सातामा साढे ३ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Sep 28, 2024 06:41 AM Merolagani



यस साता नेप्से परिसूचक साढे ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २५७६.७६ विन्दुमा बन्द भएको नेप्से, यस साता ९० अंक घटेर २४९६.७६ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो। यस साताको आइतबार र बुधबार नेप्से परिसूचक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस साता फ्लोट इण्डेक्स ३.२७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९२ प्रतिशत घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २२ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३३ प्रतिशत अर्थात २ अर्ब ५७ करोड रुपैयाँ घटेको हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २७.२६ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २५.८४ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४० खर्ब ९७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ४३ अर्ब रुपैयाँ घटेर ३९ खर्ब ५४ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.५८ प्रतिशत घटेको छ। गत साता ३०२४.९० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५९.६६ अंक घटेर २७६५.२४ विन्दुमा झरेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसुचक सबैभन्दा कम १.३३ प्रतिशत घटेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३५८.४१ अंक घटेको छ। गत साता १२९५०.६२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता घटेर १२५९२.२१ विन्दुमा झरेको छ।

यस साता दुई कम्पनीको ७६ लाख ३६ हजार ४७० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता नागरिक लगानी कोष र ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

कारोबारमा आएको अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २४.६२ प्रतिशत बढेको छ। त्यस्तै, यस साता लक्ष्मी सनराइज बैंकको संस्थापक शेयरको मूल्य २१ प्रतिशत बढेको छ भने रु रु जलविद्युत परियोजना र विन नेपाल लघुवित्तको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढेको छ। यस साता दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक १३.६३ प्रतिशत घटेको छ। त्यसैगरी, रावा इनर्जी डेभलपमेन्ट, समृद्धि फाइनान्स र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सर्वोत्तम सिमेन्ट, चन्द्रागिरी हिल्स, कालिका लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।