आइतबार नेप्से परिसूचक ९.९९ अंक घटेर २७३८.०६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२५ प्रतिशत घटको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ८२ हजार ६०२ पटकको कारोबारमा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जानकी फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन एक्सेल डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टको करिब २९ करोडको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम २८ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.०७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३० प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।