प्राइस चार्ट कति प्रकारका छन्?
लाइन चार्ट, पोइन्ट एण्ड फिगर चार्ट, क्यान्डलस्टिक चार्ट, बार चार्ट, हाइकन आशी चार्ट, रेन्को चार्ट र कागी चार्ट गरी ८ प्रकारका प्राइस चार्टहरु छन्।
१) लाइन चार्ट
लाइन चार्टमा एक लाइन हुन्छ जसले कुनै निश्चित अवधिको क्लोजिङ्ग प्राइसहरु जोडेको हुन्छ। यस चार्टमा भएको हरेक विन्दुले धितोपत्रको क्लोजिङ्ग प्राइसलाई जनाउँछ। लाइन चार्टले समग्र ट्रेण्डको स्पष्ट चित्र देखाउँछ। तर यसमा अन्य चार्टहरुमा जस्तै ओपन प्राइस, हाइ प्राइस र लो प्राइस हुँदैन।
२) बार चार्ट
एक ठाडो बारको प्रयोग गरी यस चार्टले मूल्य उतारचढाव देखाउँछ। हरेक बारले एक निश्चित अवधिको प्रतिनिधित्व गर्दछ जसमा ओपन, हाइ, लो र क्लोज गरी ४ मूल्य विन्दुहरु समावेश हुन्छन्। बारको बायाँ साइडमा रहेको एक तेर्सो रेखाले ओपनिङ्ग प्राइसलाई जनाउँछ भने दायाँ साइडमा भएको भएको तेस्रो रेखाले क्लोजिङ्ग प्राइसलाई जनाउँछ। त्यस्तै, बारको माथिल्लो तथा तल्लो भागले हाइ र लो प्राइसलाई जनाउँछ। बार चार्टले लाइन चार्टभन्दा बढी जानकारी दिन्छ र यो मूल्यको अस्थिरता तथा सो अवधिमा भएको मूल्य उतारचढाव विश्लेषण गर्न उपयोगी छ।
३) क्यान्डलस्टिक चार्ट
क्यान्डलस्टिक चार्टमा मूल्य उतारचढावलाई दर्शाउन मैनबत्ती आकारको प्रतिक प्रयोग गरिन्छ। बार चार्टमा जस्तै हरेक क्यान्डलस्टिकमा पनि एक निश्चित अवधिको ओपन, हाइ, लो र क्लोज गरी चार मूल्य विन्दुहरु हुन्छन्। ओपनिङ्ग प्राइसको तुलनामा क्लोजिङ्ग प्राइस तल छ कि माथि भन्ने आधारमा क्यान्डलस्टिकको शरिर (ओपन र क्लोज प्राइसबिचको क्षेत्र) भरिएको वा खाली हुन्छ। क्यान्डलस्टिकको रंग (बुलिश क्यान्डलका लागि प्रायः हरियो र बियरिशको लागि रातो) चार्टिङ्ग सफ्टवेयर अथवा व्यक्तिगत रुचिका अनुसार फरक हुन सक्छ। क्यान्डलस्टिक चार्टले प्याटर्न र फर्मेशन जस्ता थप दृश्य संकेतहरु प्रदान गर्दछ जसले विश्लेषकहरुलाई सम्भावित ट्रेण्ड रिभर्सल अथवा प्याटर्नको निरन्तरता पहिचान गर्न सहयोग गर्दछ।
४) पोइन्ट एण्ड फिगर चार्टः
पोइन्ट एण्ड फिगर चार्टको निर्माण एक्स र ओ का कोलमहरु प्रयोग गरि गरिन्छ। जसले नितान्त मूल्य उतारचढावमा केन्द्रित रहि, सानातिना उतारचढावलाई फिल्टर गर्दै क्रमशः बढ्दो र घट्दो मूल्यहरुको प्रतिनिधित्व गर्दछ।
५) एरिया चार्ट
क्लोजिङ्ग प्राइसहरु जोडिएको रेखा मुनिको क्षेत्रको अध्ययन गरी विश्लेषण गर्ने चार्ट नै एरिया चार्ट हो जसले एक अवधिको मूल्य उतारचढावको दृश्य दिन्छ।
६) हाइकन आशी चार्ट
यो चार्ट एक प्रकारको क्यान्डलस्टिक चार्ट जस्तै हो जसमा बजारका अनावश्यक कुराहरुलाई हटाइ ट्रेण्डमा केन्द्रित रहन अलि फरक प्रकारका क्यान्डलस्टिकहरु प्रयोग गरिन्छ।
७) रेन्को चार्ट
रेन्को चार्टमा ब्रिक्स (बक्स) प्रयोग गरिएको हुन्छ जुन एक अर्कामाथि ४५ डिग्रीको कोणमा राखिएको हुन्छ। सो ब्रिकको आकार मूल्य उतारचढावले निर्धारण हुन्छ। यो चार्ट समयावधिलाई नजरअन्दाज गरी नितान्त मूल्य परिवर्तनमा केन्द्रित रहन्छ।
८) कागी चार्ट
जापानमा विकसित यस कागी चार्टले मूल्यलाई जोड्न ठाडो रेखाहरुको प्रयोग गर्दछ जसले सानातिना उतारचढावलाई नजरअन्दाज गर्दै मूल्यको दिशामा केन्द्रित रहन्छ।