाे पूँजी बजारमा लगानी गर्ने मूल्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतीको शेयर धितोमा प्रवाह हुने कर्जाको २० करोडको सीमा खारेज गरेको छ ।

त्यसैगरी, मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्राय सहित राष्ट्र बैंकले ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरेको उल्लेख गरेको छ । उक्त व्यवस्थाले शेयर बजारमा ठूला लगानीकर्तालाई प्राेत्साहित गर्ने नीति लिएको लगानीकर्ताहरुको बुझाई छ । कुन लगानीकर्ताले के भने-

छोटेलाल रौनियार

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति समग्रमा सकारात्मक रहेको छ । यद्यपि शेयर बजारलाई बाधक बनाएका सबै नीति खुला नगरेको भएतापनि संस्थागत लगानीकर्ताहरुका लागि मार्जिन प्रकृतिको शेयर धितोकर्जा खुला गर्दा त्यसको प्रभाव बजारमा सकारात्मक पर्नेछ ।

नीतिगत दरहरु घटाउदा यसले बैंकहरुलाई पनि ब्याजदर घटाउन थप प्रोत्साहन गर्नेछ । कर्जा लगानीमा थप लचकता अपनाएको छ । कर्जा विस्तारको लक्ष्यलाई बढाएर १.२५ प्रतिशत पुर्याएको छ । पूँजीकोष बढाउने र बैंकहरुलाई कर्जा लगानी गर्न सहज हुने नीति लिएको छ । पूँजीकोष बढाउन असल कर्जाको प्रोभिजनिङ घटाउने, विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमालाई २ करोडबाट बढाएर अधिकतम २ करोड ५० लाख रुपैयाँ कायम गरेको छ । नीतिले ब्याजदर घटाउने नीति अबलम्बन गरेको छ । ऋण विस्तार साढे १२ प्रतिशतको लक्ष्यले बजारमा कर्जा वितरणमा सहजीकरण हुने देखिन्छ । उक्त व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको नाफा बढ्नेछ । राष्ट्र बैंकले शेयर बजारको लागि दीर्घकालिन नीति लिएको छ ।

सुवास चन्द्र ढुङगाना

मौद्रिक नीति शेयर बजारका लागि सकारात्मक आएको छ । मौद्रिक नीतिले लिएका नीतिहरुले शेयर बजारका लागि सकारात्मक प्रभाव पार्ने देखिन्छ । मौद्रिक नीतिले दिएका व्यवस्थाले तत्काल अहिलेको उत्साहलाई निरन्तरता नदिएता पनि बजारमा दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतीको शेयर धितोमा प्रवाह हुने कर्जाको सीमा खारेज हुँदा संस्थागत लगानी भित्रने बाटो खुल्ला भएको छ ।

राधा पोखरेल

राष्ट्र बैंकले यस वर्ष ल्याएको नीति तीन वर्ष यताकै सकारात्मक हो । मौद्रिक नीतिले समावेश गरेका नीतिले मात्रै बजारमा असर गरेको होइन । अन्य नीतिहरुको प्रभाव पनि बजारमा परेको छ । शेयर जोखिम भार घटाउनु पर्ने थियो, घटेन । नेपाली बजारमा धेरै व्यक्तिगत लगानीकर्ता छन् । त्यस्ता लगानीकर्ताहरुको लागि पनि सीमा हटाउन पर्ने थियो । यद्यपि विगतमा भन्दा सकारात्मक छ । यो नीतिले बजारको लागि तत्काल प्रतिकृया नगरेपनि दीर्घकालिन रुपमा सकारात्मक हुने देखिन्छ ।

तारा प्रसाद फुल्लेल

मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा सीमा हटाएको छ । नीतिगत दर घटाएको छ । हालको नीतिगत दर ५.५ प्रतिशतलाई ५ मा झारिएको छ । त्यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंक दर ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

साथै लघुवित्त कम्पनीहरूलाई राहतका कार्यक्रमहरू आएका छन । यसले दोस्रो बजारको लागि सकारात्मक प्रभाव पार्नेछ । विधमान व्यवस्थाले समग्र अर्थतन्त्रलाई चलायमान गराउने छ । यधपि शेयर बजारका लगानीकर्ताको धेरै मागहरू सम्बोधन भएनन । नीतिले आगामी समीक्षाहरूमा खुकुलो पार्नेमा आशावादी रहेका छौं ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।